अन्तर्वार्ता


गगनलाई प्रधानमन्त्रीको उम्मेदवार तोकेकोमा आपत्ति छैन, तर संसदीय दलमा गणितको खेल हुन्छ : शेखर कोइराला (भिडिओ)

‘मैले हेर्दा कांग्रेसको ग्राफ बढ्दै छ, शेरबहादुरजीसँग कुरा गरिराखेको छु– केही त गर्नुहुन्छ’

लोकेन्द्र भट्ट
फागुन १६ , मोरङ

यसपालिको चुनावमा कोइराला परिवारका विरासतधारी एक्लो उम्मेदवार हुन् डा शेखर कोइराला। नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला–पुत्र शशांक र गिरिजाप्रसाद–पुत्री सुजाता चुनावी मैदानमा छैनन्। पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले नवलपुर–१ बाट लगातार चुनाव जितिरहेका शशांक र गत निर्वाचनमा मोरङ २ मा पराजित सुजातालाई टिकट दिएनन्।

मोरङ–२ मा कांग्रेसबाट मिनेन्द्र रिजाल उम्मेदवार छन् भने नवलपुर–१ मा बालकृष्ण घिमिरे। त्यसैले कोइराला परिवारको विरासतको भारी शेखर एक्लैले बोक्नुपरेको छ। जो छैटौँ पटक मोरङ– ६ का मतदाताको घरदैलोमा भोट मागिरहेका छन्। 

०६४ को पहिलो संविधानसभा निर्वाचनमा मोरङ–७ मा तत्कालीन मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदारसँग पराजित भएका कोइरालाले उपनिर्वाचनबाट संसदको यात्रा तय गरेका थिए। सुनसरी–३ बाट पनि जितेका गच्छदारले मोरङ–७ छाडेपछि ०६५ मा भएको उपनिर्वाचन शेखरले जिते। उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा दोहोरिए। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग झिनो मतले पराजित भएका कोइराला ०७९ मा माओवादीसहितको साथमा विजयी भए। यसपटक सबै दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा रहेकाले ७५ वर्षीय कोइरालाको दौडधुप पनि चर्को छ। 

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्नुअघि शेखरले आफूलाई भावी सभापति र प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरिरहेका थिए। तर, चुनावको मुखमा गगन सभापति बनेपछि शेखर रक्षात्मक बनेका छन्। यद्यपि उनले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा मतदातासामु प्रस्तुत गरिरहेकै छन्।

नेपालखबर ‘तत्कालै’को इलेक्सन एक्सप्रेस संवादमा शेखरले चुनाव जितेपछि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने संकेत दिए। पार्टीले अहिले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकोमा आफ्नो कुनै आपत्ति नभएको भन्दै उनले प्रधानमन्त्री बनाउने निर्णय संसदीय दलले गर्ने बताए। 

कोइरालासँग नेपालखबरले गरेको चुनावकेन्द्रित वार्ता– ‘तत्कालै’ :

अब चुनाव हुन करिब एक साता जस्तो छ। चुनावी माहोल केकस्तो देखिएको छ? 
चुनावी चहलपहल त पक्कै छ, राम्रै छ। मतदाताको घरदैलोमा घुम्दै छौँ। वडामा, टोलमा हिँड्दै छौँ, साथीभाइहरूलाई सम्झाउँदै छौँ। भोटरसित अन्तरक्रिया हुँदैछ। 

चुनावको साह्रोगाह्रो के–कस्तो छ?
चुनाव भनेपछि साह्रोगाह्रो भइहाल्छ। तर, ०८४ मा हुनुपर्ने चुनाव ०८२ मा हुँदैछ। त्यो नै गाह्रो कुरा भयो देशको निम्ति। एउटा व्यक्ति या पार्टीको निम्तिभन्दा पनि देशको निम्ति गाह्रो भयो। ०८२ मा किन चुनाव हुन गयो भन्ने कुरा महत्वपूर्ण छ।

जनतालाई बुझाउँदै पनि छौँ। अगाडि बढ्दै पनि छ। जे भए पनि अब चुनावमा होमिनु पर्छ नै, अर्को उपाय त थिएन हामीसित। त्यसकारण हामी चुनावमा आयौँ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राजनीतिको कोर्स बदलियो। अहिले नयाँ भर्सेस पुरानो भन्ने चर्चा छ। मोरङ–६ मा त्यसको हावा कत्तिको चलिराखेको छ? चुनौती कत्तिको छ?
हेर्नुस्, यो नयाँ, पुरानो भन्ने हावा भन्नुहोस्, जे भन्नुहोस्, यो मिडियाले पनि अलिकति गराइरहेको छ। म त मिडियालाई नै दोष दिन्छु। मिडिया र सामाजिक सञ्जालले यो भाष्य बनाएको हो। नयाँ पार्टीको विचार के हो? त्यो हामीले अहिले पनि सुन्न जरुरी छ, हामीले बुझ्न जरुरी छ। 

नयाँ र पुरानोको भाष्यको प्रभाव एकदमै छैन भनेर पनि भन्दिनँ। त्यस्तो एकदम प्रभाव छ भन्ने पनि होइन। किनभने नेपाली कांग्रेसको तागत संगठन नै हो। हाम्रो टोल तहसम्म संगठन छ। मेरो क्षेत्रमा मात्रै होइन, मलाई लाग्छ नेपाली कांग्रेसको हरेक क्षेत्रमा टोलसम्म हामीले संगठन बनाएका छौँ। त्यो संगठन महिला, दलित, आदिवासी, जनजाति, थारु र मधेसी सबै समुदायको हामीले बनाएका छौँ। विद्यार्थीहरूको त भइहाल्यो, युवाहरूको भइहाल्यो। आफ्नो संगठनलाई नै हाम्रो तागत हो भनेर हामी हिँड्नु पर्ने हुन्छ। त्यही अनुसार हिँड्दै छौँ हामी। 

मोरङ ६ मा कस्तो स्थिति देख्नुहुन्छ? जित्ने अवस्थामा हुनुहुन्छ?
अहिलेसम्म त राम्रै देख्छु म आफ्नो। सबै कुरा राम्रै छ। नेपाली कांग्रेसलाई मत हाल्न मतदाताहरू उत्साहित हुनुहुन्छ।

तपाईं कसलाई मुख्य प्रतिस्पर्धी मान्नुहुन्छ?
प्रतिस्पर्धी १८ जना हुनुहुन्छ। कुनै पनि प्रतिस्पर्धीलाई म कमजोर चाहिँ भन्दिनँ। 

विगतको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्थ्यो। अहिले पनि त्यही छ कि बदलियो अवस्था?
म सबै ठाउँमा पुग्या छ, अब ठाउँठाउँको कुरा हुन्छ। अब त्यो धेरै म त्यसमा गइरहेको छैन। को प्रतिस्पर्धी हुन्छ, मेरो सेकेन्ड को हुन्छ भन्ने कुरामा म गइरहेको छैन अहिले। तर, सबै प्रतिस्पर्धीलाई म इक्वल रेस्पेक्ट गर्दै हिँड्छु। 

मोरङ ६ मा घरदैलो गर्दा मतदाताको माग वा अपेक्षा के छ? यहाँबाट तीन पटक सांसद हुनुभयो, उहाँहरूको माग कति पूरा गर्न सक्नुभयो? मतदाताबाट कस्तो प्रश्नको सामना गरिराख्नु भएको छ? 
जनताको माग चाहिँ असीमित हुँदो रहेछ। पहिले सडकमा हिलाम्य हुन्थ्यो। त्यसपछि ग्राभेल भयो, पिच चाहियो, अहिले नाला नभइकन हुँदैन भन्छन्, एजिङ भन्छन्, धेरै कुरा छ। सडकको मात्रै कुरा गरेँ यो। त्यसपछि पुलपुलेसा भयो, मानिसहरूले विकास खोजेका छन्। हरेक निर्वाचनमा त्यो लोकल निर्वाचन होस्, त्यो प्रदेशको निर्वाचन होस् या त्यो केन्द्रको निर्वाचन होस्, जनताले खोजेको विकास हो। हामी राम्ररी बस्न पाऊँ, हाम्रा छोराछोरीले राम्रै स्कुलमा पढ्न पाऊन् र स्वास्थ्य उपचार सुलभ होस् भन्ने कुराहरू खोजेका छन् जनताले। अर्को रोजगारीको कुरा छ। विकास भयो भने त अटोमेटिकली रोजगारीका अवसरहरू सिर्जना भइहाल्छ नि। 

तपाईं लामो समयदेखि चुनाव लड्दै हुनुहुन्छ। पहिले चुनाव लड्दा र अहिले के फरक पाउनुहुन्छ?
पहिले पनि विकासका कुरा गर्नुहुन्थ्यो। अहिले पनि गर्नुहुन्छ। तपाईं हामीसँग मिर्गौलिया पुग्नुभयो, त्यहाँ पनि विकासको कुरा तपाईंले सुन्नुभयो। धेरै ठाउँमा चुनाव जितेपछि तपाईं आइदिनुभएन भन्ने छ। अब सांसदको हैसियतले मैले पुग्नु त पर्ने हो, जहिले पनि सबै ठाउँमा। तर, त्यो अप्ठ्यारो पनि हुँदो रहेछ। अब अरू जिल्ला पनि जानुपर्ने हुन्छ, आफ्नो संसदीय क्षेत्र पनि हेर्नुपर्ने हुन्छ। उहाँहरूको धेरै गुनासो तपाईंले हामीसित भेटघाट गर्दिनुभएन भन्ने मात्रै हो।

मोरङ– ६ मा तपाईंको उम्मेदवारी केका लागि हो? यहाँको मतदाताले मत किन दिने? तपाईं निर्वाचित भएपछि यहाँका जनताहरूले के प्राप्त गर्छन्? 
यो चोटिको निर्वाचन आम निर्वाचनभन्दा फरक छ। एउटा विद्रोहले उथलपुथल भएर यो जन्मिएको हो। अहिलेको अवस्था जेनजीले गर्दा नै भएको हो। जेनजीका मागहरू भ्रष्टाचार निर्मूल गर, सुशासन देऊ, रोजगारीका अवसरहरू सिर्जना गर भन्ने छ, त्यो हाम्रा पनि माग हो, त्यो सबै जनताको माग हो। तर, भदौ २३ र २४ को घटनाले हामी सबैलाई स्तब्ध बनायो। भदौ २३ र २४ का दुई वटै घटनालाई म घृणित रूपमा व्याख्या गर्छु। भदौ २३ गतेको पनि घृणित हो, २४ गतेको पनि घृणित नै हो। 

तपाईंले मलाई किन मत दिने भन्नुभयो। मप्रति जनताको आशा, विश्वास, भरोसा छ। यो मानिसले विकास गरेको छ, पिपुललाई दिएको छ, जति सक्दो उसले गर्न खोजेको छ, गरेको छ भन्ने छ।

दोस्रो, पिपुललाई के छ भने यो मानिसले भ्रष्टाचार कतै पनि गरेको छैन, कुनै दाग नलागेको मानिस हो भनेर पनि भन्छन् मलाई। मैले भनिराख्या छैन, जनताले भनिराख्या छन्। एउटा त विकासको लागि जाने भयो। अब ठुल्ठूला कुरा गर्दा हामी नियम, कानुन, ऐन बनाउन मात्रै गएको भन्छौँ। तर, जनताले के खोज्या छ भन्ने पनि हेर्नु पर्‍यो नि, जनताले मसित के एक्सपेक्ट गर्छ भने विकास गर्दियोस् भन्ने छ।

यही क्षेत्रमै हामीले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सुरु गर्‍यौँ। आठ वर्षदेखि जनताको यो इच्छा आकांक्षा थियो। कोसिस गर्दागर्दै आठ वर्षपछि मेडिकल कलेज त आयो नि। विद्यार्थी भर्ना भइसकेपछि अब पढाइ सुरु हुन्छ। एउटा त्यो पक्ष भयो। विकासका धेरै सम्भावनाहरू छन् यहाँ।

गर्नुपर्ने धेरै छ। गछिया र बुढी खोलामा तटबन्धहरू बनाउनुपर्ने छ। यहाँ सुन्दरहरैचा र विराटनगरको कुरा गर्दा केसलिया नदी र बुढी केसलिया भयो, यता अर्कोतिर सिंघिया खोला नै भयो। यी चार वटा खोलामा हामीले तटबन्ध गरेनौँ भने मेरो क्षेत्र सुरक्षित रहँदैन। समस्या त्यो छ। अर्को कुरा, अहिलेको जुन जेनजी आन्दोलनले हामी दुई वर्ष पहिले नै निर्वाचनमा होमियौँ, त्यो भयावह स्थितिबाट हामी निर्वाचनमा जाँदैछौँ अहिले। संविधानमा हरेक दस वर्षमा संशोधन गर्नुपर्छ भनेर भनिराख्या छ। तर संविधान संशोधन भएन। संशोधन गर्नुपर्ने आवश्यकता देखिराखेछु मैले। निर्वाचन प्रणाली नै एउटा बनिसक्यो। हामीले मेहनत गर्‍यौँ भने पनि कुनै पनि दलको बहुमत आउला जस्तो देख्दिनँ म। निर्वाचन प्रणालीले गर्दा सरकार अस्थिर हुने अवस्था छ। 

त्यो निर्वाचन प्रणालीमा सबै समुदाय र वर्गलाई समेट्ने हिसाबले संविधान संशोधन गर्नु आवश्यक छ। यस्तै, अहिले उपराष्ट्रपतिको रोल के भन्ने प्रश्न छ। उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्षको जिम्मा दियो भने धेरै रकम कटौती हुन्छ। मन्त्रिमण्डलको संख्या हामीले घटाउन सक्छौँ। प्रदेशमा पनि केन्द्रमा पनि, यस्ता कुराहरू छन्। संविधानमा हामीले धेरै कुरा संशोधन गर्नु सक्छौँ। अदालतलाई हामीले सुधार गर्न सक्छौँ। न्यायपालिकामा धेरै परिवर्तन गर्नुपरेको छ। यसअघि हामीले एउटा काम थालेका थियौँ। तर, जेनजीको आन्दोलनले सम्भव भएन, नत्र भइसक्थ्यो।

कुलिङ पिरियड हामीले राखेका थियौँ। कर्मचारीहरू सोझै आज रिटायर भयो, भोलि उनीहरूले संवैधानिक निकाय खोजिराख्या छन्। त्यसले विकृति, विसङ्गतिहरू निम्त्याइराखेको थियो। त्यो कुराको लागि हामीले दुई वर्ष कुलिङ पिरियड राख्ने भनेर गयौँ। तर त्यही बेला जेनजीको आन्दोलन भयो। हामीले सकेनौँ। यस्ता कुराहरूले सुधार गर्छ। संविधान, नियम, ऐन कानुनको लागि र संविधान संशोधनको लागि मेरो उम्मेदवार हो। सबभन्दा महत्वपूर्ण कुरा के छ भने कम्युनिस्टहरूले संसदीय व्यवस्थालाई त्यति स्वीकार गरिरखेको म देख्दिनँ। कम्युनिस्टहरू पार्टीको सर्वोच्चतालाई राख्न खोज्छन् संसदमा। मैले संसदीय व्यवस्थालाई, संसदीय सर्वोच्चतालाई र संवैधानिक सर्वोच्चतालाई अगाडि ल्याउन खोजिराख्या छु। त्यो कुरामा मेरो पहल हुन्छ।

अहिले कुनै पनि पार्टीले निर्वाचनबाट बहुमत प्राप्त गर्ने स्थिति छैन भन्नुभयो। फागुन २१ को निर्वाचनको परिणाम कस्तो आउला? निर्वाचनले देशलाई कुन दिशातिर लैजाला?
फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुन्छ। त्यसपछि कसरी जान्छ भन्ने कुरा हामीले हेर्नुपर्ने हुन्छ। 

चुनावकै मुखमा कांग्रेस आन्तरिक समस्यामा पनि पर्‍यो। विशेष महाधिवेशनबाट कांग्रेस बदलियो र नयाँ ढङ्गले आयो भाष्य निर्माण गरेर कांग्रेस चुनावी मैदानमा छ। त्यो तिक्तता मेटिइसक्यो कि ग्राउन्डमा अहिले बाँकी नै छ? 
अहिले म देख्दिनँ, तपाईंहरूले जसरी सोचिरहनुभएको छ, देखिरहनुभएको छ। होला कुनै साथीमा त हुनु स्वाभाविक हो। तर, समग्रमा म देशभरिका साथीहरू र उम्मेदवारहरूसित अन्तरक्रियामा छु। म त्यस्तो देखिराख्या छैन। तपाईंहरूले भनेको जस्तो त्यो विद्रोह भन्ने छैन। नेपाली कांग्रेस एक ढिक्का भएर गएका छौँ। किनभने हामी धेरै वर्षपछि १६५ सिटमा लडेका छौँ। दुई–तीन वटा चुनाव त हामीले मिलिजुली गरेर लड्यौँ नि त। १६५ सिटमा लडेको भएर पनि त्यो हुनसक्छ, हामी आफ्नै खुट्टामा उभिँदैछौँ भन्ने देखिएको छ।

ग्राउन्डमा मिलिसक्यो भन्नुभयो। तर, निवर्तमान सभापति अहिलेसम्म मौन हुनुहुन्छ। तत्कालीन कार्यवाहक सभापति पार्टीको चुनावी अभियानमै हुनुहुन्न। यी नेताहरूको मौनता तोड्न केही पहल गरिराख्नुभएको छ?
मेरो मध्यमार्गी धार जुन छ, त्यो अहिले पनि एज इट इज छ। मध्यमार्गी धारबाट म कुराहरू गरिराख्या छु सबै साथीहरूसित। दुइटै ग्रूपसित कुराकानी भइरहेको छ। 

निवर्तमान सभापति चुनावी अभियानमा जोडिने सम्भावना छ? 
कुरा भइरहेको छ, मैले गरिराखेको छु। 

के भन्नुभयो तउहाँले? 
हेरौँ भन्नु भएको छ, जानुहुन्छ होला, गर्नुहुन्छ, केही न केही त गर्नुहुन्छ, गर्नुपर्छ पनि। 

चुनावमा पुराना दलहरू रक्षात्मक भएका हुन्?
तपाईं यसो हेर्नुहोस् कि एक महिनापहिले के थियो, अहिले के छ, त्यो हेर्दै जानुहोस् न तपाईं। नेपाली कांग्रेसको ग्राफ बढ्दो छ। नयाँ पार्टीको के हुँदैछ? स्ट्यान्ड स्टिल छ या घट्दो छ, के छ? त्यो तपाईंहरूले भन्ने कुरा हो। मैले हेर्दा त नेपाली कांग्रेसको ग्राफ बढ्दै छ। 

यो पटकको निर्वाचनमा अधिकांश दलहरू प्रधानमन्त्रीको उम्मेदवार तय गरेर मैदानमा आएका छन्। यो अभ्यासलाई कसरी हेर्नुभएको छ? 
म संसदीय व्यवस्थामा विश्वास गर्ने भएकोले पार्लियामेन्टरी पार्टीको लिडर चुन्नु पर्छ। प्रधानमन्त्री सांसदहरूले चुन्ने हो भन्ने कुरा म स्पष्ट छु। 

नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार तय गरेको विषयलाई कसरी लिनुभएको छ?
अहिले गर्‍या छ, अहिले गरेकोमा मेरो कुनै आपत्ति छैन। तर, नेपाली कांग्रेसको संसदीय दल पनि छ। दलको बैठक बस्छ, त्यो दलको बैठकले निर्णय गर्छ। जसलाई चुन्छ, त्यही हुन्छ संसदीय दलको नेता। त्यो त स्वाभाविक हो नि! 

अघिल्लो पटक नै संसदीय दलमा भिड्ने मुडमा हुनुहुन्थ्यो। अन्तिममा पछि हट्नुभयो। अब कांग्रेस संसदीय दलको नेतामा डा शेखर कोइरालाले पनि प्रतिस्पर्धा गर्नुहुन्छ भनेर बुझ्ने हो? 
अहिले चुनाव हुँदैछ, चुनावमा हामी जितौँ पहिले, त्यसपछि गणितको खेल हुन्छ। संसदीय दल भनेको गणितको खेल हो। हेरुम्।

कोसी तपाईंको गृह प्रदेश हो। यहाँको २८ सिटमा कांग्रेसको अवस्था के देखिराख्नुभएको छ?
कोसी प्रदेशमा हामीले पहिलेभन्दा यसपटक तुलनात्मक रूपमा राम्रो गर्छौं कि जस्तो लाग्छ। पहिलेपहिले एमालेको वर्चस्व थियो कोसी प्रदेशमा। यसचोटि नेपाली कांग्रेसको वर्चस्व हुन्छ कि हुँदैन, आजै भन्न सक्दिनँ म। तर हाम्रा साथीहरूले राम्रो गर्दै हुनुहुन्छ, त्यो चाहिँ छ। विगतको भन्दा यहाँ परिणाम राम्रो आउँछ।

भिडिओ :

फोटो/भिडिओ : सरोज नेपाल

फागुन १४, २०८२ बिहिबार २१:३०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad