ad ad

अन्तर्वार्ता


हाम्रो स्वास्थ्य प्रणालीले थाम्न नसक्ने हो कि भन्ने डर छ: डा. पौडेल (अन्तर्वार्ता)

हाम्रो स्वास्थ्य प्रणालीले थाम्न नसक्ने हो कि भन्ने डर छ: डा. पौडेल (अन्तर्वार्ता)

यज्ञराज जोशी
बैशाख २, २०७८ बिहिबार १३:११,

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढिरहेको छ। नयाँ प्रजातिका भाइरस देखिएपछि संक्रमण झनै बढ्ने जोखिम स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले औँल्याएको छ।

महाशाखाले देशभर कोरोना संक्रमणको अवस्थाबारे नियमित तथ्यांकीय विश्लेषण, रोग पहिचान, कन्ट्याक्ट ट्रेसिङलगायत काम गरिरहेको छ। संक्रमणको विद्यमान अवस्था र जोखिमबारे महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलसँग नेपालखबरले गरेको कुराकानीः

कोरोना महामारीको अहिलेको अवस्था कस्तो छ?
अहिले दैनिक संक्रमितको संख्या बढ्दो छ। परीक्षणको १० प्रतिशतभन्दा बढीमा संक्रमण देखिन थालेको छ। हामीले गरेको नियमित निगरानीमा नयाँ भेरियन्टहरु पनि देखिएको छ। नयाँ भेरियन्ट बढ्दो क्रममा देखिएको छ। यो चुनौतीपूर्ण कुरा हो।

प्रारम्भिक रिपोर्टमा अस्पतालका आईसीयूमा भएकाहरु पहिलेको भन्दा फरक देखिएका छन्। अहिले आईसीयू–भेन्टिलेटरमा भएकामध्ये आधाजसो मानिसहरु ५० वर्षभन्दा कम उमेरका छन्। ‘यस्तै रहेछ कोरोना’ भनेर जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याइँ गर्न नहुने अवस्था आएको छ।

नियामक निकाय पनि अझै बढी चनाखो र जनस्वास्थ्यको मापदण्ड पालना नगर्नेलाई दण्ड जरिवानाको व्यवस्था गर्नुपर्छ कि जस्तो देखिन्छ। नेपालगञ्जमा बेडको क्षमता भरिएको छ। यही स्थिति रहने हो भने भोलि हाम्रो स्वास्थ्य प्रणालीले थाम्न गाह्रो हुने हो कि भन्ने पनि डर हुनसक्छ। त्यो हिसाबले सचेत, सजग, जिम्मेवार हुनुपर्छ। स्थानीय तहले बाहिरबाट आएकालाई होम क्वारेन्टिन, आइसोलेसन, होल्डिङ सेन्टर, इन्भेस्टिगेसन गर्नमा सहयोग पनि गर्नुपर्छ।

संक्रमणको दोस्रो चरण सुरु भएकै हो?
अहिले संक्रमणको बढ्दो ट्रेन्ड छ। त्यो हिसाबले दोस्रो चरणमा प्रवेश गरेको भनेर पनि बुझ्न सकिन्छ। अथवा हाम्रो संक्रमण उकालो लाग्दो छ। यो दोस्रो चरणको इन्डिकेटर हुनसक्छ। त्यसैअनुरुप हामी सजग हुनुपर्ने आवश्यकता छ।

संक्रमणको पहिलो र दोस्रो लहरमा के भिन्नता छ? असर कस्तो हुन्छ?
पहिलो चरण भन्दा दोस्रो चरणमा धेरैले कोरोनाबारे धेरैथरी कुरा थाहा पाएका छन्। दुई लाख ८० हजार बढीलाई संक्रमण नै भइसकेको छ। दोस्रो चरणमा पहिलेको भन्दा नयाँ भेरियन्टहरु थपिएका छन्। भाइरसले स्वरुप परिवर्तन गरिराख्ने भएकाले यो नेचुरल पनि हो। तर नयाँ भेरियन्टहरु बढी संक्रामक हुने देखिएकाले जोखिम झनै बढेको छ। दास्रो चरणमा हामीसँग एक वर्षको अनुभव थियो। पोहोर यसबेला एउटा केस देखिँदा मुलुक लकडाउनमा गएको थियो। अहिले यत्रो धेरै केस देखिसकियो। तरपनि सबै क्षेत्र खुला छ। त्यसैले जोखिम झनै बढी छ।

कतिपय स्थानमा हामीले चाहेर पनि जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न नसक्ने अवस्था छ। ती ठाउँहरु खोलिराखेका छौँ। खोल्नुपर्ने बाध्यता छ। धेरैले आफ्नो कमाइ जान्छ कि भन्ने हिसाबले लिइरहेका छन्। तर, स्वास्थ्य सबैभन्दा ठूलो धन हो। मान्छे नै बिरामी भयो, अस्पतालमा धेरै खर्च गर्नुपर्‍यो, मृत्यु भयो भने त्यो सम्पत्ति काम लाग्दैन। त्यसैले सबैले एकदमै सचेत हुनुपर्ने अवस्था छ।

डबल म्युटेन्ट र नयाँ भेरियन्टको भाइरस नेपालमा पनि देखियो भनिएको छ, यसको असर कस्तो हुन्छ?
नयाँ भेरियन्टको परीक्षणका लागि हामीले हङकङ पठाएका नमुनाको नतिजा आउँदा ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ देखिएको छ। यो भेरियन्टको भाइरस बढी संक्रामक हुने भएकाले छिटो धेरैमा फैलिने जोखिम हुन्छ। भारतमा तीव्र रुपमा संक्रमण फैलिनुमा डबल म्युटेन्ट जिम्मेवार रहेको कुरा आएको छ। यूके भेरियन्टले चाहिँ कम उमेरका बालबालिका, युवाहरुमा पनि संक्रमण हुने, उनीहरुलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा पुर्‍याउने गरेको छ। विभिन्न अध्ययनहरु हुन अझै बाँकी छन् तर नयाँ भाइरसले छिटो धेरैलाई असर पुर्‍याउन सक्छन् भन्ने पक्का हो।

यिनै भाइरसका कारण युवा तथा बालबालिकामा संक्रमण देखिने क्रम बढेको हो?
टेकुलगायत अस्पतालहरुको आईसीयूमा रहेकाहरुमध्ये आधाजति ५० वर्षमुनिका छन्। विभिन्न विद्यालयका शिक्षक, विधार्थीहरुमा पनि संक्रमण बढ्दो छ। सामान्य अवस्थामा यसअघि जसलाई रोगबाट धेरै जोखिम हुँदैन भन्ने गरिन्थ्यो, यसपटक त्यही युवा उमेर समूहमा बढी संक्रमण देखिएको छ। सोही कारण नयाँ भेरियन्टको संक्रमणको चपेटामा युवा तथा बालबालिका परेको देखिन्छ।

बच्चा र युवामा बढी संक्रमण देखिन थालेपछि भौतिक रुपमा शैक्षिक संस्था पनि बन्द गर्नुपर्ने अवस्था हो?
विद्यालयजस्ता कतिपय स्थानमा हामीले चाहेर पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न सक्दैनौँ। ती स्थानमा स्थानीय निकायले जोखिमको अवस्था हेरेर आवश्यक निर्णय लिनुपर्ने हुन्छ। त्यसमा विद्यालय पनि पर्न सक्छ। कक्षा कोठामा कत्तिको स्पेस छ। कत्तिको जनस्वास्थ्यका मापदण्ड पालना गर्नसकिन्छ। कति हाम्रा विद्यार्थीहरु पालना गर्छन्। यी सबै कुरा विचार गरेर विद्यालय बन्दसम्बन्धी निर्णय गर्नुपर्छ।

संक्रमण देशभित्र धेरै बढिरहेको छ कि बाहिरबाट आइरहेको छ?
दुवैमा संक्रमण देखिएको छ। सबैभन्दा धेरै त देशभित्रै छ। सबैभन्दा बढी काठमाडौँमा छ। अहिलेपनि दैनिक संक्रमणमा आधाजसो उपत्यकाकै हुने गर्छन्। त्यसपछि भारतसँग सीमा जोडिएका अन्य जिल्लामा संक्रमण देखिएको छ। देशभित्रै देखिएको नै छ त्यसमा भारतबाट आउनेहरुबाट थपिने क्रम पनि बढ्दो छ।

दैनिक ११ हजारसम्म संक्रमण पुग्न सक्ने आकलन कसरी गर्नुभयो?
यदि हामी यसरी नै खुला रहने हो र जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्ने हो भने सबैभन्दा खराब अवस्थामा दैनिक संक्रमण त्यहाँसम्म पुग्नसक्छ भन्ने आकलन हो। त्यो अवस्थामा पुग्न नदिन हामी एकदमै सचेत हुन आवश्यक छ। हामी पनि त्यो अवस्था आउन नदिन काम गरिरहेका छौँ।

भारतलगायत अन्य मुलुकबाट आउनेहरु सरासर घर पुगिरहेको अवस्थामा त्यसले त संक्रमण झनै बढाउने भयो नि, होइन?
सबैलाई क्वारेन्टिन गर्न सकिँदैन। हामीले देशमा भएको जनशक्ति, स्रोत, साधनको पनि विचार गर्नुपर्‍यो। विदेशबाट विभिन्न नाका हुँदै दैनि ५ हजार बढी आउनुहुन्छ। त्यतिलाई क्वारेन्टिनमा राख्न सम्भव हुँदैन। यसमा व्यवहारिक हुनुपर्छ। उहाँहरुले घरमै क्वारेन्टिन बस्नुपर्छ। त्यही भएर घर जाँदासम्म मास्क लगाउनुस् भनेर हामीले सीमामै १० वटा मास्क दिने व्यवस्था गरेका छौँ। मास्क मात्रै लगाइदिनुभयो भने धेरै कमलाई संक्रमण सर्ने सम्भावना हुन्छ। जोखिम देशभित्रै पनि छ। भारतसँगको सबै खुला सिमानामा रोकटोक पनि सकिँदैन। मुख्य नाकाहरुमा शंकास्पदलाई क्वारेन्टिन र आइसोलेसनमा राख्न भनेर हामीले प्रदेशलाई अधिकार र बजेट पनि उपलब्ध गराइसकेका छौँ। उहाँहरुले त्यसको व्यवस्थापन गर्नुहुन्छ।

त्यसो भए उपत्यका लगायत देशभर केही समयदेखि बन्द रहेका संस्थागत आइसोलेसनहरुलाई पुनः खुलाउनुपर्ने अवस्था हो?
हो, हामीले खुलाउन भनिसकेका छौँ। स्थानीय निकायहरुले खोल्ने तयारी पनि गर्नुभएको छ। उपत्यकाको हकमा कीर्तिपुरको आइसोलेसन खोलिसक्यौँ। त्यहाँ मान्छे पनि राखिसक्यौँ। अन्यको हकमा उपत्यकाभित्रैका स्थानीय तह र स्वास्थ्य कार्यालयले आवश्यकताअनुसार खोल्ने र व्यवस्थापन गर्ने काम गर्नुहुन्छ। स्वास्थ्य कार्यालय र महानगरलाई पनि हामीले जोखिमयुक्त स्थान पहिचान गरी परीक्षण बढाउँन भनेका छौं।

पुनः आईसीयू–भेन्टिलेटरहरुको अभाव हुने अवस्था देख्नुहुन्छ?
तथ्याङ्कमा हेर्दा अहिलेसम्म त्यस्तो देखिन्न। तर यही क्रम जारी रह्यो भने नहोला भन्न सकिँदैन। त्यो नहोस् भनेर बेलैमा हामी सचेत हुनुपर्ने अवस्था छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .