अन्तर्वार्ता


दुईटा अध्यक्षले चिठ्ठी पठाएर काठमाडौं बोलाएपछि अविश्वास प्रस्तावमा हामी रोकियौं : यामलाल कँडेल (अन्तर्वार्ता)

दुईटा अध्यक्षले चिठ्ठी पठाएर काठमाडौं बोलाएपछि अविश्वास प्रस्तावमा हामी रोकियौं : यामलाल कँडेल (अन्तर्वार्ता)

सागर न्यौपाने
असोज २८, २०७७ बुधबार १२:५१,

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुर्खेतका प्रदेशसभा सांसद यामलाल कँडेल यतिबेला चर्चामा छन्। केन्द्रले हस्तक्षेप गरेपछि प्रस्ताव असफल भएको छ। बिहीबार छलफलका लागि काठमाडौं आउने तयारीमा रहेका कँडेलसँग अविश्वासको प्रस्तावकै सेरोफेरोमा नेपालखबरले गरेको संवादः

आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध अचानक अविश्वासको प्रस्ताव किन ल्याउनु भयो?
मलगायत प्रदेश सांसदहरुले मुख्यमन्त्री र सरकारले गरेका कामहरु सुधार गर्न निकै पहल गर्‍यौं। दलको बैठक, प्रदेशसभा, पार्टीका बैठक र नेताहरुसँगको भेटघाटमा हामीले कार्यशैली सच्याउन अधिकतम प्रयत्न गर्‍यौं। प्रदेशसभाको बैठकको रेकर्डमा माननीयहरुको धारणा हेर्नुभयो भने मन्त्रीबाहेक कोही पनि सरकारको कामप्रति खुसी छैन।

तर, पनि सरकार टिकिराखेको छ। किन त भन्दा यो पार्टीको सरकार हो, यसले केही गरिहाल्छ। अहिलेको अहिले परिवर्तन गर्ने कुरा गरियो भने बेठिक हुन्छ भनेर मलगायतका माननीय सदस्यले दलभित्र, प्रदेशसभाको बैठक, पार्टीका बैठकमा सरकारले गरेका यी यी काम पार्टी, जनतालाई प्रतिकूल भए, यस्तै प्रभाव रहिरह्यो भने पार्टीको छवि जोगाउन सकिँदैन भन्दै आएको लामो समय भयो।

तर, अहिलेसम्म हाम्रो कुरा सुनुवाइ भएन। कुनै प्रभाव नै देखिएन। त्यसैले पार्टीको व्यवस्था अनुसार पद प्रतिष्ठालाई आधार बनाएर होइन, झण्डै तीन वर्षसम्म आफ्नै सरकारले गरेका कामकारबाहीका आधारबाट हामीले अविश्वासको प्रस्ताव ल्याउने सल्लाह गर्‍यौँ। आखिर दलभित्रकै वैधानिक व्यवस्था हो यो। यद्यपि प्रदेशमा हामीले पहिलो प्रयास गरेका हौं। अविश्वास प्रस्तावको नकारात्मक प्रभाव छ नेपाली राजनीतिमा। त्यसबाट पनि जोगिने गरी ३२ जनामध्ये १८ जना माननीय सदस्यहरुले दलभित्र प्रस्ताव दर्ता गर्न सहमत भयौं।

आजसम्मका कामकारबाहीको आधारबाट हाम्रो दलका नेता महेन्द्रबहादुर शाहीले यहाँको परिस्थितिलाई पार लगाउन सक्नुहुन्न भन्नेमा हामी अधिकांश माननीय विश्वस्त भयौँ। अनि एकैपटक सदनको विषय नबनाउने टुंगोमा पुग्यौं, किनभने संसदीय दलको व्यवस्था छ, यो पार्टीको आन्तरिक कुरा हो, त्यहीँ यो विषय उठाऔँ र छलफल गरौँ भनेर अविश्वासको प्रस्ताव ल्याउने ठाउँमा पुगेका हो।

तर, १८ जनामा पनि विभाजन आएर अविश्वासको प्रस्ताव असफल भयो होइन र?
बाहिर मिडियामा चर्चा छ। तर, उहाँहरु कोही कसैले पनि म यसबाट अलग भएँ भनेर अहिलेसम्म भन्नुभएको छैन। तर, हिजो देउवा शैलीको सम्झना गराउनेगरी प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये एउटालाई मुख्यमन्त्रीले सचेतकको नियुक्ति दिनुभएछ। हाम्रो दलको विधानमा के व्यवस्था छ भने दलको नेतामाथि अविश्वासको प्रस्ताव पेस भइसकेपछि उसले दलको अध्यक्षता समेत गर्न पाउँदैन। जब उसले दलको अध्यक्षता समेत गर्न पाउँदैन भने कसैलाई बर्खास्त र कसैलाई नियुक्त गर्न मिल्छ? मिल्दैन नि! तर, उहाँले त्यो बाटो अवलम्बन गर्नुभयो।

उहाँले माननीय सदस्यहरुलाई बोलाएर बैठकमै छलफल गरौं, तपाईंहरुका पनि सुन्छु, मेरा पनि राख्छु, त्यसमा बाध्यता, परिस्थिति, व्यवहारिक, कमिकमजोरीका विषयमा छलफल गर्नुहोला, विश्वासको मत जित्नेगरी प्रस्तुत हुनुहोला भन्ने मेरो विश्वास थियो। तर, उहाँले पजनीको बाटो समाउनुभयो। हायर एन्ड फायरको नीति लिनुभयो। नेकपा त्यस्तो हायर एन्ड फायरवाला पार्टी होइन। यो विधान, मान्यता र सिस्टम अनुसार चल्छ। व्यक्तिको तजबिजअनुसार चल्ने पार्टी नेकपा होइन। तर, उहाँ संवाद र छलफलतिर जानुभएन।

तपाईंले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरु एकैठाउँ छौँ भन्नु भयो। तर, मंगलबार संसदीय दलको बैठक किन बस्न सकेन त?
हिजोको बैठकमा केही साथीहरु नआउनुभएको साँचो हो। तर, बाँकी साथीहरु छलफलमै थियौं। बैठक प्रमुख सचेतक (मुख्यमन्त्रीले बर्खास्त गरेका) ले बोलाउनुभएको हो। अहिले बजारमा हल्ला भएजस्तै माधव नेपालका सबै मानिस थिएनन् भन्ने होइन, उहाँसँग जोडिएका साथीहरु मसँग हुनुहुन्थ्यो।

नेपाल पक्षका कति जना थिए तपाईंहरुसँग?
नेपाल समूहका कसैले मैले छाडेँ भनेका छन्? अर्काले भनिदिएर त भएन। उसको हस्ताक्षरमा प्रस्ताव औपचारिक रुपमा दर्ता छ। अरुले फिर्ता लिएर हुन्छ त? फिर्ता लिएको घोषणा कसैले गरेका छैनन्। माधव नेपाल पक्षका कमरेडहरुले फिर्ता लिएको भनेर अर्काे कसैले भनेर यो अफिसियल प्रक्रियाबाट हट्छ र? हट्दैन। सम्बन्धितले भन्नुपर्‍यो– हिजो म त्यो प्रक्रियामा थिएँ, अब छैन।

त्यसोभए हिजो १ बजे तय भएको बैठक किन रोक्नुभयो त?
हाम्रो छलफल चल्दाचल्दै केही साथीहरु आउनुभएन। केही साथीहरुलाई अन्यत्रै छलफलमा बोलाएको सूचना पायौं। त्यहाँ मन्त्री पद बाँडियो। नेपाल पक्षसँग यति सहमति भयो भनेर बाहिर चर्चा छ। म माधव नेपाललाई यहाँ भएका नेता भन्दा राम्रोसँग चिन्छु, के देउवाशैलीलाई नेपालले समर्थन गर्नुहुन्छ होला त?

तर, माधव नेपालका यहाँका भनिएका साथीहरुले मन्त्री पद बाँडे। ३ जना मन्त्री र एउटा सचेतक दिने भएपछि ब्याक भएको मिडियामा आयो। माथि पार्टीभित्र माधव नेपाल विधि र प्रक्रियाको लागि लड्नुभएको छ, उहाँले यही देउवा शैलीलाई स्वीकार गर्नुभयो? मलाई लाग्दैन। तर, खण्डन पनि आएन।

बैठक बस्ने विषयमा हामी छलफल गर्दागर्दै मेरो नाममा दुईटा अध्यक्षले सही गरेको चिठ्ठी पाएँ। त्यो चिठ्ठी प्रमुख सचेतकले पनि पाउनुभयो उहाँको नाममा।

त्यो चिठ्ठीमा के लेखिएको छ भने कर्णाली प्रदेशसभामा उत्पन्न भएको समस्याबाट हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, त्यहाँको समस्यालाई यथास्थानमा राखेर छलफलका निम्ति भनिएको मितिमा काठमाडौं आउन निर्देशन गरिन्छ। पार्टी केन्द्रले नै हाम्रै समस्याका बारेमा बोलाएपछि हामी रोकियौं।

यहाँ समस्या समाधानको पहल जिम्मेवारी मुख्यमन्त्रीको हो। तर, उहाँले आजका मितिसम्म अविश्वासको प्रस्ताव दर्ता गराइसकेपछि छलफल, संवाद गर्नुको सट्टा पजनीको बाटोमा जानुभयो। हामी अविश्वासको प्रस्ताव दर्ता गर्ने बरु संयमित बनिरहेका छौं। संख्याले बहुमत छौं।

तर, मुख्यमन्त्रीलाई तपाईंहरुले काम गर्नै नदिएको, पूर्वाग्रह राखेको गुनासो छ नि!
दलको बैठकमा वा व्यक्तिगत भेटघाटमा यदि पूर्वाग्रह राख्ने, प्रतिशोध साँध्ने कुरा थियो भने मैले किन सल्लाह सुझाव दिन्थेँ? मैले आफ्ना धारणा दलमा प्रदेशसभामा राखे हुँला तर, कुन काम असहयोग गर्दा उहाँको काम भएन? अहिले आफ्ना अक्षमता ढाक्न, राजनीतिमा देखाउने कुरा हो यो।

उहाँहरुले ३ वटा बजेट ल्याउनुभयो। प्रदेशसभाको नीति तथा कार्यक्रम, बजेट प्रदेशसभामा पेस हुन्छ। ती तीनै बजेट प्रस्तुत गर्दा बजेट प्रस्तोताले माथि रोस्टममा उभिएर सार्वजनिक माफी मागेर विनियोजन विधेयक संशोधन गर्ने प्रचलन कहिँकतै नभएको अवस्थामा संशोधनसहित बजेट पास गरेको दृष्टान्त यहीँ छ। के त्यो पनि मैले असहयोग गरेर बजेट ल्याएको हो र? बरु हामीले त्यस्तो बजेट पास गरिदिएका छौं।

यही वर्षको बजेट ल्याउँदा मुख्यमन्त्रीले सम्हाल्नुभएको भौतिक पूर्वाधार मन्त्रालयको विषयगत छलफलमा विनियोजन विधेयकमा प्रस्तुत भएको भन्दा एक अर्ब २० करोड रुपैयाँ बढी बजेट पर्‍यो। मैले एकछिन प्रतिपक्षसँग सल्लाह गरेँ, कुरा गर्छ कि भनेको ऊ बसेको बस्यै भयो। तर मैले प्रश्न उठाएँ। मैले प्राप्त गरेको पुस्तकमा त एक अर्ब १० करोड बजेट बढेर आएको छ भनेँ। तर, कसैले ध्यान दिएन। मैले आफ्नो पोजिसन प्रकट गर्न गरेको हुँ। १ रुपैयाँ तलमाथि गरेको थाहा भयो भने बजेट प्रस्तुत गर्ने मान्छे के हुन्छ?

मैले सुधारको निम्ति प्रश्न उठाइदिएको हो। तर, उहाँहरु त्यसलाई विरोध ठान्नुहुन्छ। आफ्ना अक्षमतालाई ढाकछोप गर्ने कोसिसकै कारण बिग्रिएको हो।

तपाईंहरु मुख्यमन्त्री नफाली हुँदैन भनेर अविश्वासको प्रस्ताव फिर्ता नलिने अडानमा हो?
अविश्वासको प्रस्तावमा राखिएका विषयका आधारमा समस्याको समाधान गर्नेभन्दा पनि त्यो प्रस्तावमा सामेल भएकाहरुलाई प्रभावित गर्ने प्रयास हुन्थे विगतमा। त्यही भएर हामीले अविश्वासको प्रस्ताव नै गोप्य रुपमा नगरी पत्रकार सम्मेलनमा सबै १८ जना माननीय उपस्थित भएर दर्ता गराउन लागेको जानकारी दिएँ। मलाई के लागिरहेको थियो भने जब अविश्वासको प्रस्ताव दर्ता हुन्छ तलदेखि माथिसम्मका नेताहरु लागेर हस्ताक्षरकर्तालई प्रभावित गर्न लाग्छन्। त्यही भएर मैले पत्रकार सम्मेलन गरेर हस्ताक्षरकर्ता सबै उभिएर दर्ता गराएँ।

नभन्दै त्यस्तै भयो। केहीलाई प्रभावित पारिएको छ। म सबैको जिम्मा लिन्नँ तर, १८ जनामध्ये एकजना म प्रस्तावक हो, मैले जे विषय सारेको छु, त्यो जस्ताको त्यस्तै छ। विषय यता छ तर, छलफल गर्ने ठाउँ बदलिएर काठमाडौं पुग्यो। छलफलमा सहभागी हुने पात्र पनि बदलिए। यहाँ भएको भए माननीय सदस्यहरुको बीचमा छलफल हुन्थ्यो, अब पार्टी अध्यक्षका बीचमा छलफलमा हुन्छ।

छलफलमा तपाईंको अडान चाहिँ के हुन्छ? मुख्यमन्त्री हट्नैपर्छ भन्नुहुन्छ कि हुन्न?
यो कुरा त छलफलमा बसेपछि मात्रै थाहा हुने भयो। विषय यथावत छ, १८ मध्ये १७ कता जान्छन् त्यो तपसिलको कुरा हो, अहिले म सबैको जिम्मा लिएर बोल्दिनँ। मेरो तर्फबाट भन्नुपर्दा अविश्वासको प्रस्ताव राखेपछि मात्रै छलफल चलाएको मान्छे होइन म। म जोसँग छलफल गर्न जाँदैछु, ती पात्रसँग यो विषयमा पहिले पनि छलफल गरिसकेको छु। त्यतिबेला मैले उठाएका विषमा उहाँहरुको असहमति छैन। अब के भन्नुहुन्छ, छलफलपछि मात्र थाहा हुन्छ।

निष्कर्ष कसरी निकाल्ने त?
पद, व्यक्तिको होइन विषयको समाधान हुनुपर्‍यो। राम्रो काम हुनुपर्‍यो। राम्रो परिपाटीको सुरुवात हुनुपर्‍यो। सरकारले गरेको गल्तीको सजाय मुख्यमन्त्रीले मात्रै पाउने भएको भए मेरो कुनै टाउको दुखाइ हुने थिएन। तर, दलीय व्यवस्था भएकोले त्यसको सजाय नेकपाले पाउनेभयो। नेकपा भन्ने ठाउँमा होइन, गर्ने ठाउँमा छ। यदि गर्नेले गरेनन् भने सजाय हामीले पनि पाइन्छ। यो एकवर्षपछि जनताको बीचमा जानुपर्ने हुन्छ। जनप्रतिनिधि भएकाले पार्टीप्रति जिम्मवार हुँदाहुँदै म जनताप्रति पनि जवाफदेही छु।

केन्द्रले मिलेर नै जानुपर्छ भन्ला। त्यसका लागि तपाईं तयार हुनुहुन्छ?
विषयमा मिल्ने कि अनुहारमा मिल्ने? अहिले नेकपामा अनुहारमा मिल्ने प्रवृत्ति बढिरहेको छ, त्यसको पक्षमा म छैन। विषयमा मिल्ने कुरामा मेरो जोड छ। म कहाँ पर्छु यस्तो कुरा उठाउनेले त्यो हिसाब गर्दैनन्। यद्यपि त्यही हिसाब गरेर राजनीतिमा सामेल हुने संख्या अहिले बढेको छ। पद र पात्र सारेर विषयलाई विस्थापित गर्ने हाम्रो प्रचलन छ। विषयमा छलफल भएमा आम जनमत एक ठाउँमा ल्याउन सकिन्छ, विषयलाई पात्रसँग जोड्नुभयो भने विवाद हुन्छ। किनकि सबैले सबैलाई मान्दैनन्। मलाई पनि सबैले मान्दैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad