सत्तारुढ दल नेपाली कांग्रेसको कोसी प्रदेश समितिले नेपालकै होचो भूभाग झापाको कचनकवलदेखि विश्वकै अग्लो स्थान सगरमाथाको क्षेत्रसम्म पुग्ने ६ महिने पार्टी जागरण अभियान थालेको छ।
‘कचनकवल-सगरमाथा जागरण अभियान’ उद्घाटन गर्न कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बुधबार (पुस २४ गते) काठमाडौँबाट झापा आए। उद्घाटन कार्यक्रममा महामन्त्री शर्मासँगै थिए- पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि।
झापामा कांग्रेसका यी दुई नेताबीचमा पहिलेदेखि राजनीतिक टक्कर छ। त्यो आन्तरिक शक्ति संघर्षमा जहिले सिटौलाले उछिन्ने गरेका छन्।
त्यस दिन पनि त्यस्तै दृश्य देखियो।
अभियान उद्घाटन कार्यक्रममा सिटौलालाई प्रमुख अतिथि बनाइयो भने महामन्त्री शर्मालाई विशिष्ट अतिथि। दुवैले सँगै परेवा उडाएर अभियान उद्घाटन गरे। त्यो हेर्दा दुई नेताबीच एकता देखिन्थ्यो।
तर नेता सिटौलालाई प्रमुख अतिथि र महामन्त्री शर्मालाई विशिष्ट अतिथि बनाएकामा विश्वप्रकाश समूहका कार्यकर्तालाई मन परेको थिएन।
त्यसैले उनीहरूले तत्काल अभियानको जस अपजस महामन्त्री शर्माले नै लिनुपर्ने भएकाले उनैलाई प्रमुख अतिथि बनाइनुपर्ने आवाज पनि उठाएका थिए। तर सुनुवाइ भएन।
झापामा सिटौला समूहको दबदबा रहेको कारण नै महामन्त्रीलाई ब्याक गरेर पूर्वमहामन्त्रीलाई प्रमुख अतिथि बनाइएको भनी कांग्रेस प्रदेश समितिकै आलोचना भएको छ।
विश्वप्रकाशविरुद्ध यस्ता गतिविधि झापा जिल्ला भेलादेखि नै भइरहेको उनको समूहको ठम्याइ छ।
‘पहिला पनि त्यही ढंगको कार्यक्रम भएको थियो, अहिले पनि त्यस्तै भएको छ, यस्ता गतिविधि पार्टी नेतृत्वबाट हुनु हुँदैन थियो’, कांग्रेसका एक नेताले भने, ‘पूर्वप्रधानमन्त्रीले राज्य चलाउँदैन, बहालवालाले नै चलाउने हो, तर यहाँ पूर्व भइसकेका व्यक्तिबाट संगठन चलाउने प्रपञ्च भयो।’
बहालवाला महामन्त्री विश्वप्रकाश शर्मा भए पनि अभियानको जसअपजस शर्मालाई दिनु हुँदैन भन्नेमा सिटौला समूह लागेको आरोप शर्मा समूहको छ।
‘पार्टी, संगठन कमजोर भएर गयो या बलियो भयो भने त्यसको जवाफ कृष्ण सिटौलाजीले दिने हैन’, कांग्रेसका ती नेताले भने, अहिले जसलाई दायित्व, जिम्मेवारी र अधिकार दिएर पठाएको छ, उसैले नै सबै गर्ने हो, यहाँ उल्टो हुँ दैछ।’
बाहिर-बाहिर मिलेको जस्तो देखिए पनि सिटौला र शर्माबीचको अन्तरसंघर्ष बढ्दै गएको छ। यहाँ सिटौला शक्तिमा रहेको देखाउने प्रयासमा सधैँ हुने गरेको देखिन्छ।
झापामा रहेका ५ वटा निर्वाचनक्षेत्रमध्ये ४ वटामा पार्टी सभापति सिटौला समूहका मानिस छन् भने शर्मानिकट एकजना मात्र छन्।
सिटौला समूहका एकजना क्षेत्रीय सभापति शेखर समूहको कार्यक्रममा गएर त्यो समूहमा आफ्नो उपस्थिति देखाइसकेका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ३ का कांग्रेस सभापति इन्द्र बुढाथोकीले झापामा पार्टीका पछिल्ला गतिविधि चित्तबुझ्दो नभएको बताए।
पार्टीको महामन्त्री संगठनको कमान्डर भएको स्वीकार नगरी प्रदेश समितिबाट गलत अभ्यास स्थापित गर्न खोजिएको उनको आरोप छ।
नेपाली कांग्रेस कोसी प्रदेश समितिको सभापतिमा सिटौला समूहकै उद्धव थापा छन्।
थापा सिंगो पार्टीलाई होइन, गुट मात्र बलियो बनाउने उपक्रममा लागेको आरोप लगाइएको छ।
कांग्रेस कोसी प्रदेश सभापति थापा भने कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ गर्न छलफल गरेर नै प्रमुख अतिथिको टुंगो लगाइएको दाबी गर्छन्।
शर्माको सक्रियता
विश्वप्रकाश शर्मा बेलाबेला झापा आइरहन्छन् र लामो समय नै बस्छन्।
यसअघि पुस २० गते झापा आएका शर्माले २१ गते १०० दिने जागरण अभियान समापन गरेका थिए।
यसपटक पुस २४ गते उनी पार्टीको प्रदेश समितिले थालेको ‘कचनकवल-सगरमाथा जागरण अभियान’ उद्घाटनमा सहभागी भए भने २५ गते बुद्धशान्ति गाउँपालिकामा बनेको कोसी प्रदेशकै सबैभन्दा लामो झोलुंगे पुल उद्घाटन गर्न पुगे।
पुस २६ गते काँकडभिट्टा खानेपानीको उद्घाटन गरेका शर्माले सिद्धि हाइड्रो पावरको निरीक्षण पनि गरे।
यस्तै उनी शनिबार पनि पार्टीको विद्यार्थी संगठन नेविसंघका विद्यार्थीहरूसहित निर्वाचन क्षेत्रमै केन्द्रित भइरहेका थिए।
आज आइतबार भने उनी विराटनगरस्थित गुरु घिमिरेको घरमा छन्। शर्मा माघ १ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ।
Shares

प्रतिक्रिया