कर्णाली


सल्यानमा गाडी दुर्घटना हुँदा १५ यात्रु घाइते

सल्यानमा गाडी दुर्घटना हुँदा १५ यात्रु घाइते

नेपालखबर
साउन ८, २०८२ बिहिबार १७:५५, सुर्खेत

नेपालगञ्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको फोर्स गाडी बिहीबार दिउँसो कुमाख गाउँपालिका–२, बढाई ज्युलामा दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गाडी अनियन्त्रित भई करिब २५ मिटर तल खसेको हो। 

बिहीबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज पठाइएको छ। 

प्रहरीका अनुसार घाइते हुनेमा गाडी चालक सल्यानको कुमाख गाउँपालिका–६ बस्ने अन्दाजी २७– २८ वर्षीय पारस आचार्य रहेका छन्। उनको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर छ। 

‎‎यसैगरी, सोही ठेगानाका ३६ वर्षीय भूपेन्द्र बस्नेत, ६३ वर्षीय टिकाराम आचार्य, सल्यानकै कुमाख गाउँपालिका–१ का १६ वर्षीय इन्द्र रावत, वडा नम्बर ४ का ५६ वर्षीय डोले बस्नेत र ३५ वर्षीया निर्मला छन्।

उनीहरू अधिकांश शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा बालबालिका पनि गम्भीर घाइते भएका छन्। कुमाख–४ की १० वर्षीया जेनिशा रानाको टाउको र खुट्टामा तथा ७ वर्षीय महेन्द्र बस्नेतको टाउको र दुवै खुट्टामा गम्भीर चोट छ। 

यस्तै, कुमाख गाउँपालिकाकै ६२ वर्षीय कालीमान हमालको टाउकोमा, सुर्खेत भेरीगंगा नगरपालिका–९ की ३१ वर्षीया तुलसा सुनारको टाउको र दुवै खुट्टामा तथा रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ की ८४ वर्षीया चन्दी विष्टको टाउको र दुवै हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। 

गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ। 

‎‎साथै, मध्यम घाइते भएका कुमाख गाउँपालिका–२ की ३२ वर्षीया दिपा बुढाथोकी र उनकी ६ वर्षीया छोरी कोपिला बुढाथोकी, रुकुमपश्चिम चौरजाहारीकी ३१ वर्षीया कुन्ता विष्टको  घाइते छन्। उनीहरूलाई पनि नेपालगन्ज नै पठाइएको छ। 

‎‎सामान्य घाइते भएका सल्यान, कुमाख गाउँपालिका–४ का २३ वर्षीय भुवन लामिछानेको शरीरको विभिन्न भागमा चोट लागेको र उनको उपचार रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा भइरहेको छ । ‎ 

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad