पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्न माग गर्दै कोशी प्रदेशका सभामुखलाई ज्ञापन पत्र बुझाइएको छ।
कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आएका आन्दोलनरत पहिचानवादी पक्षले आज प्रदेश सभामुख बाबुराम गौतमलाई ज्ञापन पत्र बुझाएका हुन्।
प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै संयुक्त रुपमा आन्दोलन गर्दै आएका ५ वटा जातीय संस्थासहितले प्रदेशको पुनः नामकरण गर्ने समय सीमा दिएर अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएका हुन्।
कोशी प्रदेशको नामकरणको विरोधमा आन्दोलन गर्दै आएका जातीय संस्थाहरु किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च लगायतले संयुत रुपमा पत्र बुझाए।
पहिचान सहितको पुन: नामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिमले सो अल्टिमेटम पत्र सभामुखलाई बुझाएका हुन्।
आन्दोलनरत पक्षले यसपछि मुख्य मन्त्री हिक्मत कार्कीलाई पनि अल्टिमेटम सहितको चेतावनी पत्र बुझाउने कार्यक्रम रहेको जनाएका छन्। कोशी नाम खारेजीको माग गर्दै आन्दोलनका कारण पछिल्लो समय कोशी प्रदेश अशान्त बन्दै आएको छ।
तत्काल १ नम्बर प्रदेश सभाले गएको फागुन १७ मा प्रदेशको नाम कोशी राखेको थियो। त्यसयता कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आन्दोलनका क्रममा पदम लिम्बूको मृत्यु भएको थियो। उनलाई गएको शुक्रबार संघ सरकारले सहिद घोषणा गरेको छ।
Shares

प्रतिक्रिया