कोशी


पाथीभरा समस्याको समाधान वार्ताबाट निकाल्न प्रदेश सांसदको माग

पाथीभरा समस्याको समाधान वार्ताबाट निकाल्न प्रदेश सांसदको माग

नेपालखबर
माघ १३, २०८१ आइतबार १५:२५, विराटनगर

ताप्लेजुङ जिल्लाको पाथीभराको समस्या तत्काल समाधान गर्न प्रदेश सभामा सांसदहरूले प्रदेश सरकारसँग माग गरेका छन्। कोसी प्रदेश सभाको शून्य समयमा बोल्दै सांसदहरूले हिजो साँझ ताप्लेजुङमा भएको घटनाको बारेमा सरकारसँग जवाफ माग गर्दै वार्ताबाट  समस्याको समाधान निकाल्न आग्रह गरे।

सङ्खुवासभाका सांसद विदुरकुमार लिङ्थेपले पाथीभरा क्षेत्रमा देखिएको समस्या समाधान गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकार तीनै तह लाग्न आग्रह गरे।  

इलामका प्रदेश सभा सदस्य शमशेर राईले पाथीभरा क्षेत्रमा भएको घटनामा राज्य पक्षबाट दमन भएको भन्दै सरकारको भर्त्सना गरे। उनले घाइतेहरूका लागि निशुल्क र व्यवस्थित उपचार गर्न प्रदेश र सङ्घीय सरकारसँग माग गरे।

‘पाथीभरा क्षेत्रमा भएको घटना पछि तत्काल वार्ता गरेर समाधान गर्न आग्रह गर्दछु’, उनले भने, जिल्ला तहबाट समस्याको समाधान नहुने भन्ने प्रमुख जिल्ला अधिकारीबाट जानकारी आएकोले प्रदेश र सङ्घीय सरकारले नै पहल गर्नुपर्छ।’

पहिचानसँग जोडिएका विषय नामकरण र पाथीभराको विषयलाई लिएर गोली नै हान्नु पर्छ भन्ने सोच सरकारले हटाउनु पर्ने उनले बताए।

विकासको विरोध कसैले गर्ने हैन भन्दै उनले त्यहाँ विकासको स्थानीय भावनालाई बोक्न सक्छ की सक्दैन भन्ने मूल प्रश्न भएको बताए।

राप्रपाकी सांसद सविना बजगाईँले ताप्लेजुङमा प्रहरी दमन भएको भन्दै सरकारको आलोचना गरिन्। जनतामाथि दमन गरिएको बताउँदै घटनालाई तत्काल समाधान गर्नुपर्ने उनको माग छ।

कांग्रेस प्रदेश सभा सदस्य प्रदीपकुमार सुनुवारले पाथीभरा क्षेत्रमा घटेको घटनाको भर्त्सना गरे।

घाइतेहरूको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे। पाथीभरा क्षेत्रको निर्माण कार्यले सांस्कृतिक पहिचानको रूपमा द्वन्द्व सिर्जना गरेको भन्दै केबुलकार निर्माण समूह र स्थानीय बिचको द्वन्द्वलाई वार्ताद्वारा समाधान गरेर मात्र निर्माणको काम थाल्न आग्रह गरे।

पाथीभराको घटनामा प्रदेश सरकारले आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरे।

कांग्रेसकै अर्का सांसद गोविन्द गिरीले ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको द्वन्द्व समाधान गर्न सरकारसँग माग गरे। केबुलकार बनाउने र नबनाउनेको बिचमा भएको द्वन्द्वका कारण त्यो क्षेत्र अशान्त रहेको भन्दै सरकारको स्पष्ट धारणा आउनु पर्ने बताए। अहिले देखिएको समस्याको तत्काल वार्ता र छलफलबाट नै समाधान खोज्न आग्रह गरे।

विशेष समय लिएर बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले साँझ खाना खाने बेलामा प्रहरीले गोली चलाएको दाबी गरे।  

पाथीभरा क्षेत्रमा खाना खान लागेको बेलामा स्थानीय र प्रहरीको बिचमा झडप भएको भन्दै प्रहरीको गोली लागेर दुई जना असाध्यै गम्भीर अवस्थामा रहेको जानकारी गराए।  

‘गोली लागेका घाइते भएकाहरू मध्ये नोबेलमा उपचार नहुने भएको छ’, उनले भने, ‘उनीहरूलाई काठमाडौँ लग्ने काम भएको छ, यस्तो अवस्थामा प्रदेश सरकार के हेरिरहेको छ?’ आन्दोलनकारी तर्फ ४ जनालाई गोली लागेको उनको भनाई छ।

शान्ति सुरक्षाको नाममा निहत्था जनतामाथि गोली चलाइएको र २ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएकोले तत्काल रिहाइ गर्न उनको माग छ।

‘सशस्त्र द्वन्द्वको समाधान वार्ताबाट नै भएको छ’, उनले भने, ‘पाथीभरामा अहिले भइरहेको प्राकृतिक रूपमा नै राख्ने की केबुलकार चलाउने भन्ने विषयलाई वार्ताको विषय बनाइनुपर्छ।’

पाथीभरालाई जस्ताको त्यस्तै राख्ने वा काम गर्न दिने भन्ने विषयमा वार्ताबाट समस्याको समाधान ननिकाल्दासम्म अहिलेलाई निर्माण व्यवसायीले सुरु गरेको काम प्रदेश सरकारले रोक्नु पर्ने उनको धारणा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad