कर्णाली


‘कर्णाली साहित्य महोत्सव’ हुँदै

‘कर्णाली साहित्य महोत्सव’ हुँदै

नेपालखबर
बैशाख १०, २०८१ सोमबार १७:४९, सुर्खेत

कर्णालीमा पठन संस्कृतिको संरक्षण गर्नका लागि ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ। कर्णाली प्रदेशमा भाषा, साहित्य र संस्कृतिको संरक्षणसहितको विकास गर्न गर्नका लागि मंगलबार(वैशाख ११) गते महोत्सव हुने भएको हो।

नेपालको पश्चिमी भू–भागको मध्यकालीन इतिहासमा कर्णाली क्षेत्रको भाषा, साहित्य, संस्कृति र पुरातात्विक मौलिक विशेषताहरूको विकास भएको एघारौं शताब्दीदेखि यस भूमिबाट फैलिन थालेको खस सभ्यता र संस्कृति नै हाल विशाल नेपाली राष्ट्रियताको अभिन्न पहिचान बनेकोले कर्णालीको भाषा, साहित्य र संस्कृतिका बिषयमा पठन संस्कृतिको विकास गर्नका लागि महोत्सवको आयोजना गरिएको फ्यचर नेपाल तथा कर्णाली रिडर्स सोसाइटीका संयोजक डा. नवराज केसीले जानकारी दिए।

उनले भने, ‘नेपाली भेषभूषा, रीतिरिवाज, भाषा र परम्पराको सामाजिक, ऐतिहासिक, सांस्कृतिक अध्ययनको निम्ति यो क्षेत्र उर्वर छ। राणाशासनको अन्त्य अघिसम्म गुमनाम रहेको यो क्षेत्रमा त्यसयता विभिन्न कालखण्डमा स्वदेशी तथा विदेशी अध्येताले केही मात्रामा अन्वेषण तथा अनुसन्धान गरेका छन्। यसरी गरिएका अध्ययनहरू पुस्तकका रूपमा छापिए पनि धेरैजसो पुस्तक पाठकको पहुँच छैनन्।’

यस्तै, डाक्टर केसीले योगी नरहरिनाथले कर्णाली प्रदेशको विगत बुझाउने कृतिहरू अचेल बिरलै भेटिने गरेको, त्यसबाहेक, कर्णालीका लेखकका साहित्यिक रचना कृतिहरु र कर्णालीमाथि लेखिएका पुस्तकहरुबारे कर्णालीमै चर्चा हुने अवसर नपाएकोले महोत्सवमा कर्णालीका विषयमा लेखिएका पुस्तक प्रदर्शनीमा राखिने बताए।

उनले भने, ‘त्यस कारण नेपाली भाषा, साहित्यको तिर्थस्थल कर्णालीमा लेखन तथा पठन संस्कृतिको विकास हुनु अपरिहार्य छ। कर्णालीमा लेख्ने, पढ्ने संस्कृतिको विकास गर्नको लागि ‘फ्युचर नेपाल’ ले ‘कर्णाली रिडर्स सोसाइटी’ मार्फत यस क्षेत्रमा पठन संस्कृतिको प्रवद्र्धन गर्न एउटा अभियानको प्रारम्भ गरेको छ’ उनले थपे, ‘यस अभियानले यहाँका प्रचुर सम्भावनाहरुको खोजी गर्ने र अवसर प्रदान गर्ने साझा मञ्चको रुपमा कर्णालीमा बर्षेनी बृहत् ‘कर्णाली साहित्य महोत्सव’ आयोजना गर्ने अवधारण ल्याएको छ।’
 

कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकास गर्ने लक्ष्य राखिएको कारणले साथै कर्णालीका बारेमा बहुआयामिक क्षेत्र र विषयमा लेखन, प्रकाशन, विमर्श र पठन संस्कृतिको विकासको लागि सकारात्मक वातावरण निर्माण गर्ने कर्णाली रिडर्स सोसाइटीका माधवप्रसाद चौलागाइले बताए।

उनले भने, ‘कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकास गर्ने, कर्णालीका बारेमा विभिन्न विधामा लेखिएका पुस्तकहरुको खोजी, संकलन तथा प्रदर्शनी गर्ने र विभिन्न विधामा लेख्ने कर्णालीका सर्जक र लेखकहरूको पहिचान गर्ने तथा उनीहरुका कृतिबारे चर्चा गर्दै पाठकसँग सम्बन्ध विस्तार गर्ने योजना रहेको छ।’

चौलागाईले थपे, ‘कर्णालीबारे लेखिएका ग्रन्थ, पुस्तक, अनुसन्धान प्रतिवेदन, पत्रपत्रिका लगायतका सामग्रीहरुको संकलन तथा प्रदर्शन गर्ने, कर्णालीका बारेमा लेख्ने लेखक, पाठक र प्रकाशकबीच अनुभव आदानप्रदान गर्ने, कर्णालीमा लेख्ने, प्रकाशन गर्ने र पढ्ने परिपाटीलाई प्रेरित गर्दै समग्ररुपले पठन संस्कृतिको विकास गर्ने लक्ष्य राखिएको छ।’

यस्तै, कर्णालीमा किताब र ज्ञान परम्परासँग सम्बन्धित उपयुक्त अन्य कार्य गर्ने, पुस्तकलाई ज्ञानको संग्रह र महोत्सवलाई उत्सवको बिम्ब मानेर कर्णाली साहित्य महोत्सवमा ज्ञानको खोजी र समृद्धिको सम्भावना पहिल्याउन विभिन्न सरकारी, गैरसरकारी, निजी व्यावसायिक, सामाजिक क्षेत्रको सहभागितामा किताबसहित सामाजिक सांस्कृतिक विषयमा छलफल, लेखन, विमर्श, प्रदर्शनी आदि अभिन्न अङ्गको रुपमा समावेश गरिने डा. केसीले बताए।

यस्तै, कर्णाली साहित्य महोत्सवले कर्णालीमा ज्ञान परम्पराको अभिवृद्धिमा सहयोग पुर्याउनुका साथै ज्ञानमा आधारित समाज निर्माणमा सहयोग पुग्ने, कर्णाली प्रदेशभित्र पठन तथा लेखन संस्कृतिको संरक्षण विकास हुनुका साथै सभ्य समाज निर्माणमा योगदान पुग्ने र कर्णाली प्रदेश सरकार तथा यहाँका स्थानीय तहको शैक्षिक योजनामा सहयोग पुग्ने अपेक्षा राखिएको छ।

महोत्सवमा पठन संस्कृतिबारे बहस र विमर्शका सत्रहरु राखिएको आयोजक कर्णाली रिडर्स सोसाइटीले जनाएको छ।

यस्तै, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखकहरुलाई आमन्त्रण गरी पुस्तक चर्चा र पठन परम्पराबारे बहस र विमर्श गर्ने उद्देश्य रहेको महोत्सवमा लेखक, पाठक र प्रकाशकलाई एकै स्थानमा भेटघाट तथा कुराकानी गर्ने अवसर सिर्जना गरिने र यसमार्फत लेखकले प्रकाशक र पाठक भेट्न पाउने तथा प्रकाशकले लेखक पाउने अनि पाठकले आफ्ना प्रिय लेखकसँग साक्षात्कार गर्ने र हस्ताक्षर लिने अवसर पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .