नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभाको निर्वाचनमा उमेद्वार बन्ने तयारीमा छन्। ०७४ सालमा यही क्षेत्रबाट डगा. कोइराला एमालेका लालबाबु पण्डितसँग पराजित भएका थिए।
प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवासँग नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित डा. शेखरले संस्थापन इत्तर पक्षको नेतृत्व गर्दै आएका छन्।
सुशील कोइरालाको निधनपछि पार्टीभित्र डा. शेखर निरन्तर प्रतिपक्षीको भूमिकामा छन्। उनी १३ औँ महाधिवेशनमा सर्वाधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका थिए। त्यसपछि पार्टी सभापतिको तयारीमा लागेका कोइराला सभापतिमा पराजित भए पनि संस्थापन इत्तर समूहको मुख्य नेता बन्न सफल भएका छन्।
प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट कोइराला सर्वसम्मत उमेद्वार हुन सकेनन्। शेखरसँगै यो क्षेत्रबाट केन्द्रीय सदस्य डिला संग्रौला तथा राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीको समेत नाम सिफारिस भएको छ।
तथापि, यो क्षेत्रबाट डा. शेखर नै उमेद्वार बन्ने पक्कापक्की भएको कांग्रेस नेताहरु बताउँछन्।

शेखर भर्सेस लालबाबु !
मोरङ क्षेत्र नम्बर ६ मा यसपटक पनि शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुने सम्भावना छ। तर, यस क्षेत्रबाट एमालेले निजी विद्यालय सञ्चालन टीकाराम पुरीको नाम समेत सिफारिस गरेको छ। पुरी प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन्।
पुरी भर्खर मात्रै एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेकाले पनि शेखरको बलियो प्रतिस्पर्धीका रुपमा लालबाबुलाई नै हेरिएको छ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका लालबाबुसँग ६७५ मतको साँघुरो अन्तरले शेखर पराजित भएका थिए। सो निर्वाचनमा लालबाबुले ३३ हजार ९४१ मत ल्याए भने डा. शेखरले ३३ हजार २६६ मत ल्याएका थिए। त्यसबेला एमाले र माओवादीबीच गठबन्धन भएको थियो। तर, अहिले यहाँको अवस्था फेरिएको छ।
माओवादी अहिले कांग्रेससँगको गठबन्धनमा छ। यस्तो अवस्थामा शेखरले गत निर्वाचनको पराजयको स्वाद फेर्ने सम्भावना देखिन्छ।
गत स्थानीय निर्वाचनको वडास्तरको मतलाई हेर्दा कांग्रेसले २७ हजार ८६ मत पाएको छ। एमालेले २४ हजार ५५६ र माओवादी केन्द्रले ४ हजार ९९६ मत पाएको छ। यस क्षेत्रका वडाहरुबाट जसपाले ३ हजार ९३९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ हजार ११५ र एकीकृत समाजवादीले २ हजार ३५५ मत पाएको छ।
स्थानीय तहको मत परिणाम र अहिलेको गठबन्धनलाई हेर्दा शेखरको उपस्थिति विगतको भन्दा केही बलियो हुने देखिन्छ। अर्कोतिर, एमाले नेता पण्डितको लोकप्रियता पनि पहिलेको भन्दा केही खस्किएको स्थानीय बताउँछन्। विगतमा माओवादीको समेत साथ पाएर ६७५ मतान्तरले जितेका पण्डितले यसपालि एमालेबाट फुटेर गएको नेकपा एकीकृतको करिब २ हजार मत समेत गुमाउने स्थिति छ।
गुटबन्दीको सकस
माओवादीसँगको गठबन्धन र विगतको गणित हेर्दा डा. शेखरलाई अनुकूल देखिए पनि कांग्रेसभित्रको गुटगत राजनीतिको असर भने आसन्न निर्वाचनमा देखिने पक्का छ।
मोरङको बुढीगंगा गाउँपालिका, सुन्दर हरैंचा नगरपालिकाका वडा नम्बर २ र ७ तथा विराटनगर महानगरपालिकाका ४, ७, ९ र ११ नम्वर वडा यस निर्वाचन क्षेत्रमा पर्छन्।
स्थानीय तहको निर्वाचन सकिएको तीन दिनपछि गत जेठमा संस्थापन पक्षका नेता रमेशजङ रायमाझीले नेपाल खबरसँग भनेका थिए, ‘शेखर कोइरालाका कारण हामीले सुन्दर हरैंचामा मेयर–उपमेयर हार्यौं। यसको परिणाम आउने निर्वाचनमा देखिनेछ।’
रायमाझीले शेखर लाइनका नेता तथा कार्यकर्ताले अन्तरघात गरे पनि शेखरले गरेको ठहरिने दावी गर्दै भनेका थिए, ‘मैले अन्तरघात गर्नु भनेको सभापति देउवाले अन्तरघात गरेजस्तै हो।’
सुन्दर हरैंचा नगरपालिकामा कांग्रेसका तर्फबाट प्रत्यासी बनेका तत्कालीन मेयर शिवप्रसाद ढकाल एमालेका केदार प्रसाद गुराँगाईसँग पराजित भएका थिए। गुरागाईसँग ढकाल ७२७ सात मतले पराजित भएका थिए। स्थानीय तहको निर्वाचनमा ढकालले २ हजार ६७८ मत पाएका थिए भने गुराँगाईले २१ हजार ५०५ मत पाएका थिए।
निर्वाचनमा पराजित भएपछि ढकालले सामाजिक सञ्जाल फेसबुकमा आफ्नै पार्टीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनले वडा अध्यक्षलाई आउने मत आफूलाई नआएको भन्दै कांग्रेसकै अन्तरघातका कारण आफूले निर्वाचन हारेको भन्न भ्याए।
वडा नम्बर २ मा नेपाली कांग्रेसका विवस प्रधान १५७० ल्याएर बिजयी भएका थिए। त्यहाँ एमालेका झरीलाल थारुले १४७० मत पाएका थिए। वडा नम्बर ७ मा स्वतन्त्र उमेद्वार भुवन सिंह मगर बिजयी भएका थिए।
आन्तरिक गुटबन्दीका कारण वडाअध्यक्षको टिकट नपाएका मगर कांग्रेस छाडेर स्वतन्त्र उमेद्वार बनेका थिए। बागी उठेका मगरले १४२६ मत पाए भने नेपाली कांग्रेसका चैतन्य सिटौलाले ६४६ मात्रै मत पाए। एमालेका पोष्ट कुमार श्रेष्ठले १३९८ मत पाए। चैतन्य संस्थापन पक्षका नेता हुन्।
नेपाली कांग्रेसको गाउँ नगर अधिवेशनबाट सुरु भएको गुटको लफडाकै कारण संस्थापन पक्षका चैतन्यलाई वडाअध्यक्षको उम्मेदवार बनाएपछि मेयरमा समेत मत नदिएको र चुनाव हराएको शिव ढकालको आरोप छ। ७ नम्बर वडाबाट ढकाललाई एमालेका मेयरको भन्दा आधा पनि मत झरेन। यसको तुष अहिलेसम्म सुन्दर हरैंचामा कायमै छ, जसले गर्दा आगामी चुनावमा डा. शेखरलाई असर पर्ने देखिन्छ।
निर्वाचन क्षेत्रमै गुटगत राजनीति हावी हुँदा कोइराला परिवारको विरासत जोगाउन शेखरलाई चुनौति देखिएको स्थानीय नेताहरु बताउँछन्। अर्कोतिर उमेद्वार बन्ने आकांक्षा राखेकी डिला संग्रौलालाई व्यवस्थापन गर्नुपर्ने चुनौती कांग्रेसलाई छ। उनको अडानले प्रदेश सभाको उमेद्वार कसलाई बनाउने भन्ने सकस कांग्रेसलाई परेको छ।

प्रतिक्रिया