कोशी


प्रदेश सभा सांसद भन्छन् : सरकारले जनतासँग सिङ्ग जुधायो

प्रदेश सभा सांसद भन्छन् : सरकारले जनतासँग सिङ्ग जुधायो

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार २१:३०, विराटनगर

कोसी प्रदेश सभाका सांसद गम्बु शेर्पाले पाथीभरा मुक्कुमलुङ क्षेत्रमा सरकारले जनतासँग सिङ्ग जुधाउने काम गरेको बताए। 

कोसी प्रदेश सभाको शून्य समयमा बोल्दै शेर्पाले मुक्कुम्लुङ पाथीभरामा झडप भएको बारेमा गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपालको संविधानको धारा ३२ को उपधारा ३ ले आफ्नो भाषा संस्कृति र लिपी संरक्षणको हक सुनिश्चित गरेको भए पनि राज्यले  नागरिकको मागलाई नसुनेर सिङ जुधाउन गएको बताए।

उनले पाथीभरा क्षेत्रको केबलकार निर्माणको काम रोकेर वार्ताको माध्यमबाट निकास निकाल्न आग्रह गरे। 

प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बुले केन्द्रीय सरकारले जनता जनताको बिचमा लडाउने काम गरेको आरोप लगाइन्। 

उनले जबरजस्ती पवित्र भूमि मुक्कुमलुङमा सरकारले जबरजस्ती सशस्त्र प्रहरी बल राखेर  निर्माणको काम अघि बढाएको बताइन्। उनले मुक्कुमलुङ  क्षेत्र अहिले युद्ध भूमिमा परिणत भएको भन्दै दुवै तर्फ घाइते भएको जानकारी गराइन्।

जनता नचिन्ने गाउँ
भोजपुरका सांसद विनोद राईले साल्पासिलिछो गाउँपालिका अहिले राज्यको सेवा सुविधाबाट टाढा रहेको बताए। भोजपुर जिल्ला सदरमुकामबाट २२ कोस टाढा रहेको भोजपुर र सोलुखुम्बुको सिमानामा एक हजार बढी घरधुरी रहेको बताए। यो पालिकामा विद्यालय जाँदा सरकार रहेको समेत थाहा नहुने अवस्था रहेको भन्दै शिक्षामा राज्यको उपस्थिति नै नभएको बताए। 

‘मलाई ८४–८६ वर्षका वृद्धाहरूले मलाई सोधे, राज्य निरीह हो की राज्य निर्दयी हो?’  उनले प्रदेश सभामा भने, ‘राज्यले यो ठाउँलाई किन हेर्दैन,त्यहाँ झोलुङ्गे पुलहरू छैन, विद्यालयमा खानेपानीको व्यवस्था छैन।’  

अहिले पनि बिजुली समेत नपुगेको बताए।

प्रदेश सभा सदस्य प्रदिपकुमार सुनुवारले बिपी मार्गमा  असोजमा गएको बाढीले पुर्‍याएको क्षतिलाई पुन निर्माण गर्न माग गरे। सुनकोसी घुर्मी कोसी कोरिडोर निर्माणको कामलाई पनि तीव्र बनाउन आग्रह गरे।

गाउँमा दिउँसै स्याल आयो
सांसद राधाकृष्ण खनालले आगलागीको विषय उठाउँदै  सरकारले राहत उपलब्ध गराउनु पर्ने बताए। 

सांसद शिला दीक्षित कार्कीले अहिले सहरमा ध्वनि प्रदूषण उच्च विन्दुमा पुगेको भन्दै तोकिएको नियम अनुसार मात्रै  बजाउन पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरिन्। 

सांसद कमला थापा मगरले बिमाको औषधि समयमा नपाउने, किन्न पनि नपाउने भएको कारण समस्या समाधान गर्न आग्रह गरिन्। प्रदेश सभा सदस्य रामदेव यादवले स्यालले दिन दहाडै मानिसलाई आक्रमण गर्न थालेको बताए। 

‘स्यालले अहिले दिउँसै आक्रमण गर्न थालेको छ’, उनले भने, ‘कसरी यो समस्या समाधान गर्ने हो सरकारको ध्यानाकर्षण गराउँदछु।’  

गोपालबहादुर विश्वकर्माले भारतको उडिसाको किट विश्वविद्यालयमा प्रकृति लम्सालको हत्या भएको विषयमा नेपाल सरकारले चासो नदिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad