अन्तर्वार्ता


राजनीति गर्दिनँ, फिल्म निर्माण र निर्देशनमा लाग्छु: राजेश हमाल (अन्तर्वार्ता)

राजनीति गर्दिनँ, फिल्म निर्माण र निर्देशनमा लाग्छु:  राजेश हमाल (अन्तर्वार्ता)

कृष्ण आचार्य
असार ९, २०७६ सोमबार १३:४०,

पाल्पामा जन्मिएका राजेश हमाल १ वर्षको हुँदा काठमाडौँ आए। त्यसपछि पनि उनको यात्रा भारत, नेपाल, रुस, फेरि भारत हुँदै नेपालमा आएर टुङ्गियो। हमालका बुबा चुडाबहादुर हमाल करिअर कुटनीतिज्ञ थिए। बुबाको जुन देशमा सरुवा हुन्थ्यो, बुबासँगै उनले सँगै जाने अवसर पाउँथे। यस हिसावले सानै उमेरमा उनले विश्व देख्ने अवसर पाए।

विदेशी शिक्षाले हमाल पढाईमा पनि तीक्ष्ण बने। रुसमा हुँदा उनको सिनेमाप्रति चासो बढ्यो। त्यही चासोले उनलाई भारतमा कलेज पढ्दा मोडलिङतर्फ आकर्षित गरायो। सायद त्यतिबेला उनमा नजानिदो पाराले सिने क्षेत्रप्रति एउटा रस पसिसकेको हुनुपर्छ। भारतको पन्जाव विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नाकोत्तर गरेपछि उनी नेपाल फिरे। त्यसपछि सुरु भयो, हमालको फिल्मी यात्रा।

प्रस्तुत छ– सोही यात्रामा केन्द्रित रहेर नेपाली फिल्म क्षेत्रका चर्चित नायक राजेश हमालसँग गरिएको फिल्म संवादः

बाल्यकालमा हेरिएका फिल्मले तपाईंको जीवनमा सिने क्षेत्रप्रति कत्तिको आकर्षण बढायो?
कोही कलाकारिताको क्षेत्रमा लागेको छ भने मानिसहरु ‘यो त सानैदेखि फिल्मको किरो थियो होला, विदेशी फिल्म खुब हेथ्र्यो होला’ भन्ने सोच्नुहुन्छ। अझ भारतीय सिनेमाबाट प्रभावित भएर कलाकार भएको कुरा पनि गर्नुहुन्छ। तर, मैले बलिउड फिल्म धेरै हेरेको छैन।

कलेज पढ्दा मेरो उमेरका साथीहरुलाई ‘फस्र्ट डे, फस्ट शो’ हेर्नुपर्ने हुन्थ्यो। त्यतिबेला समय पनि त्यस्तै थियो। ‘फस्र्ट डे, फस्ट शो’ हेर्नेलाई बहादुर मान्नुपर्ने अवस्था थियो। म त्यस्तोमा कहिल्यै परिनँ। साथीहरुले कर गरेर जाऊँ भनेपछि हलसम्म जान्थेँ। आफै फिल्म हेर्न हलसम्म गएँ भने पनि अफ विट (त्यतिबेलाको आर्ट) फिल्महरु बढी हेर्थें। चण्डीगढमा कलेज पढ्दा प्रत्येक शनिबार अंग्रेजी फिल्म लाग्थ्यो। त्यो चाहिँ हेर्न जान्थेँ।

रुस गएपछि ‘अफ विट’ फिल्मलाई अलि बढी ‘फलो’ गर्नुभएको हो?
हो। मलाई ‘अफ विट’ फिल्म हेर्ने बानी रुसमै परेको हुनुपर्छ। नेपालमा ८ कक्षासम्म पढेँ, त्यसपछि ९ कक्षा पढ्ने बेला म बुबासँगै रुस गएँ। रुसमा बालबालिका केन्द्रित थुप्रै फिल्महरु बन्थे। त्यस्ता फिल्म हेर्न स्कुल र परिवार दुबैतिरबाट प्रोत्साहन मिल्थ्यो। सुरुसुरुमा यस्ता फिल्महरु धेरै हेरेँ। अर्को कुरा, त्यहाँ ग्ल्यामरस भन्दा पनि मानिसको जीवन, संस्कृति, इतिहाससँग सम्बन्धित फिल्महरु बन्ने गर्थे। अलिपछि यस्ता फिल्महरु पनि हेरेँ। त्यस्तो फिल्म हेरेको बानी परेकाले पनि हो कि, भारतीय फिल्ममा खासै मन गएन, खल्लो लाग्यो। 

5 3

अभिनयप्रतिको भोक चाहिँ कसरी जाग्यो?
मेरो आफ्नो स्वभावकै कारणले होला। समाजलाई हेर्ने, सामाजिक परिवेशलाई बुझ्न खोज्ने गजबको चाह थियो ममा। बाहिर देखिएका पाटाहरु भन्दा पनि लुकेका कुराको गहिराइमा पुग्ने भोक थियो। मानवीय मनोविज्ञान, समवेदना बुझ्ने ईच्छाशक्ति बढ्न थाल्यो। त्यसपछि भने ‘यी कुरा अभिव्यक्त गर्ने माध्यम फिल्म हुनसक्छ है’ भन्ने कुराले मेरो ध्यान खिच्यो।

फिल्म खेल्नुअघि (१९८६) मा काठमाडौँमा ‘र्‍याम्प’ मा पनि हिँड्नुभएको थियो। त्यो फिल्मका लागि पूर्वतयारी थियो?
हो, नयाँ बानेश्वरको एभरेस्ट होटलमा भएको थियो। नेपालकै पहिलो ‘र्‍याम्प’ हुनुपर्छ सायद। त्यो अनुभव निकै अद्भुत रह्यो। त्यतिबेला म भारतमा अध्ययनका साथै अलिअलि मोडलिङ पनि गर्थें। भारतीय दूतावासको महिला संघले एउटा ‘फेसन शो’ गर्ने जमर्को गरेको रहेछ। उहाँहरुले मैले भारतमा मोडलिङ गरेको कुरा कता–कताबाट थाहा पाउनुभएछ। त्यसपछि मलाई केही सुझाव दिन र ‘फेसन शो’ मा सहभागी पनि हुन आग्रह गर्नुभयो। यसरी म सहभागी भएको हुँ। सबैभन्दा रमाइलो कुरा त के छ भने, उक्त ‘र्‍याम्प’ पुरुषको नाममा म एक्लो थिएँ। २५ जना जति महिला हुनुहुन्थ्यो। हाहाहा...।

तपाईं फिल्म क्षेत्रमा आउनुको खास कारण अझै खुलेन नि!
मानिसले आफ्नो जीवनकालमा चाहेर पनि आफ्ना भावनाहरु व्यक्त गर्न सक्दैन। त्यो हिसाबले उसले आफ्नो पूर्ण जीवन जिएकै हुँदैन। किनकि मानिसको जीवन भनेको आफ्ना भावनाहरु व्यक्त गरेर त्यसबाट आनन्द लिने हो नि! तर, संस्कृति, पद, प्रतिष्ठा, तह, परिस्थिति, संकोच, परिवेश आदिले गर्दा ऊ न रिसाउन चाहेको बेला चाहेजति रिसाउन सक्छ, न आफ्ना भावनाहरु अभिव्यक्त गर्न सक्छ। न घृणा दर्शाउन सक्छ, न प्रेम नै। न रुन चाहेजति रुन सक्छ, न हाँस्न चाहेजति हाँस्न नै।

तर, सिनेमामा त्यो गर्न सकिन्छ। डाइरेक्टरले ‘ए राजेश! तिमी रेस्टुराँमा बसेर कफी पिइरहेका हुन्छौ। एउटा नायिका आएर त्यहाँ बस्नुहुन्छ। तिमी गएर यो गुलावको फूल दिएर आफ्नो प्रेमको कुरा राख है’ भन्छन्। म फटाफट त्यसै गर्छु। तर, वास्तविक जीवनमा यही कुरा गर्न कहाँ सकिन्छ र?

प्रेमको कुरा मात्र होइन, गाउँले बन्दाको आनन्द, किसान बन्दाको आनन्द, आक्रोश व्यक्त गर्दाको आनन्द। हरेक पात्रमा आनन्द हुन्छ। मलाई सिनेमाले यो अवसर दिइरहेको छ। भिलेनसँग रिसा’ भन्यो भने ‘फुल्ली’ रिसाइदिन्छु, ‘नेताले अत्याचार गरेको छ, गएर कठालो समात्’ भन्यो भने समाइदिन्छु। यसैगरी आफूलाई अभिव्यक्त गरिरहेको छु। फिल्ममा आउनुको कारण पनि यस्तै हो।

3 3

पहिलो फिल्म ‘युगदेखि युगसम्म’ (१९९१) खेल्नुभयो। एकातिर पारिवारिक अन्तरविरोध थियो भने अर्कोतिर तपाईंको सपना। यसबीचमा प्रिमियरमा पनि परिवारको मन पग्लिएन। एक्लै जानुभयो । त्यसबेला फिल्मले मलाई परिवारसँग टाढा गराउँदो रहेछ भन्ने भावना आएन?
नेपाली फिल्मको मेरो यात्रा मेरै नितान्त व्यक्तिगत निर्णयका कारण तय भएको हो। परिवारको आँखाबाट हेर्ने हो भने म अलि बढी जिद्धी भएँ हुँला सायद।

मेरो एकल निर्णयमा गरिएको कार्यमा परिवारले चासो नदिनु स्वभाविक पनि थियो होला। म सुटिङबाट आउँदा ‘सुटिङ कस्तो भयो?’ भनेर परिवारले सोध्ने अवस्था पनि थिएन। सुरुदेखि नै चासो नभएको विषयमा फिल्म तयार भइसकेपछि परिणामका लागि तयार हुने त कुरै थिएन।

त्यसैले, प्रिमियरमा पनि म एक्लै गएँ। एक जना साथी भने लगेको थिएँ। अलिअलि नरमाइलो पनि लाग्यो। किनकि, त्यो बेलामा फिल्मको प्रिमियर भनेपछि आफन्तहरु ‘मेरो भान्जाको फिल्म हो’ भनेर पनि आउँथे। त्यसबाहेक रमाइलो पनि लाग्यो।

दर्शकहरु प्रिमियर हेर्दा कहिले भावुक हुने त कहिले उत्सुक हुने गर्नुभयो। उहाँहरुको यस्तो मौन प्रतिक्रियाले मलाई रोमाञ्चक बनाइरहेको थियो। अर्थात्, उहाँहरुको सन्तुष्टिमा मलाई आनन्द आयो। 

‘युगदेखि युगसम्म’ भन्दा पहिला ‘भाग्यरेखा’ मा अभिनय गर्ने पक्कापक्की भएको थियो। तर, निर्माण पक्षले नै हटाइदियो भन्ने छ। खास भएको के थियो?
त्यो फिल्मका विषयमा मेरो र नायिकाको निर्माता, निर्देशक र क्यामेराम्यानबीच सहमति हुन सकेन। त्यसपछि उहाँहरुले मलाई हटाएर अर्को कलाकार ल्याउने निर्णय गर्नुभयो। सायद मेरा लागि सही समय र स्थान थिएन होला त्यो। एकहिसाबले मेरा लागि एउटा पाठ पनि भयो। त्यतिले ममा केही निराशा सिर्जना गर्यो। परिवारबाट समर्थन नभएको क्षेत्रमा लागेको थिएँ। त्यस्तो अवस्थामा पहिलो गाँसमै ढुङ्गा लागेजस्तो भयो। परिवार पनि मप्रति झन् नकारात्मक बन्यो। मैले ‘युगदेखि युगसम्म’ गर्दा उहाँहरुले ‘केही उपलब्धि हुँदैन भन्ने थाहा पाउँदा पाउँदै फेरि फिल्म गर्न लागिस्?’ भन्नुभएको थियो।

त्यतिबेला तपाईंले पहिलोदेखि छैटौँ फिल्ममा आउँदासम्म हरेक फिल्ममा फरक–फरक भूमिका निर्वाह गर्नुभयो। यसको कुनै कारण छ या ‘अफर’ नै त्यस्तै आयो?
राम्रो प्रश्न गर्नुभयो। युगदेखि युगसम्म, अधिकार, भाउजु, देउकी, देउता, कसम र अन्य केही फिल्ममा म फरक–फरक भूमिकामा देखिएको छु। त्यसपछिका फिल्महरु हेर्नुहुन्छ भनेपनि मैले नेपालका हरेक समुदायलाई प्रतिनिधित्व गर्ने गरी अभिनय गरेको छु। र, म ‘लक्की’ पनि के कुरामा छु भने, यी सबै भूमिकामा मलाई दर्शकले स्वीकार्नु भएको छ। हली, भरिया, हिमालको शेर्पा, काठमाडौँको नेवारदेखि हरेक भूमिका मैले गरेको छु। यसो गर्दा त्यो चरित्रमार्फत् उहाँहरुको जीवनशैली बुझ्न सकेँ। मलाई यसमा एकप्रकारको आनन्द पनि आयो।

पछि ‘शकुन्तला’ मा महिलाको भूमिका पनि निर्वाह गर्नुभयो। महिलाको चरित्र निभाउन कत्तिको सहज रहेछ?
खासमा म महिलाको भूमिका भएकै कारणले त्यस फिल्मप्रति आकर्षित भएको हुँ। जीवनमा मैले महिलाको भूमिका कहिल्यै गरेको थिइनँ, त्यसैले पनि चासो बढ्यो। सोही क्रममा महिलालाई तयार हुन (मेकअपमा) कति समय लाग्दोरहेछ भन्ने कुरा थाहा पाएँ। कलाकारको रुपमा चाहिँ महिला बन्नु मलाई निकै ठूलो चुनौति लाग्यो।

भूमिका मात्र होइन, नायिकाहरु पनि परिवर्तन हुनुभयो। ‘फलानोसँग काम गर्दिन’ भनेर निर्माता–निर्देशकलाई दबाब दिनुहुन्थ्यो?
नायिका फेरिनु एउटा संयोगमात्र हो। त्यो बेलामा कलाकारहरुको कमी पनि थियो। सोही क्रममा मेरा धेरै फिल्महरु आउन थाले। रुचाइए पनि। त्यसैले, निर्माता–निर्देशकहरुले कतिपय अवस्थामा ‘रिस्क’ पनि लिनुभयो।

सायद ‘राजेश भएपछि फिल्म चलिहाल्छ नि’ भन्ने सोच्नु पनि भयो होला। मेरो व्यक्तिगत रुपमा कुनै दबाब थिएन। यतिसम्म कि, मैले मेरो ‘अपोजिटमा कुन नायिका हुनुहुन्छ?’ भनेर निर्देशक–निर्मातालाई सोध्दासमेत साध्दैनथेँ। कतिपय अवस्थामा त सुटिङमा मात्र फलानो नायिका भन्ने थाहा पाउँथें।

तपाईंलाई अभिनय गराउन निकै सजिलो तर, कपाल काट्न मान्दै नमान्ने भन्छन्। अहिले पनि कपाल प्रेम उत्तिकै देखिन्छ। कपालमा कुनै रहस्य लुकेको छ कि!
हाहाहा...। कपालसँग एउटा साइनो त पक्कै छ। किनभने फिल्ममा आउनु अघिदेखि नै मैले लामो कपाल पाल्थेँ। सिनेमामा आइसकेपछि पनि त्यो प्रेम घटेन। त्यतिबेला प्राय फिल्महरुमा कथाअनुसार पात्र बनाउने प्रचलन थियो। दर्शकले पनि त्यो चाहनुभयो। कलाकार आफ्नो हाउभाउ छाडेर केवल चरित्रमा मात्र उभियो भने दर्शकलाई ‘बोरिङ’ लाग्थ्यो। त्यसकारण आफूले मन पराएको कलाकार– चाहे चौकिदारको भूमिका निर्वाह गरोस्, चाहे हाकिमको– उसको हाउभाउ आइरहोस् भन्ने चाहनुहुन्थ्यो।

सायद त्यसैले पनि अझ कपालप्रतिको मोह बढ्दै गयो होला।

त्यतिबेला एउटा कलाकारले फिल्म खेलेर आफ्नो जीवनका आवश्यकता पुरा गर्न सक्ने अवस्था थियो या थिएन? तपाईंको व्यक्तिगत अनुभव कस्तो छ?
निकै गाह्रो थियो। पहिलो फिल्म खेल्दा मलाई मेरो पारिश्रमिक कति हो भन्ने नै थाहा थिएन। फिल्म खेलेवापत आउने रकमले मेरो जिविका चल्ने हो वा होइन भन्ने अन्योल थियो। यो मामिलामा त मलाई मेरो परिवारबाट पूर्ण सहयोग मिलेको हो। कमसेकम उहाँहरुले मलाई बास–गासबाट त बञ्चित गर्नुभएन नि!

भिडियोः 

त्यतिबेला मसँग अन्तर्वार्ता गर्न आउने पत्रकार होस् या मसँग ठोक्किन आउने कुनै ब्यक्तिले गर्ने प्रश्न हुन्थ्यो, ‘तपाईं फिल्म त खेल्नुहुन्छ, काम चाहिँ के गर्नुहुन्छ नि?’

म अलिकति भाग्यमानी किन पनि भएँ भने, पहिलो फिल्मपछि अलि धेरै फिल्महरु खेल्ने अवसर आए। त्यसपछि मैले आफ्नो पारिश्रमिकको दायरा आफै तय गर्दै लगेँ।

खुड्किला–खुड्किला गर्दै आफूलाई व्यावसायिक बनाउँदै लगेँ। चर्चित भएपछि पहिलो खुड्किलाबाट एकैपटक पाचौँ खुड्किला टेक्ने काम कहिल्यै गरिनँ। विस्तारै एक, दुई, तीन, चार गर्दै पाँचसम्म पुगेँ।

त्यतिबेला तपाईंको प्रतिस्पर्धी कोही नभएर सधैँ तपाईं नै चर्चामा आइरहेको कुरामा कत्तिको सत्यता छ?
यो कुरा म मान्दिनँ। म नामै लिन त चाहन्न। तर, मैले फिल्म खेल्दा हरेक पटक कुनै नयाँ कलाकारको उदय हुन्थ्यो। नयाँ कलाकार आउँदा केही मानिसहरुले ‘अब राजेशको दिन सकियो’ भन्नुहुन्थ्यो। तर, त्यतातिर मैले खासै ध्यान दिइनँ। कुनै नयाँ कलाकार आए पनि मैले उहाँहरुलाई सहयोग नै गरेँ सधैँ।

‘यो अग्लो भएर यसले खाइरहेको हो, अब यो भन्दा अग्लो हिरो आयो, यसको दिन गयो, यसले लामो कपाल पालेर हो, अब योभन्दा लामो कपालवाला आयो, यसको दिन गयो’ भन्ने कुराहरु सुनिराख्थेँ। तर, म सधै आफ्नो कर्म गर्दै अघि बढिरहेँ।

तपाईं एक दशक यति व्यस्त हुनुभयो कि, दैनिक १८ घन्टासम्म काम–काम भनेर हिँड्नुभयो। दशैँको अघिल्लो दिन पनि सुटिङमा र पछिल्लो दिन पनि सुटिङमै बिताउनुभयो। कसरी सक्नुहुन्थ्यो?
म सधैँ आफ्नो कामलाई प्रेम गर्छु। अर्को कुरा, मेरो प्यासन पनि थियो। एकै समयमा थुप्रै प्रोजेक्ट गर्नुपर्ने भएकाले समयको व्यवस्थापनमा म एकदमै ख्याल गर्थें। कसैसँग ‘कमिट्मेन्ट’ गरिसकेपछि पछि हट्न मेरो स्वभावले दिदैनथ्यो। अहिले फर्किएर हेर्दा त्यो ऊर्जा कहाँबाट आयो होला भन्ने पनि लाग्छ। सायद ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेको यही होला।

कहिलेकाहीँ आफू अलि बढी आत्मकेन्द्रित छुजस्तो लाग्दैन?
यो मेरो अनुशासन पनि हो। मेरो नेचर नै यस्तै छ जस्तो लाग्छ। जहाँ पायो त्यहाँ घुम्थेँ, खाने कुरामा म बढी सचेत थिएँ। मेरो खानपान, घुमफिर, व्यक्तिसँग घुलमिल हुने कुरामा आफ्नै तरिका थियो। गसिप बन्ने, कतै बसेर अरुको कुरा काट्ने मेरो स्वभाव छैन। बाहिरबाट हेर्दा म अरुसँग घुलमिल नभएको जस्तो देखिन सक्छु। तर, घुलमिल नभए पनि कसैप्रति नकारात्मक भावना भने राख्दिनँ। गुटबन्दी गर्ने काममा पनि कहिल्यै लागिनँ। म आफ्नो काममा केन्द्रित हुन्छु र आफ्नो जिम्मेवारी कसरी पुरा गर्ने भन्ने कुरामा ध्यान दिन्छु। अब यसलाई तपाईं मेरो स्वभाव भन्नुस्, व्यवहार भन्नुस् या अरु केही।

4 2

तपाईंलाई जीवनको कुनै कालखण्डमा ‘अब म फिल्म खेल्दिनँ’ भन्ने भावना आयो कि आएन?
आयो कहिलेकाहीँ। किनकि म पारिवारिक अन्तरविरोधका बीच यस क्षेत्रमा आएको थिएँ। तर, मलाई कलाले आफ्नो सभ्यता, परिवेश र जनसमुदायको नजिक ल्याउन सहयोग पुर्याइरहेको थियो। त्यसैले, कहिलेकाहीँ आकस्मिक भावना आएतापनि दर्शकको प्रेम र विश्वासले मलाई फिल्मभन्दा टाढा जान दिएन। यस्तो भावनालाई म पानी पर्दा आएको चट्याङ मान्छु। एकै पटक आउँछ, अनि गइहाल्छ। यस्तै भयो।

त्यतिबेला अहिलेजस्तो मोबाइलको जमाना थिएन। चिठ्ठीपत्रमार्फत् अन्तक्र्रिया हुन्थ्यो। तपाईंलाई आएका चिठ्ठीमध्ये जीवनकै अविष्मरणीय, मन–मुटु नै छुने, गहिरो भावना जोडिएको त्यस्तो कुनै पत्र याद छ?
दर्शकहरुले सुरुवाती दिनहरुमा हुलाकमार्फत् दिनकै ५० वटासम्म चिठ्ठी पठाउनुहुन्थ्यो। धेरै पत्र ‘नेपाली फिल्म नछाड्नुहोला है, फेरि भारततिर जानुहोला नि!’ भन्ने आशयका हुन्थे। कतिपय चिठ्ठीमा भावना, माया–प्रेमका कुराहरु पनि हुन्थे। त्यसैले, तपाईंले भनेजस्ता चिठ्ठीहरु आउदैनथे भनेर म भन्दिनँ। तर, त्यसलाई म गोप्य नै राख्न चाहन्छु। म त्यसलाई उहाँहरुको मप्रतिको निश्चल भावना सम्झन्छु। यसलाई मैले मजाकको रुपमा लिनु हुँदैन र आफ्नो इगोको रुपमा प्रयोग गर्नु पनि हुँदैन।

तपाईंलाई नचाउन पनि निकै सकस हुन्थ्यो भन्ने छ नि!
कोही एकदमै डान्सर हुन्छन्, संगीत सुन्नासाथ हाउभाउ मिलाएर नाच्छन्। कोही भने आत्माबाट नाच्छन्। म आत्माबाट नाच्नेमा पर्छु। अहिले तपाईंले यहाँ गीत बजाइदिनुभयो भने म उठेर हल्लिइहाल्छु। त्यसक्रममा स्टेप कसरी मिलाउनेभन्दा पनि भित्रदेखि नाच्न आउँछ। हेर्नेलाई मज्जा पनि आउँछ। तर, कुनै डाइरेक्टरले मलाई ‘यो गीतमा यही स्टेप चाहिन्छ’ भन्यो भने घन्टौँ लगाएर भए पनि म सिक्थेँ। मैले धेरै कठिन ‘डान्सिङ स्टेप’ पनि गरेको छु। ‘तिम्रो माया ९९ मेरो माया १००’ हेर्नुभयो भने त्यस फिल्ममा मैले निकै मेहनत गरेर डान्स गरेको छु।

सुटिङका क्रममा जोशमा आएर भिलेनलाई गोद्नुहुन्थ्यो र उसलाई साच्चिकै चोट लागे पनि ‘सरी’ भन्नुहुन्थेन भन्ने आरोपको खण्डन गर्न चाहनुहुन्छ?
यो गलत हो। म त्यति अमानवीय त छैन नि! सुटिङका क्रममा फाइट गर्दा भिलेन भन्दा जोखिममा म हुन्थेँ। किनकि, म एक्लो हुन्थेँ भने मसँग फाइट गर्ने १५–२० जना हुन्थे।

अर्को कुरा, फाइट गर्दा–गर्दा म पोख्त भइसकेको थिएँ। मानौँ, अहिले मलाई तपाईंसँग फाइट गर्नु पर्यो भने फिल्मी फाइट गर्छुजस्तो लाग्छ। अर्थात्, साच्चिँकै झगडा पर्यो भने पनि म मान्छेलाई नछोइकन लड्छु किजस्तो लाग्छ। हा..हा..हा..।

काम गर्ने क्रममा कतिपय अवस्थामा चोट लाग्थ्यो होला। तर, ‘सरी’ नै नभन्ने भने हुँदैनथ्यो। बरु कतिपय अवस्थामा मैले दिउँसै तारा देख्ने किक पनि भेटेको छु। एकपटक करातेँ फाइटरले घुमेर हानेको किक मेरो टाउकोमा नराम्रोसँग लागेको छ।

6 3

स्टारडमले व्यक्तिगत जीवनमा कत्तिको प्रभाव पार्दोरहेछ?
यो कुरा व्यक्तिमा भर पर्ने हो। फिल्मी क्षेत्रमा परिचित नहुँदा मैले आफ्नो जीवनलाई जुन हिसाबले लिन्थेँ, परिचित भएपछि पनि सोही हिसाबमा लिएँ। यस्तो हुँदा एउटा फाइदा चाहिँ के हुँदोरहेछ भने, स्टारडम भएपछि धेरैको प्रशंसा पाइँदारहेछ। र, ममा उहाँहरुको प्रतिक्रियाले सधै ऊर्जा, प्रेरणा थप्दै लग्यो।

यस क्षेत्रमा मैले गलत–सही जे गरे पनि परिवारबाट साथ दिने कोही थिएन। त्यसैले, धेरै शुभचिन्तकहरु कमाउनु मेरा लागि सही र गलत छुट्याउने एउटा आधार बन्यो। दैनिक १७–१८ घन्टा काम गर्ने जोश पनि यही कारणले आएको होला।

अभिनयका हिसाबले आफूलाई बलिउड महानायक अमिताभ बच्चनसँग कत्तिको दाँज्नुभयो?
म आफूलाई कसैसँग पनि दाज्दिनँ। मलाई फिल्म करियरमा कहिल्यै पनि भारतीय फिल्मको स्टारजस्तो बन्नुपर्छ भन्ने लागेन। मैले गर्ने पात्र, मेरो चरित्रबाट विशुद्ध नेपाल र नेपालीको प्रतिनिधित्व होस् भन्ने कुरामा म सधैँ सचेत रहेँ। तपाईंले पछाडि फर्किएर हेर्नुभयो भने मैले खेलेका अधिकांश चलचित्र आम नेपालीको जीवनसँग सम्बन्धित छन्। अर्को कुरा, मेरो अभिनय कहिल्यै दिमागबाट आएन, सधैँ मनबाट आयो। त्यही हो।

बेलाबेला ‘महानायक’ को विषयमा विवाद पनि हुने गर्छ। यस विषयलाई तपाईंले कसरी लिने गर्नुभएको छ?
म सामान्य रुपमा लिन्छु। सबैलाई म के आग्रह गर्न चाहन्छु भने, पहिले नेपाली चलचित्रको इतिहासलाई राम्रोसँग हेर्नुस् र फेरि त्यहाँ मलाई राखेर हेर्नुस्। अनि यसबारे निर्णय लिनुस्।

म दैनिक १७–१८ घन्टा व्यस्त हुनु भनेको नेपाली सिने क्षेत्रमा जनशक्ति उत्पादन हुनु पनि थियो। जसरी मेरो आगमनसँगै दोस्रो फिल्म कहिले आउँछ भन्ने अन्योल हट्यो, त्यसैगरी चलचित्र क्षेत्र पनि अगाडि बढ्दै गयो।

त्यसकारण मेरो आफ्नो प्रोफेसन र सिने क्षेत्रको व्यवसायिकता सँगसँगै अघि बढेको हो। म विशुद्ध दर्शकहरुले बनाएको कलाकार हो। उहाँहरुले नचाहेको भए आज यहाँ हुने थिइनँ। अब अरु कुराको मुल्याङ्कन गर्ने काम पनि दर्शकको नै हो।

राजेश हमालका विवादहरु बाहिर आएनन्, विवाद नै भएनन् या दबाइए?
मैले अघि पनि भनेँ, म आफूलाई एकदमै अनुशासित राख्छु। चर्चामा आउन नियोजित हिसाबले आफूलाई सञ्चालनमा ल्याउँदिनँ। मेरो आफ्नो चरित्र जे छ, म त्यही रुपमा प्रस्तुत हुन्छु। म आफूलाई मन लागेको कामहरु गर्छु। तर, नराम्रा वा नकारात्मक कुराबाट टाढै छु। मेरो प्रकृतिअनुसार चल्दा यस्तो हुनु स्वाभाविक हो।

तपाईंलाई स्टार बनाउनमा डायलगको भूमिका महत्वपूर्ण छ भन्ने कुरालाई स्वीकार्नुहुन्छ?
स्वीकार्छु। म सुरुसुरुमा फिल्म क्षेत्रमा आउँदा नेपालीको मुखमुखमा हिन्दी फिल्मका डायलगहरु झुन्डिएका हुन्थे। तर, जब मैले फिल्म खेल्न थालेँ, तब मानिसहरुले मेरो डायलगलाई ‘फलो’ गर्नुभयो। ‘देउता’ फिल्मको ‘शंकर हुँ म शंकर’ भन्ने डायलग चर्चामा आएको मेरो पहिलो डायलग हुनुपर्छ। त्यसपछि ‘पृथ्वी’ मा ‘साथीहरुका लागि यो हात सलाम हो, दुस्मनका लागि यो हात फलाम हो’ भन्ने डायलग चर्चित भयो। नेपाली दर्शकहरुले पनि विस्तारै नेपाली फिल्मका डायलगहरु भन्न थाल्नुभयो। निर्देशकहरुले पनि ‘राजेश हमाल फिल्ममा छ भने एउटा डायलग त बोलाउनु पर्छ है’ भन्न थाल्नुभयो।

‘हे’ त तपाईंको थेगो नै थियो, है!
यसको पनि आफ्नै कथा छ। नबुझ्नेलाई ‘हे’ किन भनिएको होला भन्ने लाग्न सक्छ। तर, बुझ्नेलाई ‘हे’ भनेपछि यहाँ अन्याय र अत्याचार छ भन्ने लाग्न सक्छ।

त्यसैले, म भन्ने गर्छु– मैले आम नेपाली जनसमुदायको मर्मलाई प्रतिनिधित्व गर्ने चलचित्रमा अभिनय गरेँ।

हुन त, त्यतिबेला चलचित्र नहेर्ने र नरुचाउने व्यक्ति पनि हुनुहुन्थ्यो। उहाँहरुलाई ‘हे’ डायलग अचम्म लाग्थ्यो होला वा त्यसमा खासै रुचि हुँदैनथ्यो होला। तर, जो एउटा प्रवाहमा बसेर भावनाका साथ हेर्नुहुन्थ्यो, उहाँहरुलाई यसले विशेष माने राख्थ्यो।

समग्रमा भन्नुपर्दा, यो अन्याय र अत्याचार, थिचोमिचोको सांकेतिक रुपमा विरोधको स्वरुप थियो, जसलाई आम मानिसले आफ्नो जीवनमा पनि प्रयोगमा ल्याउनुभयो।

फिल्मसँगै तपाईं राजनीतिमा पनि धेरै रुचि राख्नुहुन्छ। अब म राजनीतिको पनि नायक बन्छु भन्ने छ कि छैन?
हुन त, समाजका विभिन्न पृष्ठभूमिका मान्छे राजनीतिमा नजाने भन्ने हुँदैन। तर, मेरो मुख्य उद्देश्य मेरो जीवनको प्राथमिकतामा छ। एउटा व्यक्तिले आफ्नो जीवनको कालखण्ड कुन क्षेत्रमा बिताएको छ र कुन क्षेत्रमा सफलता हासिल गरेको छ, त्यसमै बाँकी समय व्यतित गर्दा आफैप्रति न्याय होला।

मलाई लाग्छ, राजनीति पनि यस्तो व्यक्तिबाट हुनुपर्छ, जो आफ्नो बाल्यकालदेखि राजनीतिको प्यासन लिएर अघि बढेको छ, संघर्ष गरेको छ।

हाम्रो देशमा राजनीतिक अस्थिरता छ, राजनीतिकर्मीप्रति मानिसहरुको असन्तुष्टि छ, यस्तो अवस्थामा अर्को व्यक्ति आएर केही हुन्छ कि भन्ने आशा हुनु स्वाभाविक हो। अर्को कुरा, यदि उसले आत्मादेखि नै कलाकारितालाई प्रेम गरेको छ भने ऊ कलाकारिता छाडेर अर्को फिल्डमा जान्छजस्तो मलाई लाग्दैन।

तर, कोही ‘मैले कलाकारितामा राम्रो काम गरेँ, सफलता प्राप्त गरेँ, अब म राजनीतिमार्फत् समाजसेवा गर्न चाहन्छु’ भनेर राम्रो ज्ञान हासिल गरेर राजनीतिमा लाग्नुहुन्छ भने राम्रो कुरा हो। तर, आफ्नो ‘पपुलारिटी’ लाई बेचेर सांसद बन्ने सपना बोकेर कोही आउँछ भने त्यो जति लज्जाबोध अरु के नै होला र?

त्यसो भए पछिल्लो समय तपाईं फिल्मभन्दा राजनीतिमा बढी चासो दिनुहुन्छ भन्ने कुरा भ्रम हो?
फिल्म मेरो प्यासन हो र राजनीतिमा म चासो राख्छु। आज राष्ट्रमा के भइरहेको छ भन्ने कुराले हरेकको जीवनशैलीमा प्रभाव पारिरहेको छ। यदि राजनीति राजनीतिजस्तो हुन्थ्यो भने तपाईं उपन्यास लेखेरमात्र बस्नुहुन्थ्यो, राजनीतिमा चासो दिनुहुँदैनथ्यो। तर, राजनीति राजनीतिजस्तो नभएको, ट्रयाकभन्दा बाहिर गएको अवस्थामा यसप्रति हरेक नागरिकको चासो हुनु स्वाभाविक हो।

भनेपछि तपाईं अब फिल्म निर्माण तथा निर्देशनमा लाग्नुहुन्छ?
सोच त्यही छ। सोच भएको धेरै भयो। तर, पछिल्लो समय अलि सक्रिय भएको छु। कथाको विषयमा पनि छलफल गरिरहेको छु। अब मैले चलचित्रमा आफ्नो योगदान पुर्याउने भनेको पहिलेजस्तो अभिनयमार्फत् नहुन सक्छ।

कसले कुनै चरित्रमा अभिनयका लागि अफर गर्नुहुन्छ, कसले कुनै चरित्रका लागि। अब मैले यस्ता चरित्रमा अभिनय गर्नु भनेको फिल्म गर्नका लागि मात्र हुन्छ। मेरो व्यक्तिगत सन्तुष्टि भन्दा पनि मेरा दर्शकलाई कसरी सन्तुष्ट बनाउने भन्ने मेरो ध्येय छ।

त्यसैले, आफैले निर्देशन गरेर वर्षमा एउटा राम्रो फिल्म बनाउन सकेँ भने नेपाली सिने क्षेत्रमा पनि केही योगदान पुर्याउन सक्छु किजस्तो लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .