ad ad

कोशी


मोरङमा बढ्यो सम्बन्ध विच्छेद, जिल्ला अदालतमा मुद्दाको चाङ

पुरुषले पनि दिन थाले सम्बन्ध विच्छेदको निवेदन
मोरङमा बढ्यो सम्बन्ध विच्छेद, जिल्ला अदालतमा मुद्दाको चाङ

ध्रुव भट्टराई
पुस ७, २०७९ बिहिबार ९:३२, विराटनगर

मोरङ पथरी शनिश्चरेका कृष्णबहादुर सिटौलाले विराटनगरकी गीता चौधरीसँग २०६९ सालमा अन्तरजातीय विवाह गरे। तर उनीहरूको दाम्पत्य जीवन १० वर्ष पनि टिक्न सकेन। दुई सन्तानका अभिभावक उनीहरूबीच विवाह भएको ६ वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो।

कृष्णले गीतालाई घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शंका गर्ने, छोराहरूलाई स्याहार नगरेको आरोप लगाउने गरे। 

यस्ता आरोपले गीतालाई असह्य भएपछि घर झगडा सुरु भयो। मानसिक तनाव सहन नसकेपछि गीताले २ वर्षअघि चैत १० गते जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराइन्। त्यसपछि  घरमा थप कलह बढेपछि  गीता विराटनगरस्थित माइती घरमा बस्न थालिन्।

कृष्ण र गीताको पती–पत्नीको सम्बन्ध विच्छेदको मुद्दामा गएको चैत १० गते अलग हुने सहमतिमा मिलापत्र भयो। पतिबाट गीताले अंशसमेत नलिई हाल सम्बन्ध विच्छेद गरेर माइतमा बसिरहेकी छन्। 

मोरङका रमेश अधिकारी र उदयपुर बेलकाकी सिर्जना कार्कीबीच पाँच वर्षअघि मागी विवाह भएको थियो। विवाह गरेको ८ महिनापछि रमेश वैदेशिक रोजगारीका लागि कतार गए। श्रीमान् विदेश गएपछि सिर्जना पनि अध्ययनको सिलसिलामा सुनसरीको इटहरीमा कोठा भाडामा लिएर एक्लै बस्न थालिन्।

रमेश विदेशमा हुँदासम्म उनीहरूबीचको सम्बन्ध ठीकठाकै थियो। तर जब रमेश ३ वर्षपछि घर फर्किए, तब दुई जनाबीच झगडा सुरु भयो। 

रमेशले विदेशमा बसेको समयको हरहिसाब खोज्दै सिर्जनालाई दिनहुँ कुटपिट गर्न थाले। श्रीमान्‌को अत्याचार सहन नसकी सिर्जनाले अलगै बस्ने निर्णय गरिन् र यसका लागि २०७८ जेठमा जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालिन्। त्यसको ८ महिनापछि रमेश र सिर्जनाको सम्बन्ध विच्छेद भएको छ। सन्तान नभएका कारण सिर्जना हाल माइतीको शरणमा छिन्।

माथिका घटना सम्बन्ध विच्छेदका प्रतिनिधिमूलक घटना मात्र हुन्।

पछिल्लो समय मोरङमा सम्बन्ध विच्छेद गर्ने क्रम निकै बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म जिल्ला अदालतमा दर्ता भएका कूल २ हजार १ सय ८९ मुद्दामा ६ सय १० वटा त सम्बन्ध विच्छेदका मात्र छन्। त्यसमा ३ सय ३२ जोडीको मुद्दा फर्छ्योट भएको छ।

चालु आर्थिक वर्षमा ८ हजार ६ सय ४१ वटा मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए। ‘यो संख्याया अहिलेसम्मकै धेरै हो’, उनले भने, ‘दर्ता भएकामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा छन्।’ अर्थात् जिल्ला अदालतमा दर्ता भएकामध्ये २६ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका छन्।

अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणा

चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका सबैभन्दा धेरै १ हजार ७९४ वटा छन्। जसमध्ये १ हजार ३ सय २६ जोडीको मुद्दा फर्छ्योट भएको स्रेस्तेदार  राणाले जानकारी दिए। 

सम्बन्ध विच्छेद मुद्दाका चाङ   
अदालतको अभिलेखअनुसार अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा १ हजार १ सय ७१ र आर्थिक वर्ष ०७६/७७ मा ९ सय ८८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए।

अदालतमा सम्बन्ध विच्छेद गर्न आउनेमा महिलाको संख्या धेरै रहेको र २३ देखि  ३० वर्ष उमेरसम्मका श्रीमान्–श्रीमतीमा यो अवस्था आउने गरेको स्रेस्तेदार राणाले जानकारी दिए।

स्रेस्तेदार राणाका अनुसार सम्बन्ध–विच्छेदका लागि अदालत धाउनेमा सहरिया, सम्पन्न महिला मात्र होइन, ग्रामीण र विपन्न महिलाको संख्या पनि बढिरहेको छ। 

पुरुषका तर्फबाट सम्बन्ध विच्छेदका लागि आउने मुद्दा १० प्रतिशत
२०७५ भदौबाट लागू भएको मुलुकी संहिताले पुरुषलाई पनि सम्बन्ध विच्छेद आवश्यक परे सीधै अदालत जान सक्ने बाटो खोलिदिएपछि सम्बन्ध विच्छेदका लागि अदालत आउने पुरुषको संख्या पनि बढेको छ। 

यसअघि पुरुषले सम्बन्ध विच्छेद चाहेर पनि सीधै अदालत जान पाउने व्यवस्था थिएन। ०७५ भदौअघि पुरुषले सम्बन्ध विच्छेद गर्न परे पहिला स्थानीय तहमा निवेदन दिएर त्यसको एक वर्षपछि मात्र सिफारिस लिएर अदालतमा मुद्दा हाल्न पाउँथे।

तर अहिले मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ९४ ले पुरुष (पति) पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरेको हो। त्यसयता जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि पुरुषका तर्फबाट मुद्दा आउने क्रम पनि बढ्दो रहेको स्रेस्तेदार राणाले बताए। पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने कानुनी व्यवस्था गरिएयता १ सय १३ जनाले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्। उनका अनुसारसम्बन्ध विच्छेदका मुद्दामध्ये करिब १० प्रतिशत पुरुषले हालेका छन्। 

वरिष्ठ अधिवक्ता सुरेश लाला श्रेष्ठ भने पुरुषहरू ससाना कुरामै सम्बन्ध विच्छेदको मुद्दा लिएर जाने भएकाले उनीहरूका मुद्दा किनारा लाग्न समय लाग्ने गरेको बताउँछन्। 

सम्बन्ध विच्छेदको सामाजिक प्रभाव
सम्बन्ध विच्छेदलाई आज पनि पारिवारिक हिसाबले कठिन परिस्थितिका रूपमा चित्रण गरिन्छ। पति–पत्नीले वैवाहिक सम्बन्ध तोडेर अलग हुने निर्णय गर्दा यसको असर उनीहरूका सन्तानमा पर्ने गरेको छ।

बच्चाहरूमा त्यस्तो प्रभाव लामो समयसम्म रहने महिला अधिकारकर्मी  मञ्जिता उपाध्याय बताउँछिन्। तर सम्बन्ध विच्छेदबाट बालबालिकामा पर्ने सकारात्मक पाटो पनि छ। 

‘दैनिक हुने झैझगडाबाट मुक्त हुँदा उनीहरूमा सकारात्मक असर पनि देखिएका हुन्छन्’, उपाध्याय भन्छिन्। तर सम्बन्ध विच्छेदका सकारात्मकभन्दा नकारात्मक असर बढी भेटिने उनको भनाइ छ।

किन बढ्दै छ सम्बन्ध विच्छेद? 
वरिष्ठ अधिवक्ता सुरेशलालका अनुसार मुख्य कारण बसाइँसराइ, गाउँ छाडेर सहरी वातावरणमा रमाउने, देखासिकी गर्ने, राम्रो लगाउने, मीठो खाने र आम्दानीभन्दा खर्च धेरै गर्ने कारण परिवारभित्र कलह सुरु हुन्छ र त्यो फैलिँदै गएर सम्बन्ध विच्छेदमा परिणत हुने उनको ठम्याइ छ।

पारिवारिक बेमेल, आपसी समझदारीको अभाव, वैदेशिक रोजगारीका क्रममा उत्पन्न विवाद, वैदेशिक संस्कृतिको सिको, कम उमेरको प्रेम विवाह आदिले वैवाहिक सम्बन्ध विच्छेदका घटना दिनानुदिन बढ्दै गएको उनी बताउँछन्।

पतिले अर्की विवाह गरेको, पत्नीको अंगभंग हुने तथा मानसिक कष्ट हुने जाल प्रपञ्च गरेको, खान लगाउन नदिई घरबाट निकालिदिएको, अन्य महिलासँग यौन सम्बन्ध राखेको र पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पत्नीले पतिसँग सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ।

यस्तो व्यवस्था मुलुकी देवानी संहिता, २०७४ ले गरेको हुनाले पनि अहिले वैवाहिक सम्बन्ध विच्छेदका घटना बढ्न थालेको उनको तर्क छ।

यस्तो छ कानुनी व्यवस्था
मुलुकी देवानी संहिताको दफा ९३ मा पति–पत्नी दुवैले चाहेमा सम्बन्ध विच्छेद गर्न पाउने कानुनी व्यवस्था छ। साथै दफा ९४ मा पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमका कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ।
त्यस्तै कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी छुट्टै बसेको अवस्थामा बाहेक पत्नीले पतिको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा पुरुषले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ।

सोही संहिताको दफा ९५ मा कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेका अवस्थामा बाहेक पतिले पत्नीको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमका कुनै काम वा जाल प्रपञ्च गरेमा महिलाले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ।

पतिले अर्की विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबर्जजस्ती करणी गरेको ठहरेमा पनि पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी व्यवस्था छ।

दफा ९६ मा मेलमिलापको व्यवस्था पनि छ। सोबमोजिम सम्बन्ध विच्छेदका लागि महिला वा पुरुषको निवेदन परेमा अदालतले दुवै पक्षलाई सकेसम्म सम्झाईबुझाई मेलमिलाप गराउनुपर्ने हुन्छ।

दफा ९७ मा चाहिँ सम्झाउँदा बुझाउँदा पनि पति–पत्नीबिच मेलमिलाप गराउन नसकेपछि मात्रै सम्बन्ध विच्छेद गर्न पाउने कानुनी व्यवस्था छ।
दफा ९७ बमोजिम पति र पत्नीबिच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मन्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराउनुपर्ने व्यवस्था सो संहितामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .