ad ad

अन्तर्वार्ता


सिन्धुपाल्चोकका ६ वटै सिटमा गठबन्धनले सानदार जित निकाल्छ : माधव सापकोटा (अन्तर्वार्ता)

सिन्धुपाल्चोकका ६ वटै सिटमा गठबन्धनले सानदार जित निकाल्छ : माधव सापकोटा (अन्तर्वार्ता)

(तस्बिर: विशाल कार्की)


सागर न्यौपाने
कात्तिक २, २०७९ बुधबार २०:२८, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाले २०६४ देखि जित्दै आएको सिन्धुपाल्चोक १ बाट मंसिर ४ गतेको चुनावमा माधव सापकोटा माओवादी केन्द्रको उम्मेदवार बनेका छन्। जनयुद्धमा सहभागी भएर हाल पार्टीको पोलिट्ब्युरो सदस्य रहेका उनी पहिलो पटक उम्मेदवार बनेका हुन्।

सापकोटा माओवादी केन्द्रमा पछिल्लो पुस्ताका नेता हुन्। ४१ वर्षे यी युवा नेताले निर्वाचन क्षेत्रमा नवीनतम् ढंगले काम गर्ने योजना अघि सारेको दाबी गरेका छन्। चुनावको सेरोफेरोमा सापकोटासँग नेपालखबरले गरेको कुराकानी :

सभामुख अग्नि सापकोटाजस्ता ‘हेबिवेट’ नेतालाई पछि पार्दै सिन्धुपाल्चोकको टिकट कसरी पाउनुभयो?
खासगरी सम्माननीय सभामुख अग्नि सापकोटाको त्यागको भावना र पार्टीले मलाई गरेको विश्वासको प्रतिफल अहिले म साझा उम्मेदवारका रुपमा अगाडि गएको छु। पहिलो त, सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर नेतृत्वको पुस्तान्तरण गर्ने संस्कृतिको सुरुवात गर्नुभयो। यो ज्यादै महत्वपूर्ण कुरा छ। उहाँकै प्रस्तावमा पार्टीले निर्णय गरेर म वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रस्तुत भएको छु।

सँगसँगै त्यही निर्वाचन क्षेत्रका नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहनबहादुर बस्नेत समेत सहजतापूर्वक त्यो क्षेत्र छाडेर २ नम्बरमा जानुभयो। यस हिसाबले उहाँ पनि नयाँ पुस्तालाई विकास गरेर लैजान तयार हुनुभयो।

यसरी हेर्दा मभन्दा अग्रज नेतृत्वहरुले जे आँट, साहस, हिम्मत गर्नुभयो, यसको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु। उहाँहरुको सम्मान रहनेगरी काम गर्छु। 

यो मलाई चुनौती सहितको अवसर हो। किनभने हाम्रो पुस्ताकै प्रतिनिधिका रुपमा हामीजस्तै युवाहरु अहिले संसदीय प्रतिस्पर्धामा आइपुगेका छौँ। यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्यौँ, जुन आशा, भरोसाले हेरिएको छ, त्यो पुरा गर्न सक्यौँ भने यो सिंगै यो पुस्ताका लागि विजय हुनेछ।

त्यसो गर्दा अघिल्लो पुस्ताले गरेको त्यागको औचित्य पनि पुष्टि हुन्छ। तर, हामीले कुशलतापूर्वक काम गर्न नसके प्रत्युत्पादक पनि हुनसक्छ। त्यसैले नेतृत्वले गरेको विश्वासलाई कायम राख्नुपर्ने चुनौती छ।

भिडिओ

पहिलो पटक उम्मेदवार बन्दै हुनुहुन्छ। मनोनयनदेखि यहाँसम्म आइपुग्दा संसदीय राजनीति, त्यसमा पनि प्रत्यक्ष निर्वाचन कस्तो रहेछ? अहिलेसम्म के अनुभव भयो?
म आफैँ उम्मेदवार चाहिँ पहिलो पटक हो। तर, शान्तिप्रक्रियामा माओवादी आएपछिका प्रायः सबै निर्वाचनहरुमा निर्वाचन परिचालन कमान्डरकै भूमिका सम्पादन गर्दै आएको छु र चुनावी अभ्यास र अनुभवको हिसाबले म नयाँ होइन। तर, स्वयं उम्मेदवार भएरै अभ्यास गर्ने कुरा मेरो लागि पहिलो पटक हो। यसरी हेर्दा कमान्डर र उम्मेदवारसहित अगाडि जाने कुराका केही भिन्नताहरु हुँदो रहेछ।

आमरुपमा मतदाता, नेता, कार्यकर्ताहरुलाई प्रत्यक्ष आफैँले रेस्पोन्स गर्नुपर्ने कुरा, आफ्नो समय तालिकाभन्दा पनि तलबाट माग गरिएका सेड्युलहरुमा बढी चल्नुपर्ने बाध्यताजस्ता यस्ता केही अनुभवहरु छ। तर, मलाई यसले उत्साह नै दिएको छ।

एकपछि अर्काे संवाद छलफल गर्दा नयाँनयाँ जानकारी पाइराखेको छ। अहिले निर्वाचन जित्न के गर्नुपर्छ र जितेपछि पछिसम्म यसलाई कसरी ह्यान्डल गर्ने भन्ने ज्ञान प्राप्त गरेको छु।

यहाँहरुले उम्मेदवारी दर्ता गरेपछि प्रतिस्पर्धी उम्मेदवारलाई गालीगलौज नगर्ने संकल्प गर्नुभएको छ। यो मतदाता आकर्षित गर्न मात्र भन्नुभएको हो कि साँच्चै लागू गर्नुहुन्छ?
अहिले राजनीति कस्तो भयो भने अर्काको कद होचो पारेर आफ्नो कद बढाउने। यो गलत परम्परा नेपाल र दक्षिण एसियाको राजनीतिमा मूलतः देखिन्छ। म राम्रो कसरी हुनेभन्दा पनि तपाईंलाई नराम्रो बनाएर कसरी म राम्रो हुने? मतदाता र नेपाली जनताको अपेक्षा त्यो होइन। अर्कालाई गाली पर्याप्त गर्न सकिन्छ। त्यो वास्तवमा सजिलो काम हो। तर, म नयाँ काम कसरी गर्न सक्छु, भन्ने कुरा ज्यादै चुनौतीपूर्ण र कठिन काम हो। मतदाताले, जनताले नयाँ पुस्ता किन खोजी गरेको छ भने नेपाली राजनीतिको परम्परागत, अर्कालाई हिलो छ्याप्ने, गाली गर्ने, अर्काको कद होचो पारेर आफू अग्लो हुने जे चलन छ, यसको अन्त्य चाहेका छन् र नवीनता खोजेका छन्।

दृष्टिकोणमा, भिजनमा, कार्यक्रममा, योजनामा र भोलि जीवन निर्वाहमा पनि  नवीनता खोजेको हो। मैले मेरा प्रतिस्पर्धीलाई गाली गरेर होइन, उहाँले भन्दा अब्बल प्रकारका दृष्टिकोण, योजनाहरु अगाडि सारेर मतदाताको विश्वास जित्ने हो। त्यसो भयो भने मात्र भोलि मैले नयाँ काम गर्न सक्छु।

निर्वाचन जित्ने हार्ने कुरा प्राविधिक कुरा हो। अनेकन ढंगले जित्लान्। तर, मान्छेको मन जित्ने ठूलो कुरा हो। मन जितियो भने निर्वाचन जितिन्छ। मन जितिएन र निर्वाचन जितियो भने पनि खासै सार्थक हुन्छजस्तो मलाई लाग्दैन। त्यसैले मन जितेर निर्वाचन जित्ने कुरा आजको प्राथमिकता हो। यसर्थमा हामीले भनेका छौँ, संकल्प गरेका छौँ, प्रतिस्पर्धीलाई गालीगलौज गर्दैनौँ, उहाँहरुको भन्दा अब्बल र नवीनतम् दृष्टिकोण र भिजन अगाडि सारेर मतदाताको मन जित्छौँ।

०७२ सालको भूकम्प, त्यसपछाडि लगातारको बाढीपहिरोको चपेटामा सिन्धुपाल्चोक परिरह्यो, यहाँले नवीनतम् काम गर्छु भनिरहँदा आजको दिन चुनावी मुद्दा, एजेन्डा के छन्? 
संविधानले किटान गरेको प्रतिनिधि सभाको सदस्यको जिम्मेवारी सदनभित्र प्रभावकारी भूमिका निर्वाह गर्दै संविधानमा आवश्यक परे संशोधन गर्ने, ऐन, नियम नियमावली कानुनहरुको निर्माण गर्ने विकास गर्ने समयअनुकूल त्यसलाई परिमार्जन र व्यवस्थापन गर्दै जाने हो। तर, जनताको अपेक्षा चाहिँ दैनिक समस्याहरु र स्थानीय पूर्वाधार लगायतका विकासका कुराहरुमा छ। यसरी हेर्दा संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र र दातृ निकायहरुका साधनस्रोतहरुलाई केन्द्रित गर्ने र त्यसलाई योजनाबद्ध विकासमा लगाउने। अहिले हाम्रोमा विकास नभएको भन्ने पनि होइन, तर, योजनावद्ध विकासको समस्या छ। अर्बाैं बजेट गएको छ तर त्यो बालुवामा पानी हालेको जस्तो भएको छ।

कुन मुख्य हो, कुन सहायक हो भन्ने कुराको हामीले पहिचान गर्न नसक्दा साधनस्रोतको दुःख भन्दा पनि विकासको एकीकृत योजनाको अभाव छ। संघ, प्रदेश र स्थानीय सरकारहरु, निजी क्षेत्र र दातृ निकायका साधनस्रोत केन्द्रित गर्ने एउटा भिजन र अवधारणा बनाएर त्यस आधारमा साधनस्रोत परिचालन गर्ने मेरो संकल्प छ। 

त्यसका अलावा आज प्रत्येक मतदातालाई तपाईंले सोध्नुभयो भने राजतन्त्र हटाएर गणतन्त्र त आयो तर, मैले के पाएँ भन्ने प्रश्न छ। आज जनतालाई हामीले ओठे जवाफ दिने होइन, उसले प्रत्यक्ष जीवन व्यवहारमा अनुभूत गर्नेगरी मैले के पाएँ भन्ने कुराको उत्तर दिन जरुरी छ।

यसरी हेर्दा शिक्षा, स्वास्थ्य, आय आर्जन र स्वरोजगारका विषयवस्तुलाई मुख्य विषय बनाउने काम गर्नुपर्छ। तर, यतिले मात्र पुग्दैन। सबै जागिर खान चाहन्छन्। यो सम्भव कुरा होइन, सबैले स्वरोजगार या उद्यम गर्छन्, व्यवसाय गर्छन्, त्यो कुरा पनि होइन। आफ्नो क्षमता अनुसार रोजगारी चाहनेलाई जागिरको अवसर दिलाउने, जसले जागिरका लागि इच्छा व्यक्त गर्दैन उसलाई उद्यम गर्ने व्यापार गर्ने, त्यो प्रकारको वातावरण सिर्जना गर्ने हो। प्रत्येक नागरिकहरुलाई धनी हुने व्यवस्था बनाउन सकियो भने मैले के पाएँ भन्ने प्रश्नको उत्तर हुन सक्छ।

हाम्रो निर्वाचन क्षेत्रमा आठ वटा स्थानीय तह छन्, ५४ वटा वडाहरु छन्। यी सबैलाई एकीकृत रुपमा एउटा योजना बनाएर हामीले काम गर्न सक्यौँ भने राष्ट्रका लागि योगदान दिन सक्छौँ।

यहाँले जुन निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ, त्यो ठाउँमा विगतमा मन्त्री पनि भइसक्नुभएका अहिलेका सभामुख हुनुहुन्थ्यो, केन्द्रबाट बजेट लैजान उहाँका केही बलिया पक्षहरु थिए होलान् अब त्यो नहुने हो कि भन्ने चिन्ता होला मतदातामा। कसरी आम मतदातालाई आश्वस्त पार्नुहुन्छ? 
सिन्धुपाल्चोक प्राकृतिक प्रकोपबाट प्रताडित भएको जिल्ला हो। हाम्रो निर्वाचन क्षेत्र त्यसबाट विमुख छैन। बाढी, पहिरो, भूकम्प आयो, सबैभन्दा बढी मानवीय क्षति भयो। चट्याङ, केही वर्ष अगाडिसम्म त विद्युतका तार सर्ट भएर सबैभन्दा धेरै नागरिकहरुको हताहती हुने जिल्ला थियो। यो बहु प्रकोपलाई कसरी कम गर्ने भन्ने छलफलमा हामी छौँ। हामीले योजना बनाउने, त्यसलाई केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने कुरा हो। यसका बारेमा हामी संवेदनशील भएर काम गर्नुपर्छ। यसलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ। 

त्यसै निर्वाचन क्षेत्रबाट सम्माननीय अग्निप्रसाद सापकोटा सभामुख हुनुभयो। त्यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएर नेपाली कांग्रेसका नेता आदारणीय दाजु मोहनबहादुर बस्नेत मन्त्री हुनुभयो। उहाँहरुले थालनी गर्नुभएका कतिपय कामहरु छन्, म त्यसको निरन्तरताका लागि मेरो यो क्षेत्रबाट उम्मेदवारी छ। अरु थप केही कामहरु पनि गर्छु।

मेरो उम्मेदवारी उहाँहरुले गरेका कामहरु निरन्तरताका लागि भनेपछि बजेटहरु लैजाने, साधनस्रोत केन्द्रित गर्ने, योजना निर्माण गर्ने जस्ता कुराहरुमा उहाँहरुसँग सहकार्य गरेर उहाँहरुकै नेतृत्वमा सिंहदरबारमा, हेटौँडामा कहाँ कहाँ जानुपर्छ, जान्छु। मेरो निर्वाचन क्षेत्रका आम मतदाता र सबै प्रिय जनतालाई के भन्न चाहन्छु भने, अग्निप्रसाद सापकोटा र मोहनबहादुर बस्नेतज्यूकै नेतृत्वमा बजेटहरु लिन जाने, योजनाहरु निर्माण गर्ने लगायतका कार्य सम्पादन गर्छु। विगतको भन्दा प्रभावकारी ढंगले काम गर्न सकिन्छ भन्ने कुरा मलाई आत्मविश्वास छ।

गठबन्धनभित्र यहाँलाई विश्वास गरेर मत दिन्छन् त?
हिजो हाम्रो पूर्वमन्त्री दाजु मोहनबहादुर बस्नेतले एउटा अन्तर्वार्तामा भन्नुभएछ–‘सिन्धुपाल्चोकमा विगतका गठबन्धनहरुको अनुभव र अभ्यास हेर्दाखेरी गठबन्धनप्रति नेपाली कांग्रेस इमान्दार भएर गएकै इतिहास छ।’ हामीले केका लागि गठबन्धन गर्याँै भन्ने कुरामा खासै द्विविधा छैन। यो गठबन्धन आज सांसद र सरकार बनाउन मात्र भएको होइन, प्रतिगमनका विरुद्ध संघर्ष गर्दा सडक र मुद्दा लिएर अदालत जाँदै गर्दा बनेको गठबनधनको मोर्चा हो। त्यसैले प्रतिगमनलाई परास्त गर्ने मुख्य उद्देश्य र ध्येयका साथ गठबन्धन भएको हुनाले यसको सार्थकता देखाउनुपर्ने चुनौती हामी सबैलाई छ।

मलाई यो प्रारम्भिक चरणका सबै छलफल, अन्तर्क्रिया, संवाद हेर्दा के विश्वास छ भने गठबन्धनले सिन्धुपाल्चोकका ६ वटै सिट जित्नेमा जनता विश्वस्त देखिन्छन्। विस्तारै कार्यक्रमा जाँदैछौँ। म नेपालखबरमार्फत् के भन्न चाहन्छु सिन्धुपाल्चोकका ६ वटा सिट गठबन्धनमा छन्। जसले सिट प्राप्त गर्नुभएको छैन, समाजवादी, राष्ट्रिय जनमोर्चा पनि इमान्दारपूर्वक गठबन्धन सफल पार्न सार्वजनिक अभिव्यक्ति दिएर लाग्नुभएको छ। यसरी हेर्दा सिन्धुपाल्चोकमा गठबन्धन सम्पूर्ण रुपमा सफल हुन्छ। ६ वटै सिटमा हामी सानदार विजय निकाल्न आतुर भएर रहेका छौँ। म निर्धक्क भन्न चाहन्छु, सिन्धुपाल्चोकका ६ वटा सिटमा गठबन्धनले सानदार सफलता प्राप्त गर्छ।

तर, स्थानीय तहको नतिजालाई हेर्ने हो भने गठबन्धन बलियो देखिएन नि?
गएको स्थानीय चुनावको कुरा गर्दा हामीले एकल ढंगले प्रतिस्पर्धा गर्यौँ। छिटपुट स्थानमा गठबन्धन भए। यो स्थानीय तहको निर्वाचन होइन, स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुका आफन्त, नातागोताले गरेका कमजोरीहरु समेत उम्मेदवारलाई थोपरिनेगरी भारी बनेर आउँदो रहेछ। स्थानीय निर्वाचनमा गठबन्धन भनेको अलि कडा कुरा पनि रहेछ। देशभरिका ७ सय ५३ वटै तहमा गठबन्धन हुन सकेन नि, शीर्ष नेतृत्वले प्रयत्न गर्दा पनि एक तिहाइमा मात्र भयो।

अहिले १६५ र ३३० निर्वाचन क्षेत्रमा पार्टीले औपचारिक रुपमा गठबन्धन गरेको छ।गठबन्धनका दलले पार्टी निर्णय मान्नुपर्ने दायित्व र कर्तव्य हो। गठबन्धन आधारभूत रुपमा सफल भइसक्यो। परिणामलाई उथलपुथल पार्ने बागीहरु छैनन्। प्रारम्भिक रुपमा देशभरि र सिन्धुपाल्चोकभित्र पहिलो चरणमा गठबन्धन सफल भइसक्यो। प्राविधिक रुपमा मतदातालाई मतदानको दिन केन्द्रमा लगेर मतदान गर्न मात्र बाँकी छ।

एमालेको विगतदेखिकै सांगठनिक संरचना, अनि विचार नमिल्ने, सिद्धान्त नमिल्ने यहाँहरुको गठबन्धन, यी दुई वटाबीचको यहाँहरुको लडाईं त्यति सजिलो होला?
नेपाली कांग्रेससँग आङका ताङ नमिल्ने पनि होइन। किनभने तत्कालीन ७ राजनीतिक दलका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले र विद्रोहीहरुका तर्फबाट हाम्रा अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको हो शान्ति सम्झौतामा। हामी जनयुद्धमा थियौं र नयाँ कोर्समा आयौं। सशस्त्र क्रातिका कुरा गर्दा २००७ मा कांग्रेसले विद्रोह गर्यो। २०२८ सालमा तत्कालीन मालेले गर्यो। २०५२ सालमा माओवादीले गर्यो। हामी विद्रोहकै पृष्ठभूमिबाट हुर्किएर आएका पार्टीहरु हौं अहिले गठबन्धनमा भएका। यसरी हेर्दा सिंगो देशलाई शान्तिमा लैजाने, त्यो शान्तिको जगमा टेकेर समृद्धि हासिल गर्दै समाजवादमा पुग्ने कुरामा आधारभूत रुपमा नेपाली कांग्रेस र माओवादीबीच भिन्नता छैन।

आज समृद्धि हासिल गर्नुपर्ने जनताको माग छ, संविधानमा समाजवादमा पुगिछाड्ने भनेका छौँ। समाजवाद त कांग्रेस र कम्युनिस्टले छुट्टाछुट्टै व्याख्या गरेका छैनौं। बीपीले भन्नुभएको वा मार्क्सवादीले भनेको या आजको समाजवाद या नेपालको सापेक्षताको समाजवाद एउटै हो। कांग्रेस र कम्युनिस्टबीच विमति छैन। बरु यो गठबन्धनले सरकारको नेतृत्व गर्छ। एमाले प्रतिपक्ष बनेर बाहिर बसोस्। गठबन्धनले समाजवादको ध्येयका साथ काम गरोस्, मुलुकमा खिचातानी हुने, अस्थिरता हुने, कांग्रेस–कम्युनिस्ट भनेर अनावश्यक घोचपेच हुने, राजनीतिलाई विकृत बनाउने कुरालाई न्युनीकरण गर्न कांग्रेस र कम्युनिस्ट अंगालो हालेर हिँडियो भने राष्ट्रका समृद्धि, मुहार फेर्ने कुरामा यसले मजबुत आधार बनाउँछ।

माओवादी केन्द्रको सिन्धुपाल्चोक इन्चार्ज पनि हो तपाईं। अर्को क्षेत्रमा पनि गठबन्धन बलियो छ?
गत स्थानीय निर्वाचनलाई मात्र मापन गर्ने हो भने पनि कांग्रेस, माओवादी, समाजवादी र राष्ट्रिय जनमोर्चाको मतभार हेर्नेबित्तिकै धेरै द्विविधा राख्नुपर्ने अवस्था छैन। म माओवादी पार्टीको सिन्धुपाल्चोक इन्चार्ज पनि छु। आफू जित्ने कर्तव्यका साथसाथमा बाँकी रहेका अन्य ५ जना उम्मेदवार जिताउने नैतिक कर्तव्य मसँग निहित छ।

मूलतः माओवादीका कार्यकर्तालाई गठबन्धनप्रति इमान्दार बनाउने, ६ वटै सिटमा जित हासिल गर्ने कुराको माओवादी इन्चार्ज भएकोले मलाई नै नैतिक दबाब छ। मैले माननीय मोहनबहादुर बस्नेतलाई जिताउन दिलो ज्यान दिएर माओवादी नेता कार्यकर्ता कति खट्नुहुन्छ, खटाउँछु त्यस आधारमा मेरो पनि जित जोडिएको छ।

माओवादी २ नम्बर क्षेत्रमा बडो मिहेनेतपूर्वक लाग्दाखेरी मेरो जित पनि सुनिश्चित हुन्छ। 

एमालेको बलियो संगठनका अगाडि यहाँले भनेको जस्तो सानदार रुपले जित्नुहोला भनेर कसरी विश्वास गर्ने?
एमालेप्रति मेरो सम्मान छ, सद्भाव पनि छ। तर, नेकपा एमालेको मूल नेतृत्वमा देखा परेको विचलनविरुद्ध एमालेभित्रका क्रान्तिकारी साथीहरुले विद्रोह गर्नुको विकल्प छैन। नेतृत्व यति हठी, मनोगत तरिकाले जे गइरहेको मूल नेतृत्व त्यसले एमालेलाई सखापको दिशातिर लगिराखेको छ। त्यसैले एकपटक सबक सिकाउनको निमित्त, चेत खुलाउनको निमित्त, नयाँ ढंगले नेतृत्वमा चेत पैदा गर्नका लागि अवसर हो। 

अब जहाँसम्म जितको आधार मैले भनेँ, गएको स्थानीय तहको निर्वाचन सिन्धुपाल्चोकमा हेर्नुभयो भने, नेपाली कांग्रेस सानदार मतका साथ पहिलो छ। माओवादी केन्द्र ४ वटा स्थानीय तह जितेर दोस्रो भएको छ। नेकपा एमाले तेस्रो स्थानमा छ। एमाले विभाजित अवस्थामा छ। त्यसपछि एकीकृत समाजवादी छ। त्यो पनि सशक्त भूमिकाका साथ पूर्वसांसदहरु, लामो समय कम्युनिस्ट आन्दोलनमा सहभागी नेता लगायतको ठूलो समूह जिससको उपप्रमुख सहित तलतलको सरकारमा सामेल छ। निर्धक्क रुमा भन्न सक्छौँ, हामी सानदार रुपमा जित्छौँ।

माओवादीबाट एमालेमा रहेका नेकपाकालीन नेता दावा तामाङहरु तपाईंलाई हराउन दिलो ज्यान दिएर लाग्नुहोला नि?
अर्काे पार्टी भएपछि उहाँहरुको दायित्व त्यो हो, उहाँहरु नेकपा एमालेमा हुनुहुन्छ अहिले। प्रतिस्पर्धी पार्टीमा भएपछि उहाँहरुले मलाई जिताउने त धर्म भएन। उहाँहरु आफ्नै दलमा लाग्नैपर्छ। उहाँहरुप्रति मेरो सम्मान नै छ। हामी किन जित्न सक्छौं भने नवीन विचार र दृष्किोणका साथ समाजमा नयाँ पुस्ताहरु आउँदा यसरी काम गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यका साथ हामी गएका छौँ। युवाले जिते यसरी काम गर्नुपर्छ भन्ने सन्देश देशभर दिनेगरी हामी काम गर्छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .