कर्णाली


दैलेखमा जमिनमुनि रहेको पेट्रोलियम पदार्थ निकाल्न ल्याइयो उपकरण

गाउँमै रोजगारी पाएपछि स्थानीय युवा दंग
दैलेखमा जमिनमुनि रहेको पेट्रोलियम पदार्थ निकाल्न ल्याइयो उपकरण

पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरण लिएर दैलेख पुगेको गाडी।


नेपालखबर
चैत १९, २०८० सोमबार १६:१६, दैलेख

दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान ल्याइएको छ। चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँचवटा साना ट्रक पहिलो चरणमा दैलेख आइपुगेका हुन्। 

पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट कोलकत्ता हुँदै ल्याइएका उपकरण दैलेख पुग्नासाथ चौबिसै घण्टा काम अगाडि बढाइने बताइएको छ। ठूला ट्रकहरूका लागि भने कर्णाली राजमार्गका केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन्। रोकिएका ट्रक पास गर्न सडकको मोड व्यवस्थापन गर्ने कार्य तीव्र पारिएको छ।  

भारतको रुपैडिया नाकाबाट १ सय ५० भन्दा बढी ट्रक दैलेख प्रस्थान गरिसकेको जनाइएको छ। अगाडि आएका सामान अनलोड गर्दै धमाधम जडानको काम सुरु गरिएको छ। सुरक्षा व्यवस्थालगायतका अन्य कामका बारेमा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आयोजनास्थलको अनुगमन गरेका छन्। 

कामले तीव्रता लिएको र तोकिएकै समयमा कामसक्नेगरी सबै सुरक्षा व्यवस्थाका काम सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए। स्थानीयले जग्गा प्रदान गर्ने बेलादेखि नै रोजगारी दिनुपर्ने, समस्या परेका घरहरूलाई थप सहयोग गर्नुपर्नेलगायतका माग सम्बोधनको चरणमा रहेको र पेट्रोलियम पदार्थको प्रशोधन दैलेखमै हुनुपर्ने दैलेखका बासिन्दाको माग रहेको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र थापाले जानकारी दिए। 

आइतबारदेखि नै स्थानीय ११ युवा रोजगारी पाएसँगै काममा लागेका छन्। भैरवी–१ जलजलेका स्थानीय जनक थापासहित ११ जना काममा लागेका हुन्। स्थानीयस्तरमै रोजगारी पाए आफूहरू भारत नजाने थापाले बताए। नेपाल सरकार र चीन सरकारसँग भएको ‘जीटुजी’ सम्झौताअनुसार सुरु गरिएको पेट्रोलियम अन्वेषणको नतिजा सकारात्मक आए नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले बताए। 

अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर जमिन मुनिसम्म ‘ड्रिलिङ’ गरिनेछ। ड्रिलिङपश्चात् पेट्रोलियम पदार्थ र ग्यास भण्डारण कति छ भन्ने पत्ता लाग्नेबित्तिकै अर्को प्रक्रियामा जाने तयारी हुने खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .