अन्तर्वार्ता


बिहार पुगेपछि बुझेँ- कोसी उच्च बाँध किन बन्दैन (अन्तर्वार्ता)

नदीलाई जता पनि बटार्दिन सक्छौँ भन्ने मूढाग्रह नराखौं- राजेन्द्र दाहाल
बिहार पुगेपछि बुझेँ- कोसी उच्च बाँध किन बन्दैन (अन्तर्वार्ता)

नेपालखबर
साउन २८ , काठमाडौँ

सप्तकोसी नदीको एउटा भंगालो बुधबार बिहानै ४ बजेदेखि उदयपुर जिल्लास्थित बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै सिसौली टप्पु भएर चिलिया बस्तीमा पस्यो । अहिलेसम्म नगरपालिकाका १, , , ८ र ९ वडाका करिब १५ सय घरपरिवार विस्थापित बनेका छन् ।

बस्तीमा नदी पस्न थालेपछि हामीले काठमाडौंमा कोसी नदीको बहावबारे जानकारी राख्ने विज्ञको खोजी गर्यौं । यसक्रममा हामीले वरिष्ठ पत्रकार तथा सम्पादक राजेन्द्र दाहाललाई भेट्यौं।

देशान्तर साप्ताहिक हुँदै हिमाल पत्रिकाको सम्पादकत्व सम्हाल्दासम्म दाहालले कोसी नदीबारे विस्तृत अध्ययन र रिपोर्टिङको अनुभव सँगालेका छन् । उनले भारतमा समेत स्थलगत भ्रमण गरेर कोसी नदीको भौगोलिक अवस्थितिको अध्ययन गरेका छन् ।

हाल शिक्षक मासिकका सम्पादक रहेका दाहाल आफू ‘कोसी विज्ञ’ नभएको बताउँछन् । तर, आफूले विगतमा रिपोर्टिङका क्रममा अध्ययन गरेका कुराहरु भने उनले नेपालखबरसँग ‘सेयर’ गरेका छन् ।

कोसी नदीको अध्ययन गर्न भारतको बिहारमा पुगेका बेला आफूले कोसी उच्चबाँध किन नबनेको रहेछ भन्ने रहस्य बुझेको दाहालले नेपालखबरलाई सुनाए ।

पत्रकारहरुले प्राकृतिक प्रकोपका बारेमा रिपोर्टिङ गर्दा एकतर्फी रुपमा नदी र प्रकृतिलाई गाली गर्न नहुने वरिष्ठ पत्रकार दाहालको सुझाव छ ।

पत्रकारलाई सुझाव दिँदै दाहाल भन्छन्, ‘हामी पत्रकारहरुले प्रकृति बुझेर रिपोर्टिङ गर्नुपर्छ। पीडितप्रति मात्र एकोहोरो सहानुभूति पैदा गर्ने र दोषजति प्रकृतिमा थुपारिदिने कामले थप पीडित जन्माउन मद्दत गर्छ। मान्छेको केही पनि दोष रहेन छ, सबै दोष डाँडाको, खोलाको, पहिरोको रहेछ भन्ने ढंगले फेरि पनि मान्छेलाई बाढी पहिरोतिर हुत्याउन प्रेरित गर्ने काम हामी पत्रकारले कदापि गर्नुहुँदैन।’

प्रस्तुत छ वरिष्ठ पत्रकार दाहालसँग ‘कोसी समस्या’ मा केन्द्रित रहेर नेपालखबरकर्मी जेबी पुन मगर र केशव सावदले गरेको कुराकानी–

यहाँले कोसीको समस्याबारे गहिरो खोज, अनुसन्धान र रिपोर्टिङ गर्नुभएको छ। कोसी नदीको बहावले कहिले–कहिले धार परिवर्तन गरेको पाउनुभयो?
जहिलेबाट कोसीको अध्ययन हुन थाल्यो, जहिलेदेखि मान्छेले कोसीको अध्ययन गरेर रेकर्ड राखे, त्यससम्बन्धी स्मरण लेखे, अथवा जसले कोसीलाई गाली गरेर दुखेसो पोखेर केही लेखे, यी कुरा हामीले पुरानो साहित्यबाट थाहा पाउने हो।

तर, धेरै पुरानो साहित्य पाइँदैन। हाम्रा धार्मिक ग्रन्थहरूमा नदीलाई गाली गरेको, नदीले दुःख दिएको अथवा धार परिवर्तन गरेर मेरो धन–सम्पत्ति क्षति गर्यो भनेर निन्दा गरेको पाइँदैन। हाम्रा पुर्खाले नदीलाई पूजा गर्थे। नदीलाई कतिले आमा भन्थे। अन्नदाता भन्थे। त्यसरी हेर्थे। गाली गरेको, निन्दा गरेको पाइँदैन।

पहिल्ला रेकर्डहरूमा कोसी नदी धेरै नाचिरहँदो रहेछ। खासगरी भारतको बिहारमा बस्ने मानिसहरूलाई मान्छेहरूलाई दुःख दिँदोरहेछ। मैले भेटेको पुरानो डकुमेन्टमा सन् १७९२ तिर केही युरोपियनले कोसी नदी नाच्दोरहेछ, यसलाई तह लगाउनुपर्नेरहेछ भनेर कुरा गरेको पाइयो।

त्यसपछि पटक–पटक एकपछि अर्का अंग्रेजले, युरोपियनले, फ्रेन्चहरूले अध्ययन गर्दै गएको र १८९० को दशकमा विस्तृत रूपमा कोसीलाई निश्चित बाटोमा मात्रै डोर्याउने भनेर अध्ययन गरेको फेला पारेको छु।

त्यो अध्ययनको क्रम निरन्तर जारी रह्यो। १९३० को दशकमा आउँदा अंग्रेजले भारतमा रहँदा कोसीलाई कसरी निश्चित बाटोमा मात्रै डोर्याउन सकिन्छ भनेर बजेट छुट्याएको पाइएको छ।

सन् १९३० को दशकमा अमेरिकामा अग्ला–अग्ला बाँध बाँधिसकिएका थिए। अग्ला–अग्ला बाँध बाँधेर अनुभव हासिल गरेका अमेरिकी कम्पनीहरूलाई संसारका अन्य राष्ट्रमा पनि बाँध बाँधेर आफ्नो व्यवसाय विस्तार गर्नु थियो। उनीहरू भारतमा पनि आइरहेका थिए। भारतभित्र पनि थुप्रै अध्ययन गर्दै थिए। त्यसमध्ये नेपालमा पनि कोसीको अध्ययन गरे।

सन् १९४०–४२ देखि १९४५ तिर पूरा भएको पहिलो अध्ययनले कोसीमा अग्लो बाँध बाँधेर, बाढीको पानी थुनेर एकातिर बाढी नियन्त्रण गर्ने, बाढीबाट बिहारलाई बचाउने र अर्कातिर त्यो पानी लगेर सिँचाइ गरेर कृषि उत्पादन बढाउने अंग्रेजहरूको योजना थियो। पहिलो कोसी उच्च बाँधको अध्ययन र रूपरेखा १९४० को दशकमा पूरा भयो। 

त्यो अध्ययन अंग्रेज र भारतीयले मात्रै गरेनन्। त्यसमा नेपाली प्राविधिक र कर्मचारी पनि संलग्न थिए। त्यतिबेला नेपालमा राणा शासन थियो। त्यही हो– कोसी उच्च बाँधको अवधारणा। त्यहीँदेखि निरन्तर आइराखेको छ।

यसबीच मैले थाहा पाएअनुसार १९४५–४६ तिर यो उच्च बाँध निर्माण सुरु हुनुपर्ने थियो। तर, भारतसँग त्यो आर्थिक क्षमता मजबुत थिएन।
एकातिर आर्थिक क्षमता, अर्कातिर बिहार र दिल्लीबीच स्रोत बाँडफाँटमा कुरा नमिल्दा कोसी उच्च बाँध प्राथमिकतामा परेन। अथवा यसमा धेरै पैसा लाग्ने भयो। त्यत्रो पैसा छैन, थोरै पैसा छ भनेर पन्जाबतिर डाइभर्ट भयो। भाख्रा ड्याम (बाँध) बनाइएको भारतीय इतिहास पाइन्छ। त्यहाँबाट कोसी उच्च बाँध अलपत्र पर्यो। भारतीयले पनि बनाउन सकेनन्। खाका बनाए, बाँध बनाउन सकेनन्।

सन् १९५३ मा धेरै ठूलो बाढी आयो कोसीमा। धेरै ठूलो विनास भयो। त्योबेला भारतमा नेहरू (जवाहरलाल) प्रधानमन्त्री थिए। उनले बाढीको हवाई निरीक्षण गरे। जम्मै भूभाग जलमग्न देखे। धेरै लाख मान्छेको मृत्यु भयो। बिहारमा धेरै लाख मान्छेको मृत्यु हुनु भनेको त्यसको आर्थिक र राजनीतिक मूल्य त निकै महँगो थियो।

त्यसकारण नेहरूले उच्च बाँधको कुरा पन्छाएर भारतको लोकसभामा कोसीलाई दुईतिरबाट तटबन्ध गर्ने घोषणा गरे। उच्च बाँध बाँध्ने सामर्थ्य भारतको थिएन। तर, बाढी रोक्न कोसीलाई दुईतिरबाट तटबन्ध बाँध्ने भनियो।

तटबन्ध बाँधेर मात्रै हुनेवाला थिएन। त्यसलाई कुनै एक बिन्दुमा ब्यारेज पनि बाँध्नुपर्ने आवश्यकता महसुस गरियो। भारतमा भोकमरी छ। कृषि उत्पादन पनि बढाउनु छ। त्यसकारण सिँचाइ र तटबन्ध गर्न नेपालको सीमानामा ल्याएर भारतले कोसी ब्यारेज बाँध्यो।
त्यसमा नेपालले धेरै केही गर्न सकेन। किनभने नेपालको प्राथमिकता बनाउने हो भने माथि नै बनाऔँ भन्ने थियो। तर, पैसा थिएन। नेपालले पैसा हाल्ने कुरो पनि थिएन। भारतले कोसी ब्यारेज बनायो। कोसीमा दुईवटा पूर्वी र पश्चिमी नहर बने। त्यसबाट कोसीको पानी दुईवटा नहरमा बगाइयो।

भरतले ब्यारेजदेखि गंगा नदीसम्म दुवै किनारामा तटबन्ध बाँधेर गयो। एउटा तटबन्ध १२० किलोमिटर लामो छ भने अर्को १२५ किलोमिटर।
तटबन्ध बाँधेपछि धेरै हदसम्म भारतका गाउँ सुरक्षित छन्। किनभने तटबन्धनका कारण कोसी नदी दायाँ–बायाँ नाचेर बग्न पाएन। त्यहाँ समस्या त छन्। १०औं लाख मानिस तटबन्धनभित्र पर्ने जमिनमै बसिराखेका छन्। सुरक्षा व्यवस्था त्यो आफ्नो ठाउँमा छ। सिँचाइले सोचेअनुसार फाइदा दिएको छैन। किनभने कोसीको बालुवा गएर जमिन पुरिएको छ।

अहिले नेपालतर्फ पनि कोसीका दायाँबायाँ त्यत्तिकै बस्ती छ। घना आवादी छ। कोसीले दायाँबायाँ गर्दा नेपाललाई पनि क्षति हुन्छ। नेपालको पनि सबैभन्दा पहिला चासोको विषय हुन्छ। बिहार डुब्नुभन्दा पहिला नेपाल नै डुब्छ।

तर, हामीले जति चासो देखाए पनि कोसी ब्यारेजको गेट खोल्नु पर्दा भारतीय अधिकारीसँगै चाबी हुन्छ। तटबन्ध कहीँ टुट्यो, फुट्यो भने बनाउने दायित्व र अधिकार सबै भारतीय अधिकारीकै हुन्छ। त्यो उनीहरूको काम हो। नेपालको काम पनि होइन, नेपालसँग त्यो अधिकार पनि छैन। नेपालले उनीहरूलाई भन्ने मात्रै हो, त्यो पाटोमा।

नदी त आफ्नो बाटोमा बग्ने हो। त्यसमाथि पनि कोसी अरू नदीभन्दा विशिष्ट नदी हो। कोसीभन्दा बढी सिल्ट (चट्टान र खनिज मिसिएर बनेका बालुवाका कण)  ओसार्ने अथवा धमिलो बग्ने नदी चीनको यल्लो रिभर भन्ने ह्वाङहो नदी हो। माटो, गेग्रानलगायतका वस्तु सबैभन्दा बढी ओसारिने नदीमा कोसी संसारकै दोस्रो नदी भनिन्छ।

त्यति धेरै सिल्ट ल्याउने कोसी माथितिर भिरालो ठाउँमा बग्ने भएकाले पानीको करेन्ट (शक्ति) धेरै हुन्छ। थेरै पानीले पनि धेरै ढुंगामुढा, बालुवा–गिट्टी बगाइदिन्छ। तर, मैदानी भूभागमा पुगेपछि त उसको क्षमता घट्छ। पानीको बेग घट्छ। यसले सिल्ट बगाउन सक्दैन। त्यो त्यहीँ थुप्रिन्छ। त्यही सिल्टले नै पानीको बहाव कहिले एकातिर मोड्छ भने कहिले अर्कातिर। त्यसकारण माथि एउटै भएको नदी मैदानी भागमा पुगेपछि धेरैवटा धारमा बाँडिएर बग्छ।

अहिले समाचार आइरहेका छन्– कोसीमा बाढी आएर बेलका (उदयपुर) तिर पानी पसेको हो वा कुनै एउटा धार पूर्वतिरबाट बगिरहेको थियो, पश्चिमतिर सर्यो। धार ठूलो भएका कारण त्यस्तो भएको हो। यो कुरा विस्तृत रूपमा जानकारी त छैन। बाटो परिवर्तन गरिराख्ने नदीको आधारभूत चरित्र हो।

कोसी ब्यारेज निर्माणकै बेलादेखिका पीडितहरू छन् भनिन्छ। बेलाबेला आउने बाढीबाट पनि कैयौं नेपाली नागरिक पीडित छन्। उनीहरूको अवस्था के–कस्तो पाउनुभएको छ?
यसमा दुईवटा कुरा छन्। कोसी प्रोजेक्ट बनाइसकेपछि, हजारौँ बिगाह जमिन अधिग्रहण गरिसकेपछि त्यहाँ बसोबास गर्ने अथवा त्यहाँबाट जीवन निर्वाह गरेका मानिस विस्थापित हुनु स्वाभाविक हो। तीमध्ये कैयौंलाई दुवै देशका सरकारले आआफ्ना नागरिकलाई पुनर्वास गराए, क्षतिपूर्ति दिए। तर, कतिले पाएनन् होला। कतिको क्षतिपूर्ति टाठाबाठाले खाइदिए होलान्। त्यसकारण पहिलादेखि नै कोसी बाढीपीडित, कोसी आयोजना पीडितको इस्यु सधैँ हुँदै आएको छ।

यहाँ अर्को के कुरा पनि विचार गर्नुपर्छ भने आयोजना, बाढी–प्रकोप सबैथोक देख्दा पीडित भनिन्छ। तर, कहिलेकाहीँ मान्छेलाई त्यो अवसर पनि हो। यस्तै अवसर (निहुँ) मा बजेट निकासा हुन्छ, त्यो बेला म बाढीपीडित किन नभइदिने त? म बाढीपीडितजस्तो किन नदेखिने? म ऐलानी जग्गामा खेतीपाती र घर बनाएर बसेको छु, बाढी आयो, म पीडित त भएँ।

कोसी आयोजना बनाउँदा विभिन्न किसिमले जग्गा वर्गीकरण गरिएको छ। यो आयोजना क्षेत्र, यो डुबान क्षेत्र भनेर। डुबान क्षेत्र सधैँ डुबानमा पर्दैन। त्यहाँ खेतीपाती त गर्न मिल्छ, तर बसोबास गरेर बस्न मिल्दैन।

तर, पछिल्लो कालखण्डमा अनियन्त्रित रूपमा जसरी सहरीकरण भयो, जुन प्रकारले बस्ती विकास भए, त्यसले पीडितको संख्या ठूलो भएर गयो। प्रभावितको संख्या ठूलो हुँदै गएको छ।   

कोसी नदीको बाढीले नेपाली भूभागमा बढी असर पुर्याउँछ कि भारतीय भूमिमा? अर्थात् कोसीबाट नेपाली नागरिक बढी पीडित छन् कि भारतीय?
अनुपातमा भन्नुपर्छ। भारत अथवा बिहार राज्यसँग तुलना गर्दा हाम्रो भूभाग नै थोरै छ। हाम्रो जनसंख्या नै थोरै छ। हामी सबै कुरामा थोरै छौं। त्यसकारण संख्यामा कुरा गर्दा हाम्रो क्षति थोरै र भारतको क्षति धेरै हुन्छ।

२०६५ सालमा सुनसरीतर्फ तटबन्ध फुट्दा हामीकहाँ जनको क्षति सायद एक–दुईजना भयो कि? नभए भएन । तर, धनको क्षति भयो। भारतमा केही सय मान्छे मरे अथवा बगे। हामीकहाँ एक भयो भने उनीहरूकोमा १० हुन्छ। किनभने उसको भूभाग नै ठूलो छ, आवाद नै ठूलो छ। तर, थोरै हुनेलाई पनि त्यति हुँदा मर्का त ठूलै पर्छ।  त्यसकारण अनुपातमा हेर्दा भारतलाई पनि उत्तिकै क्षति हुन्छ, नेपाललाई पनि उत्तिकै पर्छ।  

कोसी नदीको बाढीले बर्सेनि पुर्याउने क्षतिको समाधान के देख्नुहुन्छ?
बाढीको क्षतिको समाधानबारे कोसीले क्षति कहाँ गरेको छ, त्यो क्षति हेरेर मात्रै कुरा गर्नुपर्ने हुन्छ। बाढीले पुर्याउने क्षतिको समाधान भनेको पहिलो कुरा जनचेतना नै हो। दोस्रो कुरा पूर्वसतर्कता हो। नदीमा आउने बाढी, धार परिवर्तनबारे पहिले नै तटीय क्षेत्रका जनतालाई जानकारी दिनुपर्छ।

पूर्वसूचना दिँदा धनको क्षति होला, तर जनको क्षति हुन पाउँदैन। धनको पनि क्षति हुन नदिन भेल पस्नै नसक्ने गरी तटबन्ध बनाउन सकिन्छ। तटबन्ध बनाएर भेल पस्न नसक्ने पार्न सम्भव नभएको, किफायती नभएको क्षेत्रमा बसोबास गर्न नदिने, निर्माण गर्न नदिनेजस्ता उपाय अवलम्बन गर्नुपर्छ। तटबन्ध गर्न सम्भव वा किफायती नभएका क्षेत्रमा बसोबास गर्न दिइएन र खेतीपाती मात्र गर्न दिइयो भने क्षति कम हुन्छ।
तर, समग्रमा नदीको प्रकृति के हो, त्यो बुझ्नुपर्छ। नदीको यथार्थतालाई मान्यता दिनुपर्छ। मान्छेले मूढाग्रह राख्नुहुँदैन। नदीलाई हामी जता पनि बटार्दिन सक्छौँ, सरकारले चाह्यो भने जे पनि गर्न सक्छ, सरकारले नगरिदिएर मात्रै हो भन्ने मूढाग्रह राख्नुहुँदैन। यसका लागि चेतना र शिक्षा पनि उत्तिकै जरुरी छ।

प्राकृतिक विपत्तिका बेला पत्रकारले चाहिँ कसरी रिपोर्टिङ गर्नुपर्छ?
प्राकृतिक विपतको रिपोर्टिङबारे म धेरै विज्ञ त होइन। तर, प्राकृतिक विपत्तिको रिपोर्टिङ गर्ने पत्रकारले सबैभन्दा पहिला प्रकृति बुझेको हुनुपर्छ। प्रकृति नबुझीकन प्राकृतिक कुरा गर्न पाइँदैन। प्राकृतिक भनेको के? प्रकृतिको भनेको हो नि! त्यसकारण प्रकृति बुझ्नुपर्यो।
त्यसपछि विपद्को कुरा। कुन विपद हो, कुन होइन। मान्छे आफू असुरक्षित तवरमा जान्छ। असुरक्षित ठाउँमा अथवा बनाउनै नहुने ठाउँमा घर बनाउँछ। तर, विपद् पर्दा प्रकृतिलाई दोष दिन्छ भने रिपोर्टरले प्रकृति यस्तो हो, यहाँ मान्छेको व्यवहार यस्तो हो भनेर दुवै कुरा छर्लङ्ग पारिदिनुपर्छ।

प्रकृति हामीसँग प्रतिवाद गर्न आउँदैन। पत्रकारले जम्मै दोष प्रकृतिको थाप्लोमा थोपरेर पीडितप्रति सहानुभूति दर्शाउनु हुँदैन। यसो गर्नु भनेको छट्टु काइदा मात्र हो। त्यसो गर्नु हुँदैन। किनभने जम्मै प्रकृति मात्रै दोषी हुँदैन। मान्छेको अज्ञानता, ढिटपन, मूढाग्रह प्राकृतिक विपत्तिको कारक हुन्छ। हामी पत्रकारले प्रकृति बुझेर रिपोर्टिङ गर्नुपर्छ। पीडितप्रति मात्र एकोहोरो सहानुभूति पैदा गर्ने र दोषजति प्रकृतिमा थुपारिदिने कामले थप पीडित जन्माउन मद्दत गर्छ।

मान्छेको त केही पनि दोष रहेन छ नि! सबै दोष डाँडाको, खोलाको, पहिरोको रहेछ भन्ने ढंगले फेरि पनि मान्छेलाई पहिरोतिर हुत्याउने, बाढी आउने ठाउँतिरै हुत्याउन प्रेरित गर्ने काम हामी पत्रकारले कदापि गर्नु हुँदैन। मान्छेका कारण आपतविपद् परेको छ भने हामीले त्यो कुरा पनि उजागर गरिदिनुपर्छ।

कोसी नदीको रिपोर्टिङ गर्दाका बखतका यहाँका अनुभव के–कस्ता रहे?
कोसीबारे मात्रै होइन, मैले त्योभन्दा अगाडि अन्य नदीहरू, पानीका अरू मुद्दाहरू, खासगरी जलविद्यतु, सिँचाइका केसहरू धेरै रिपोर्टिङ गरिसकेपछि कोसीको पनि अध्ययन गर्ने अवसर पाएको हुँ।

म कुर्सेलादेखि तटबन्धै तटबन्ध भएर तीन दिन लगाएर चतरासम्म निस्किएँ। त्यसबीच कोसीको बाढी, तटबन्ध र कोसी नहरबारे भारतीयको दृष्टिकोण के रहेछ? त्यहाँका पीडित कसरी संगठित भएका रहेछन्? तिनका मुद्दा के रहेछन्? तिनको अवस्था कस्तो रहेछ? अध्ययन गरेको छु।

उक्त अध्ययन यात्रामा जानु अघिसम्म म के ठान्थेँ भने कोसी ब्यारेजमा गएर हेर्यो, पूरै कोसी नदी ह्वार्रै वीरपुरतिर पूर्वी नहरमा बगेको अथवा पश्चिमी नहरमा बगेको देख्थेँ मैले। अहो! जम्मै पानी त भारतले लगिराखेको रहेछ, कोसीमा कत्रो फाइदा लिएको हो, सब देख्थेँ।
भारतले त नेपाललाई ठगेको हो, केही पनि दिएको देखिँदैन। माथि चतरा नहरमा मुस्किलले अलिअलि पानी देखिन्थ्यो। त्यो पनि ब्यारेज नै थिएन त्यतिखेर।

तर, जब मैले बिहार भ्रमणका क्रममा त्यहाँको अवस्था देखिसकेपछि नेपाली भन्दा बिहारका जनता धेरै भाग्यमानी रहेनछन्, कैयौं सन्दर्भमा उनीहरू नेपालीभन्दा बढी दुःखी रहेछन् भन्ने थाहा पाएँ। ठाउँठाउँमा कोसी संघर्ष वाहिनी, कोसी संघर्ष समितिका अफिस भेट्दै गएँ।

किन तिमीहरूले यस्तो गरेको भन्दा हाई ड्याम (उच्च बाँध) कहिल्यै बन्नु हुँदैन भनेर नेपाली भेट्नेबित्तिकै भाषण दिन थाल्थे। पर्चाहरू दिन्थे। हामी ३० वर्ष, ४० वर्षदेखि संघर्ष गरिराखेका छौँ भन्थे। कोसी हाई ड्याम कहिल्यै बन्नु हुँदैन भन्थे। किन भनेर सोध्दा– तटबन्ध बाँधेर त हाम्रो यस्तो बेहाल भयो, त्यो ब्यारेज बनाएर यो बेहाल भयो। अब हाई ड्याम बनायो भने हामी कहाँ भाग्ने? हामी भाग्ने ठाउँ पनि रहँदैन। कहीँ पनि भाग्ने ठाउँ छैन। भोलि हाई ड्याममा तलमाथि केही भयो भने के हुन्छ? सानो तटबन्ध फुट्दा त तवाह मच्चिन्छ भने हाई ड्याम फुट्दा के हुन्छ? त्यसकारण हामीलाई यो चाहिँदैन भनेर संघर्ष गरिरहेको देखेँ।

नेपालमा छैन यस्तो। कोसीमा संगठित विद्रोह, संगठित विरोधको भावना नेपालमा छैन। भारतमा छ। उग्र छ त्यहाँ। संघर्ष वाहिनीहरू छन्। उनीहरूले पर्चा–पम्पलेट, किताब निकालेका छन्। त्यो देख्दै आएपछि कोसी उच्च बाँध किन नबन्दोरहेछ भन्ने बुझेँ। वास्तविकता बिहार पुगेर थाहा पाएँ।

नेपालतिर हेर्दा हामीलाई जति कोसीपीडित इत्यादि जति धेरै लाग्थ्यो, त्यति धेरै लाग्दो रहेनछ। उता गएपछि त्योभन्दा त दसौं गुणा बढी पीडित पाइँदो रहेछ भन्ने थाहा भयो।

अर्को कुरा, जुन भौतिक संरचनाहरूलाई हामीले समाधानका रूपमा प्रस्तुत गर्छौँ, जुन देखाइन्छ। सबै कुराको समाधान भौतिक रूपमा छैन। इन्जिनियरिङले सबै समाधान दिन सक्दैन। इन्जिनियरिङले कोसी ब्यारेज बनाएर दुईतिर पानी डाइभर्ट गरेर सिँचाइका लागि पानी पुर्याइदियो। सम्भव नभएको ठाउँमा सम्भव तुल्याइदियो। तर, त्यो ब्यारेजले कोसी नदीले बगाएर ल्याउने सिल्ट त्यहीँ राखिदियो। बिस्तारै जम्दै–जम्दै गयो। ५०औं वर्ष भयो। 

परिणाम के भयो भने करिब २० वर्षअगाडि (२० वर्षअघिको आँकडा मात्र मसँग छ। पछिल्लो समय कसैले अध्ययन गरेको मलाई थाहा छैन) डा. आनन्दबहादुर थापाले गरेको अध्ययनले ब्यारेजभन्दा उत्तरको भूभाग ३२ किलोमिटर टाढा डाँडाको फेदसम्म सिल्ट जम्दा जम्दा १६ फिटसम्म अग्लो बनाएको देखाएको छ।

भिडिओ- 

साउन १९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad