ad ad

अन्तर्वार्ता


काठमाडौँ १ मा मेरो प्रतिस्पर्धा प्रकाशमानसँगै हो, रवीन्द्रको लोकप्रियता खस्किसक्यो : किरण पौडेल (अन्तर्वार्ता)

स्वतन्त्र भन्नेहरुले राजनीतिक दल खोलेर मतदातालाई झुक्क्याए
काठमाडौँ १ मा मेरो प्रतिस्पर्धा प्रकाशमानसँगै हो, रवीन्द्रको लोकप्रियता खस्किसक्यो : किरण पौडेल (अन्तर्वार्ता)

काठमाडौं १ मा नेकपा एमालेका उम्मेदवार किरण पौडेल। तस्बिर : सरोज बैजु/नेपालखबर


सागर न्यौपाने
कात्तिक ७, २०७९ सोमबार २१:१५, काठमाडौँ

नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार किरण पौडेल चुनावी प्रचारमा व्यस्त छन्। युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका पौडेल एमालेको सांगठनिक मत जोगाएर नयाँ मतदाताको मन जित्न प्रयास गरिरहेको बताउँछन्। यद्यपि, त्यो काम सजिलो छैन। किनभने काठमाडौँ १ मा कांग्रेससहित बलिया स्वतन्त्र उम्मेदवारहरु छन्।

तर, मदन भण्डारी र मनमोहन अधिकारीले जितेको क्षेत्रमा जितेर इतिहास बनाउने उनको दाबी छ। पौडेलसँग नेपालखबरले गरेको चुनावकेन्द्रित वार्ताः

अहिलेसम्मको चुनावी प्रचार कसरी गर्दै हुनुहुन्छ? माहौल कस्तो छ?
यहाँ नयाँ उर्जा, जोश र नयाँ सोच भएको प्रतिनिधि यो क्षेत्रले खोजेको छ। आम जनताको धारणा त्यस्तो छ। विगतका जनप्रतिनिधिले १५ वर्षसम्म यहाँको अभिमत प्राप्त गरिहँदा त्यसबाट कुनै प्रतिफल प्राप्त नभएको अनुभूति यहाँ छ। विकास निर्माण, समृद्धि, सुशासन र राष्ट्रिय मुद्दाका विषयमा, भिजन दिने कुरामा, स्थानीय मुद्दा सम्बोधनको सवालमा संसदमा केही कुरा नउठाई उहाँले १५ वर्ष गुजार्नुभयो। आजसम्म संसद् सचिवालयमा एक शब्द भेटिदैँन त्यस्ता कुरा उठाएको रेकर्ड। १५ वर्ष भनेको मानिसको जीवनको अत्यन्त लामो कालखण्ड हो। यो समय त्यत्तिकै खेर गएको र आफ्नो मतको कदर नभएको कुरा यहाँका मतदाताले महसुस गरिराख्नुभएको छ।

कांग्रेसका शीर्ष नेता प्रकाशमानसिंह पटकपटक मन्त्री र उपप्रधानमन्त्री हुँदा पनि यहाँका मतदाताले के पाए? आफ्नो भावना सशक्त ढंगले सदनमा राख्ने पात्रको खोजी यहाँको मतदाताले गरिरहेका छन्। उसले लगेका एजेन्डाहरु, स्थानीय होस् वा अन्य सदनमा लगेर राख्ने मात्र होइन, त्यो एजेन्डामा अन्य सांसदहरुको समेत समर्थन जुटाउन हैसियत राख्ने व्यक्ति पनि चाहियो भन्ने छ। युवा पुस्ताको पनि खोजी भइरहेको छ। युवाभित्र पनि उमेरले मात्र होइन, विगतको अनुभव, योगदान, क्रियाशीलता लगायत हरेक विषयमा स्थिर रुपमा लाग्न सक्ने युवा, दिगो रुपमा समर्पित भएर लाग्न सक्ने युवा पात्रको खोजी भइरहेको छ।

यी जे जति आकांक्षा र अपेक्षा यहाँका मतदाताबाट प्रकट भइरहेका छन्, यो सबैको सम्बोधन गर्ने एकमात्र उत्कृष्ट पात्र हुने मेरो प्रयास हो। हामी सबैका राम्रा पक्ष र नराम्रा पक्ष होलान्। तर, तुलनात्मक रुपमा हेर्दा अहिले १ नम्बर क्षेत्रमा खडा भएका उम्मेदवारहरुमध्ये यी सबै कुरामा अब्बल र उत्कृष्ट मै छु भन्ने दाबी हो।

भिडिओ

यो क्षेत्रमा काठमाडौं महानगरका १०, ११, २९ र ३१ वडा पर्छन्, स्थानीय चुनावको मत परिणाम हेर्दा यो दाबीमा ठेस पुग्छजस्तो लाग्दैन?  
स्थानीय तहको निर्वाचन मात्र होइन, २०७४ को परिणामलाई नै हामीले विश्लेषण गरेर हेरिराखेका छौँ। पहिलो कुरा त विगतमा प्राप्त भएको मतका आधारमा हामीले आफ्नो दाबी प्रस्तुत गरिरहेका छैनौं। कनिकि त्यतिबेलाको जनभावना के थियो, जनआकांक्षा के थियो, त्यो बेग्लै कुरा थियो। अहिलेका जनभावना, युवाहरुका चासो र सरोकार के हुन्, अहिलेको कुरा हो।

अहिले जनमतको हिसाबले भन्ने हो भने पनि २०७४ मा हामीले प्राप्त गरेको समानुपातिक मत त पार्टीको मत हो। त्यो मतको संख्या हेर्दा झण्डै ८ हजार ५ सय जति हो।

र, पछिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र हाम्रो वडाध्यक्ष हेड टु हेड काउन्ट गर्दा जम्मा ३ सयको मात्र फरक छ। त्यो मत पनि कतिपय ठाउँमा व्यक्तिको पपुलारिटीको मत हुन्छन् भने, कतिपय ठाउँमा पार्टीबाट आउनुपर्ने मत पनि नआएको अवस्था छ। त्यो मतलाई आधार मानेर सबै मतको मापन गर्न सक्तैनौँ। त्यसकारण युवाहरुको अहिलेको चाहना के हो, त्यो मुख्य कुरा हो। त्यसलाई आधार मान्दा पनि कांग्रेसलाई पराजित गर्न सक्ने हामीसँग प्रशस्त आधारहरु छन्।

स्थानीय तहको चुनावमा नयाँ उम्मेदवाप्रति जुन उभार आयो, त्यो ल्याउन एमालेले सकेको छैन नि छ र?
छैन। तर, स्थानीय तहको निर्वाचन र अहिलेको निर्वाचनमा धेरै ग्याप त छैन। परिचालित हुने पंक्ति त्यही हो। पहिलो कुरा हाम्रो पार्टीको स्वीङ नहुने मतको हामीले बेग्लै आकलन गरेका छौँ।

त्यो भनेको सांगठनिक मत? 
सांगठनिक मत हुन्छ एउटा। तर, मेरो र हाम्रो तयारी भनेको हाम्रो यति मत छ, पार्टीको अवस्था यो छ, त्यो होइन, हामी जिरोमा छौँ। केही नलिइकन खाली हात लिएर मात्र मैदानमा हिँडिरहेका छौँ। किनभने आज पार्टीको पंक्तिभन्दा ठूलो त आम मतदाता हो। जिताउने कि हराउने निर्णायक शक्ति आममतदाता भएको हुँदा हामी आफूसँग केही छैन, जे छ आम मतदाताहरुमै छ भन्ने हामी मैदानमा लागिरहेका छौँ। प्रत्येक टोल टोलमा पुगेर त्यहाँको चासो र सरोकारको विषयहरु लिएका छौँ। आफ्ना कुराहरु राखेका छौँ।

एजेन्डा हामीसँग प्रष्ट छ। अरुले दिने ठाउँ छैन। प्रकाशमानजीले अब एजेन्डा दिएपनि त्यो नबिक्ने ठाउँमा पुगिसक्यो। किनकि ३ पटक निर्वाचित भइसक्दा पटकपटक बोलेका कुराहरु कहिल्यै पुगेका छैनन्। त्यसमाथि उहाँले चुनावी एजेन्डा पनि मिति गुज्रेका ल्याउनुहुन्छ भन्ने सबैले बुझेका छन्।

उहाँबाहेक जो हुनुहुन्छ उहाँहरु उम्मेदवारका रुपमा आउनुभएको छ, त्यसलाई स्वागत गर्छौं। तर अहिलेको चुनाव अबको पाँच वर्ष कसको नेतृत्वको सरकार बनाउने हो? अबको प्रधानमन्त्री कसलाई बनाउने हो? अब सदनमा आएर सशक्त आवाज उठाउने, त्यसलाई पास गराउने व्यक्ति छान्ने हो। त्यसकारण यो सबैलाई तुलना जनताको मनमा छ। 

राजनीतिक दलबाहेकका उम्मेदवारतिर मत सोझिने सम्भावनाबारे तपाईंहरु कतिको जानकार हुनुहुन्छ? 
केही मत जान सक्छ। तर, निर्णायक मत जाँदैनन्। म नाम नलिऊँ भन्ने थियो लिनै पर्यो। अघिल्लो चुनावमा रवीन्द्र दाइ (मिश्र) ले राम्रो भोट ल्याउनुभयो। रवीन्द्र दाइ त्यतिबेलाको विवेकशील पार्टीबाट उठ्नुभएको थियो। त्यतिबेला उज्ज्वल थापाजीले वैकल्पिक राजनीतिको लागि एउटा बाटो बनाउनुभएको थियो। रवीन्द्र दाइ त वैकल्पिक शक्तिको नाममा बीचमा प्रवेश गर्नुभएको हो। त्यो बेलामा पार्टी लोकप्रियताको उचाइमा पुगेको थियो। त्यही बेला रवीन्द्र दाइले टिकट लिनुभयो। त्यो सबै योगदान, सिर्जनशीलता सबै उज्जल दाइको हो। 

रवीन्द्र दाइले केही प्रतिज्ञा गरेर आउनुभएको थियो। वैकल्पिक शक्ति निर्माण गर्छु, त्यो अभियानमा अनवरत लाग्छु, कहिले तलमाथि हुँदिनँ, विचलित हुँदिनँ भनेर। हजारौँ युवालाई पछि लगाएको अवस्था थियो त्यसबेला। धेरै व्यक्तिहरुले आशा पनि गर्नुभएको थियो। त्यसकारण उहाँले सम्मानजनक मत प्राप्त गर्नुभयो।

तर, त्यो पछाडिका अवधिलाई हामीले विश्लेषण गर्ने हो भने, त्यो चुनाव हारेपछि रवीन्द्र दाइले पार्टी परिवर्तन गर्नुभयो। पहिलेको पार्टीबाट चुनाव जित्दिनँ जस्तो लागेपछि उहाँ रातारात १ सय ८० डिग्रीमा फन्को मार्नुभयो र २४० वर्ष पुरानो व्यवस्थाको वकालत गर्दै हिँड्नुहुन्छ। पाँच वर्षअगाडि वैकल्पिक राजनीतिबाट पछि नहट्ने दाबी गर्नुभएका उहाँ आज विचलित हुनुभयो। उहाँले हजारौं युवालाई पछि लगाएर अलपत्र पार्नुभएको छ। आज ती युवा कहाँ छन्? राजनीतिमा उत्तारचढाव आरोहअवरोह अनेक आउँछन्। तर, पार्टी नै फेर्दिने त? विचार नै त्यागिदिने? 

उहाँले उर्जावान समय कतै बिताउनु भयो। रिटायर्ड हुने बेला नेपाल आएर वैकल्पिक शक्तिको एउटा अभियान पनि चलाउनुभयो। त्यो पनि ठीक छ, लोकतन्त्रमा सबै चिज जायज हुन्छन्। तर, जुन नारा लिएर उहाँ मैदानमा आउनुभएको थियो, त्यो छाडेर उहाँ बदलिनुभयो। अब विगतको जस्तो उहाँको लोकप्रियता छैन। 

अन्य उम्मेदवार नि?
अरु उम्मेदवारहरु पनि उस्तै हो। रमेश खरेल सुरक्षा क्षेत्रको विज्ञ भएर देशको सुरक्षा नीति कस्तो बनाउने हो भनेर लाग्नुपर्ने व्यक्ति चुनावमा हिँडिरहनुभएको छ। सबै नीतिहरुको मूल नीति त राजनीति हो। आज एउटा व्यक्तिले जीवनभर पाएको दक्षता सोही क्षेत्रमा लगाए पो देशले बढी फाइदा पाउँछ त। जब आफूले चाहेको पद प्राप्त भएन, बीचमा छोड्नुभयो। अहिले आएर मत माग्दै हुनुहुन्छ। अहिलेका नेता, राजनीतिक दललाई गाली गर्ने, दलबाट केही भएन सबै असफल भए भन्दै हिँड्नुभएको छ।

अहिलेको हाम्रो देशको दलीय व्यवस्था अनुसार प्रधानमन्त्री हुन दलको नेता हुनुपर्छ। दलको उम्मेदवार नभई प्रधानमन्त्री हुन पाइँदैन। सरकार बनाउन दल वा दलको समर्थन चाहिन्छ। यो सिस्टमभन्दा बाहिर गएर आजको दिनमा केही पनि गर्न सक्दैनौँ।

त्यसले गर्दा नयाँनयाँ सोच भिजन लिएर आउनुभएका धेरै साथीहरु यही मूल प्रवाहभित्र छिरेर मात्र केही गर्न सक्छौैं भन्ने कुरा बुझनुपर्छ। राजनीतिक दलभित्र बसेर त्यस्ता युवाहरुको प्रतिनिधित्व हामी नै गर्छौँ। गलत छ भने यहीँभित्र बसेर हामी नै सुधार्ने हो। लिकबाट हिँड्यो भने गन्तव्यमा पुगिन्छ, लिकभन्दा बाहिर हिँडेर गन्तव्यमा पुगिँदैन।

सदनमा केही सिटले सबै कुरा उठाउन सक्दैन। एजेन्डा उठाउला, प्रशस्तै सञ्चारमाध्यम छ, सडक छ, सामाजिक सञ्जाल छन्। उठाउनुभन्दा ठूलो कुरा त्यसलाई सार्थकतामा पुर्याउनु हो। सार्थकतामा पुर्याउन मुख्य राजनीतिक दलमै जानुपर्छ। म सबै उम्मेदवारलाई सम्मान गर्छु। सबै दलभित्र राम्रा मात्र छन् र सबै नराम्रा छन् भन्ने होइन। दलभित्रकै राम्रा युवाहरुको सशक्त र हस्तक्षेपकारी उपस्थिति राजनीतिमा बनाऊँ। अनि मात्र सबैको हित हुन्छ भन्ने मेरो आह्वान हो। 

मत खेर जान्छ कि जाँदैन भन्ने कुरामा आफूले दिएको मतले सदनमा गएर आफ्नो आवाज बोल्छ कि बोल्दैन, सार्थक बनाउँछ कि बनाउँदैन भन्ने कुरा मुख्य विषय हो। आम युवा मतदाताहरुले यो विषयमा सजग हुन जरुरी छ। किनकि स्थानीय निर्वाचन र यो निर्वाचन फरक हो। स्थानीय निर्वाचनबाट चुनिएका व्यक्ति कार्यकारी हुन्छन्। प्रतिनिधि सभा त्यस्तो होइन मतदाताको निम्ति कानुन बनाउन जाने हो। कानुन बनाएपछि पास गर्नै हैसियतमा पुग्नुपर्छ।

यो क्षेत्रलाई कायापलट गर्ने तपाईंसँग एजेन्डा के छ? 
जनताको जे समस्या हो, त्यसको समाधान दिइएको छैन, जे बिक्छ त्यही दिइएको रहेछ। हामी जाने विधायकका रुपमा हो। हामीले १० वटा पुल बनाउने कुराभन्दा पनि ३० औँ वर्ष निर्वाध काम गर्ने व्यवस्था, प्रणाली स्थापित होस् भन्नको लागि वकालत गर्ने हो। हाम्रो काम कानुन बनाउने हो, विधि पद्धति निर्माण गर्ने हो पहिलो कुरा। त्यही व्यवस्थामा जनताको एजेन्डा पास गर्ने हो।

१ नम्बर क्षेत्रको कुरा गर्दा यहाँ पूर्वाधार निर्माण सम्बन्धी ठूला एजेन्डा छैनन्। ठूला पुल, बाटो बनाउनुपर्दैन। कतिपय ठाउँमा ढलको समस्या छ। कतिपय ठाउँमा खानेपानीको व्यवस्थित र प्रभावकारी वितरण छैन। त्यसैगरी सडकबत्तीका कुराहरु छन्। भित्री बाटोको समस्याका कुराहरु छन्। यसका लागि सरकारमै जानुपर्छ भन्ने छैन, सबै सरोकारवाला निकायसँग समन्वयका अभावले बिग्रिराखेको छ। अन्तरमन्त्रालय समन्वय युनिट प्रभावकारी रुपमा बनेको छैन। यो ठाउँमा चाहिने हेल्थ केयर सिस्टम, कम्युनिटी सर्भिस सेन्टर, चाइल्ड केयर हो। ओपन स्पेसका अवधारणा पनि लिएका आएका छौँ।

तपाईंले देखेको यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा दलभित्रबाट हुन्छ कि स्वतन्त्रबाट?
स्वतन्त्रबाट त छैन। बरु नयाँ केही दलहरु छन् यहाँ। स्वतन्त्रबाट एकजना उम्मेदवार हुनुहुन्छ। आजभोलि त मतदातालाई पनि धेरै द्विविधा हुने रहेछ। केही समय अगाडि स्वतन्त्र भनिएका साथीहरु दल खोलेर आएका छन्। स्थानीय चुनावमा लौरो चिन्ह स्वतन्त्रको थियो, अहिले त हाम्रो नेपाली पार्टी भन्ने दलको नाममा दर्ता भएको रहेछ। लौरो भनेको पार्टी भन्ने भइहाल्यो।

स्वतन्त्रमै पनि झुक्किने भए, एउटा स्वतन्त्र नै अर्काे स्वतन्त्र नामको दल। यो अनेक खालको द्विविधा सिर्जना भइरहेका रहेछन् जनताका माझमा। त्यही भएर मतविभाजन त गर्छ नै। केही उम्मेदवार फेसबुक लगायत टिकटकको अल्गोरिदममा खेल्ने गरेर पनि चुनावमा आइरहनुभएको छ। गलत नै भए पनि गलतभित्रको सही कुन हो छान्नु पर्ने हो। मुख्य प्रतिस्पर्धा हामीले देखेको प्रकाशमानजी नै हो। किनकि ३ पटकदेखि लगातार जनसम्पर्कमा हुनुहुन्छ। नयाँ एजेन्डा लिएर आउनेहरुको पनि केही मत आउँछ। 

चुनावी परिणामबारे तपाईंहरुको आकलन र रिपोर्ट के छ? 
३० हजार मत खस्ने विश्लेषण छ। अघिल्लो पटक १० हजार ८ सयले जितेको हो। यसपटक यो भन्दा पनि डाउन हुने देखिन्छ। किनभने उम्मेदवारहरु धेरै हुनुहुन्छ।

स्थानीय निर्वाचनमा ३ सय मतले कांग्रेससँग हामी पछाडि थियौँ, यसपटक ३ हजार अग्रताका साथ हामी विजयी हुन्छौँ भन्ने आजसम्मको बुझाइ हो। 

हाम्रो कार्यकर्ता पंक्ति लामो समयदेखि आफ्नो पार्टीका उम्मेदवारलाई मत हाल्न नपाएको मनोविज्ञानमा हुनुहुन्थ्यो, यसपटक त्यो मनोविज्ञान अन्त्य भएको छ। एउटा युवा पनि पाइयो, रहरलाग्दो, भरलाग्दो युवा आन्दोलनको नेतृत्व गरिरहेको एउटा शक्तिशाली संगठनको बहालवाला अध्यक्षलाई उम्मेदवारका रुपमा पाउँदा कार्यकर्ता पंक्ति उत्साहित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .