ad ad

कर्णाली


दसैँ यात्राः कर्णाली प्रदेशभर कहाँ, कस्तो छ सडकको अवस्था?

दसैँ यात्राः कर्णाली प्रदेशभर कहाँ, कस्तो छ सडकको अवस्था?

मध्यपहाडी लाेकमार्ग दैलेख खण्ड


दिनेश बुढा
असोज १९, २०८१ शनिबार १३:३७, सुर्खेत

दसैँको चहलपहल सुरु भइसकेको छ। असोज १७ गते घटस्थापनाका दिनदेखि देश-विदेशबाट घर फर्किनेहरूको लर्को लाग्न थालेको छ।

तर खासगरी यही असोज ११ र १२ गतेको लगातार वर्षाले देशभर विभिन्न स्थानमा सडक बिग्रिँदा दसैँका लागि यात्रा गर्नेहरूले सास्ती भोग्नुपरिरहेको छ। 

यसैबीच कर्णाली प्रदेशमा सडकको अवस्था कहाँ, कस्तो छ भन्ने विषयमा यो रिपोर्ट केन्द्रित छ। 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्कबाट दैलेख, कालिकोट, हुम्ला, मुगु, जुम्ला, डोल्पा, जाजरकोट, सल्यान, रुकुमपश्चिम र सुर्खेत जिल्लाका विभिन्न स्थान तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम र तराईका विभिन्न जिल्ला जाने गाडी छुट्छन्।

अब हेरौँ कर्णालीमा कहाँ सडकको अवस्था कस्तो छ?

सुर्खेत-दैलेख, सुर्खेत-दहीखोला सडक

कर्णाली राजमार्गअन्तर्गत बाङ्गेसिमल-दहीखोलाखण्ड १३२ किलोमिटर सडक डिभिजन सुर्खेतले हेर्छ।

साथै सुर्खेत-दैलेख ६८ किलोमिटर, छिन्चु-जाजरकोट छेडाबजार ७० किलोमिटर, सुर्खेत-हर्रे ४० किलोमिटर, माथिल्लो डुंगेश्वर-विनायक-दुल्लु, तल्लो डुंगेश्वर-दुल्लु र तल्लो डुंगेश्वर-सियाकोट सडक पनि डिभिजन सुर्खेतकै क्षेत्राधिकाभित्र पर्छन्। 

सडक डिभिजन सुर्खेतका प्रमुख खुम भण्डारीले दहीखोला-गगनेखोला र खुलालु क्षेत्रमा वर्षात्‌ले सडक बिग्रेर यात्रुले निकै सास्ती भोग्नुपरेको बताए। 

उनका अनुसार दहीखोलामा बाढीले पक्की पुल नै बगाएको छ। 

दहीखोला-नाग्म-जुम्ला, नाग्म-मुगु

मध्यपहाडी लाेकमार्ग दैलेख खण्ड

दैलेखको पश्चिम सिमाना दहीखोलादेखि जुम्ला सदरमुकाम खलंगासम्मको दूरी १०५ किलोमिटर छ। बर्खाका बेला सबैभन्दा धेरै सास्ती दिएका गगने खोला, एस मोड, खुलालु यही सडकभित्र पर्छन्। सडक डिभिजन जुम्लाको क्षेत्राधिकारमा पर्ने यो सडकमा अहिले गाडी चलिरहेका छन्। साँघुरा केही क्षेत्रमा एकतर्फीबाहेक प्रायः ठाउँमा दसैँमा यात्रा गर्न कुनै समस्या नरहेको सडक डिभिजन जुम्लाको दाबी छ। 

कालिकोटको नाग्मबाट जुम्लाको पश्चिम भाग सिँजा उपत्यका हुँदै मुगुको सदरमुकाम गमगढीसम्मको ९३ किलोमिटर सडकमा पनि अहिले यातायात सञ्चालन भइरहेको छ। 

यस्तै मुगुको गमगढीबाटै मुगुको सोरुकोट र गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जाने सडक पनि राम्रै छ। मुगुमकार्मारोङ गाउँपालिका जान गमगढीबाट छायल बजारसम्म जिपमा पुग्न कठिन छैन। कर्णाली करिडोर भएर मुगुकै खत्याड पुग्न सकिन्छ। 

खुलालु-कोल्टी-सलिसल्ला सिमकोट-हिल्सा

कर्णाली राजमार्गमै पर्ने कालिकोटको खुलालुदेखि हुम्लास्थित नेपाल-चीन सिमानासम्मको सडक २६९ किलोमिटर छ। यो सडकमा १२३ किलोमिटर अहिले कर्णाली करिडोर दक्षिण खण्ड (खुलालु-सल्लिसल्ला) सडक योजना कोल्टी बाजुराले हेरिरहेको छ। नेपालगन्जबाट सिधा र सुर्खेतबाट सवारीसाधन बाजुराको पिलिचौरसम्म पुग्छन्।

पिलिचौर खोला बढेकाले साना सवारीसाधन आवागमनमा भने अवरोध छ। तर, खोला तरेपछि साना जिपबाट सल्लीसल्लासम्म पुग्न सकिन्छ। ३३ किलोमिटर सडकमा ग्राभेल राख्नेगरी काम भइरहेको कर्णाली करिडोर दक्षिण खण्ड (खुलालु-सल्लिसल्ला) सडक योजनाका सबइन्जिनियर अन्तराज शाहीले जानकारी दिए।

यस्तै सल्लीसल्ला-सिमकोट हिल्सा १४६ किलोमिटर सडक कर्णाली करिडोर उत्तर खण्ड (हिल्सा-सिमकोट-सल्लिसल्ला) सडक योजना हुम्लाको क्षेत्राधिकारमा पर्छ। यो सडकको सल्लीसल्ला-खार्पुनाथसम्म बोलेरो जिप सञ्चालन भइरहेको सडक योजना हुम्लाका प्रमुख इन्जिनियर बेलबहादुर नेपाली जानकारी दिए। 

जाजरकोट र डोल्पा सडक

डोल्पा जोड्ने सडककै जाजरकोटको छेडा बजारदेखि बोहोरागाउँसम्म ३७ किलोमिटर, सल्यानको थारमारे-चौरजहारी-खलंगा-पाँचकटिया जाजरकोट ३० किलोमिटर, पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपश्चिम र रुकुमपूर्वको सिमानादेखि चौरजहारीसम्म ६० किलोमिटर र सल्लीबजार-नेटा चौरजहारीसम्म झण्डै ४० किलोमिटरमध्ये ७ किलोमिटर सडक डिभिजन चौरजहारी रुकुम पश्चिमले हेर्छ। 

यीमध्ये थारमारे-चौरजहारी-खलंगा-पाँचकटिया जाजरकोट र सल्लीबजार-नेटा चौरजहारी सडक निर्माणकै क्रममा छन्। यी सडकमा पनि हाल सवारीसाधन निर्वाध चलिरहेका छन्। 

यता डोल्पा सदरमुकाम दुनै जोड्ने जाजरकोटको बोहोरा गाउँबाट ११७ किलोमिटर सडक भेरी करिडोर (जाजरकोट-दुनै-मरिम-तिन्जे धो) सडक योजना डोल्पाको क्षेत्राधिकारमा पर्छ। 

जाजकोटको बोहोरा गाउँदेखि डोल्पाको तल्लुबगरसम्म ५६ किलोमिटर सडकमा सहज रूपमा सवारीसाधन आवतजावत भइरहेको योजना कार्यालय डोल्पाका सिनियर डिभिजनल इन्जिनियर सुनिल रञ्जितकारले जानकारी दिए। 

तल्लुबगरदेखि दुनैसम्म पुग्न साना खोलाका कारण अवरोध हुने गरे पनि ठूलो वर्षात् नभए काठमाडौँ, नेपालगन्ज र सुर्खेतबाट सिधै बस दुनै पुग्ने गरेका छन्।

तुलसीपुर-मुसीकोट र तुलसीपुर-बोटेचौर सडक

राप्ती राजमार्गको १२३ किलोमिटर सडक दाङको अमिलियाबाट सुरु भएर रुकुमपश्चिमको खोलापाससम्म पुग्छ। खोलापासदेखि सदरमुकाम मुसीकोटसम्म ३१ किलोमिटर सडक डिभिजन चौरजहारी रुकुम पश्चिमले हेर्छ। सल्यान, रुकुमपश्चिम र रुकुमपूर्व जाने यात्रु यही सडक भएर घर फर्किरहेका छन्। वर्षात्‌ले सडक भत्काएको क्षेत्रमा सडक डिभिजन दाङ, घोराहीले पहिरो पन्छाएर सडक चौडा पार्न तथा खाल्डाखुल्डी पुर्न २ करोडको ठेक्का लगाएर काम गरिरहेको डिभिजनका इन्जिनियर दीपेन्द्रकुमार साहले जानकारी दिए। 

घोराही मातहतकै तुलसीपुर-कालिमाटी-काल्चे-बोटेचौर ८८ किलोमिटर सडक निर्माणकै चरणमा रहेकाले साँघुरा ठाउँमा सडक चौडा गर्ने काम सकिएकाले सवारीसाधन आवतजावतमा कुनै समस्या नभएको इन्जिनियर शाहको भनाइ छ।

पुष्पलाल र मदन भण्डारी राजमार्ग

पाँचथरको चिवा भन्झ्याङबाट सुरु भएर बैतडीको झुलाघाटमा टुंगिने सडक हो- पुष्पलाल मध्यपहाडी राजमार्ग। कर्णालीमा पुग्दा यो सडक रुकुमपश्चिमको गोर्खानी, जाजरकोट हुँदै दैलेख भएर अछाम प्रवेश गर्छ। यो सडक रुकुमपश्चिममा ६०, जाजरकोटमा ८३ र दैलेखमा १२२ किलोमिटर पर्छ। जाजरकोटको मन्ताभीरबाहेक अन्य खण्डका सडकमा सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

यस्तै सुर्खेतको रैकरबाट सुरु हुने मदन भण्डारी राजमार्ग सुर्खेत पश्चिमको चौकुने लगाम हुँदै डोटी प्रवेश गर्छ। भेडाबारी-धुलियाबिट, बड्डीचौर-खम्बगाडे, खम्बगाडे-चतुरे-दुलालथाई-विद्यापुर, विद्यापुर-गुटु-लगाममध्ये धेरै ठाउँमा सडक निर्माणकै क्रममा छ। हाल नियमित सवारीसाधन सञ्चालन भइरहेकाले दसैँमा सहजै ओहोरदोहोर गर्न सकिने छ।

चिसापानी-कुइने-बाबियाचौर सडक सुदूरपश्चिम प्रदेशबाट सुर्खेत पश्चिमको बाबियाचौर हुँदै कर्णाली भित्रिने चिसापानी-कुइने सडकमा पनि गाडी चलिरहेका छन्। यो सडकले कैलालीको मोहन्याल गाउँपालिका, सुर्खेतको पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र अछाम जोड्छ। दैनिक चिसापानीबाट बाबियाचौर हुँदै जंगलाघाट भएर अछामका नागरिक ओहोरदोहोर गरिरहेका छन्।

चिसापानी-कुइने-बाबियाचौरको दूरी करिब २७ किलोमटर छ। १२ किलोमिटर कैलाली क्षेत्रको सडक कच्ची रहेकाले चाडपर्वमा थप दुर्घटनाको जोखिम बढ्ने भन्दै चेकजाँचमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय चिसापानी कैलालीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

ठाउँ-ठाउँमा चेकिङ

कर्णालीका प्रायः राजमार्ग जीर्ण छन्। अन्य समयको तुलनामा चाडबाडमा यात्रुको बढी चाप हुने भएकाले दुर्घटनाको जोखिम छ।

प्रदेशका १० वटै जिल्लाबाट गाउँ फर्किनेको लर्को लागेपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। 

सडक सुरक्षालाई व्यवस्थित बनाउन राजमार्ग र सहायक मार्गमा १० जिल्लाका १६२ वटा स्थानमा नियमित, विशेष र आकस्मिक चेकिङको व्यवस्था मिलाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए।

चेकिङ स्थलमा २९० जना ट्राफिक र १९९ जना प्रहरी खटाइएरको र ८५ ठाउँमा ट्राफिकसहितको चेकिङ गरिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .