ad ad

अन्तर्वार्ता


‘एकीकृत समाजवादीको काँधमा चढेर कांग्रेस र माओवादी बलियो हुन खोजे’ (अन्तर्वार्ता)

तत्काल बाम गठबन्धन हुने सम्भावना कम छ : गरिमा शाह
‘एकीकृत समाजवादीको काँधमा चढेर कांग्रेस र माओवादी बलियो हुन खोजे’ (अन्तर्वार्ता)

गोकुल जोशी
जेठ १७, २०७९ मंगलबार १०:३९, काठमाडौँ

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभामा १४ सांसदसहित सबैभन्दा ठूलो दल हो । तर, पहिलोपटक स्थानीय तह निर्वाचनमा सहभागी भएको यो पार्टी सुदूरपश्चिम प्रदेशमा कमजोर देखियो ।

कुल ८८ स्थानीय तहमध्ये एकीकृत समाजवादीले २ पालिका मात्रै जितेको छ । जबकि नेपाली कांग्रेस र माओवादी केन्द्रसँग तालमेल गरेर एकीकृत समाजवादी चुनावमा सहभागी भएको थियो । यस प्रदेशमा एकीकृत समाजवादीको प्रभाव राम्रै मानिन्थ्यो ।

गठबन्धनको भागबण्डामा आफूले पाएका पालिका पनि एकीकृत समाजवादीले जित्न सकेन । सुदूरपश्चिममा जितेको सिट संख्याका आधारमा हेर्दा जेलमा रहेका रेशम चौधरीले तीन महिना अगाडि दर्ता गरेको नागरिक उन्मुक्ति पार्टी भन्दा पनि एकीकृत समाजवादी पछाडि परेको छ ।

गठबन्धनबाट धोका भएको भन्दै नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमका नेताहरु कांग्रेस र माओवादीसँग असन्तुष्ट छन् ।

यसै सन्दर्भमा स्थानीय निर्वाचनको परिणाम, भावी योजना लगायत विषयमा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी सुदूरपश्चिम प्रदेश इञ्चार्ज गरिमा शाहसँग नेपालखबरले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

नेकपा एकीकृत समाजवादीले स्थानीय तह चुनावको नतिजालाई कसरी लिएको छ ?
सुदूरपश्चिमको नतिजा अप्रत्याशित छ । यस्तो परिणामको अपेक्षा गरेका थिएनौँ । नतिजा यस्तो किन भयो भनेर मसिनो गरी समीक्षा गर्न आवश्यक छ ।

प्रदेश सभामा सबैभन्दा ठूलो दल स्थानीय तहमा यति कमजोर किन देखियो ?
गठबन्धनमा इमान्दारिता देखिएन, ठूला हुँ भन्ने दलबाट जति सहयोग हुनुपर्थ्यो त्यो हुन सकेन भन्ने प्रारम्भिक ठहर हो । गठबन्धनमा रहेका दलमध्ये एउटालाई १९ हजार मत आउँछ, हामीलाई ९ हजार आउँछ भने त्यहाँ गठबन्धनले सहयोग गर्‍यो त ? गरेन ।

कतिपय पालिका प्रमुख–उपप्रमुखमा गठबन्धन भए पनि वडामा गठबन्धन भएन । सहमतिअनुसार गठबन्धन हुन्छ भन्नेमा हामी विश्वस्त रह्यौँ र सहमतिअनुसार इमान्दारितापूर्वक अगाडि बढ्ने प्रयत्न गर्‍यौँ । तर, गठबन्धनमा रहेका दलहरुले प्रतिवद्धता पूरा गरेनन् । जसका कारण सबै वडामा उम्मेदवार दिन सकेनौँ ।

एमालेबाट विद्रोह गरेर जन्मिएको पार्टी एकीकृत समाजवादीले सबै ठाउँमा संगठन निर्माण गर्न सकेको थिएन । समय कम हुँदा जनताको माझमा गएर एजेण्डा भन्ने, कमिटी गठन गर्ने र जनपरिचालन गर्न सकेनौँ । छोटो समयको तयारीमा चुनावमा होमिनु परेकाले पनि नतिजा सोचेजस्तो नभएको हो । मतदाता शिक्षामा पनि चुक्यौँ । धेरै मत बदर हुँदा पनि हार व्यहोर्नु परेको छ ।

तीन दलीय गठबन्धन भएको बझाङमा बेइमानी भयो । थलारा र तलकोटमा सहमति कार्यान्वयन हुन सकेन । कञ्चनपुरमा माओवादी र समाजवादीबीच गठबन्धन भएको थियो, तर मनोनय गर्दा समझदारी उल्लंघन गर्ने काम भयो ।

अरु पार्टीका प्रमुख भएको ठाउँमा हामीले जिताउनुपर्ने, हामीले प्रमुख पाएको ठाउँमा स्वतन्त्र उठाउने लगायत असहयोग गर्ने प्रवृत्ति देखिए । यसका साथै कमी कमजोरी चौतर्फी भएका हुन सक्छन्, ती कमीकमजोरीका बारेमा हामी निर्मम ढङ्गले समीक्षा गर्छौँ ।

गठबन्धनबाट असहयोग भयो भन्नुभयो, यस्तो अवस्थामा अब गठबन्धन कसरी टिक्ला ? अब तपाईहरु कसरी अगाडि बढ्नुहुन्छ ?
यो गठबन्धन राष्ट्रिय आवश्यकता अनुसार बनेको हो । कम्युनिष्ट, लोकतन्त्रवादी भन्ने सबै दलहरु मिलेर गणतन्त्र ल्यायौँ, यसलाई संस्थागत गर्न सबै मिलेर संविधानसभाबाट संविधान पनि निर्माण गर्‍यौँ । यो साझा दस्तावेजलाई पालना गर्ने र प्राप्त गरेका उपलब्धिहरुलाई संस्थागत गर्ने हाम्रो कर्तव्य थियो । सँगसँगै आर्थिक क्रान्ति गर्दै परनिर्भर अर्थतन्त्रलाई क्रमशः स्वावलम्बन बनाउने दिशातर्फ अगाडि बढ्ने भनेका थियौँ ।

यसका लागि हामी मिलेर अगाडि बढ्नुपर्ने थियो । तर, झण्डै दुई तिहाइ प्राप्त दलले संविधानलाई मास्ने, प्रतिनिधि सभा विघटन गर्ने काम गर्‍यो । यसले देशमा राजनीतिक अस्थिरता बढ्छ, प्राप्त गरेका उपलब्धि संस्थागत हुँदैनन्, देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले फेरी शिर उठाउँछन् भनेर यस्तो गर्नुहुँदैन भनेर आन्दोलन गर्‍यौँ ।

सर्वोच्च अदालतमार्फत प्रतिनिधि सभा पुनःस्थापना गर्न सफल भए पनि संविधानको कार्यान्वयन नहुने, पालना नहुने, राजनीतिक अस्थिरता निम्त्याउने खतरा रहिरह्यो । त्यसकारण हामीले आफ्नै रगत पसिनाले सिँचित गरेको पार्टीबाट विद्रोह गर्नुपर्‍यो । र, संविधानको पालना गर्ने शक्ति एक ठाउँमा उभियौँ ।

यसरी गठबन्धन बनिरहँदा संविधान पालना गर्ने शक्तिलाई बलियो बनाउने सबै राजनीतिक दलको कर्तव्य थियो । तर, केही राजनीतिक दलहरुले हाम्रो काँधमाथि चढेर आफू बलियो हुने काम मात्र गरे कि भन्ने हामीलाई आशंका छ । तर, पनि राजनीतिमा एउटै घटनाले सबै कुराको छिनोफानो हुदैन । यो विषयमा प्रदेश र केन्द्र कमिटीमा छलफल गर्छौँ ।

संविधानको पालना गर्ने र गणतन्त्रको रक्षा गर्ने दायित्व अझै पनि सकिएको छैन । अझै पनि हामी राजनीतिक रुपमा संकटमा छौँ, त्यस कारण स्थानीय तहको निर्वाचनमा हामीलाई कति घाटा भयो, कति धोका भयो भन्ने कुरालाई थाती राखेर गठबन्धनलाई अगाडि लैजान पनि सक्छौँ ।

तर, यसको स्वीकारोक्ति हामीलाई मात्रै भएर भएन, गठबन्धनका साझेदार दललाई पनि हुनुपर्‍यो । उहाँहरुको प्रतिक्रिया आउन बाँकी छ । दलभित्र समीक्षा गरेर प्रतिक्रिया आउँला, हामी पनि समीक्षा गरेर भावी दिनमा कसरी अगाडि बढ्ने भनेर ठोस निर्णय गर्छौँ ।

व्यक्तिगतरुपमा भन्नु पर्दा अहिले पनि गठबन्धनको आवश्यकता र औचित्य समाप्त भएको छैन । संविधान अझै पनि सुरक्षित छैन, देशी विदेशी प्रतिक्रियावादी शक्तिले नेपाल कसरी अस्थिरता निम्त्याउन सकिन्छ भनेर प्रयत्न गरिरहेका छन् । त्यसलाई असफल पार्नु हामी सबैको दायित्व हो । यसका लागि मिलेर अगाडि बढ्नुपर्छ । तर, एउटैको चाहनाले हुँदैन । मिल्दा इमान्दारिता हुनैपर्छ । 

अब  सुदुरपश्चिम प्रदेश सरकार हेरफेर सम्भावना कति देख्नुहुन्छ ?
गठबन्धनमा इमान्दारिताको वातावरण सिर्जनाका लागि हामी एकदमै लचिलो भएको हौँ । २५ गते राति १२ बजेदेखि आचारसंहिता लागू हुँदै थियो, त्यही बेलुका कांग्रेसलाई सरकारमा सहभागी गराएका थियौँ । आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदा साथीहरु रुष्ट भए । यस्ता चुनौतीलाई लिएर पनि गठबन्धन कार्यान्वयन गर्नका लागि कांग्रेसलाई सरकारमा सामेल गरिएको थियो । गठबन्धनका साझेदार दलहरु इमान्दारितापूर्वक लाग्छन् र इमान्दारिताको वातावरण निर्माण गर्ने सन्देश दिन उदारता देखाएका थियौँ । तर, उदारताको  सम्मान गर्ने काम भएन ।

जिल्ला कमिटीले निर्वाचन परिणामको सम्बन्धमा १५ गतेभित्र रिपोर्ट दिन्छन्, त्यसपछि बस्ने प्रदेश कमिटीको बैठकमा प्रदेश सरकारको विषयमा पनि छलफल गर्छौँ ।

०७४ मा स्थानीय तहको चुनावपछि प्रदेश र संघीय चुनावमा बाम शक्तिले तालमेल गरेका थिए, अहिले पनि त्यो कुरा उठिरहेको छ, तपाई यसको आवश्यकता देख्नुहुन्छ ?
सिद्धान्तको हिसाबले बाम गठबन्धन सबैभन्दा उत्तम हो । सिद्धान्त मिलेको गठबन्धन कति सजिलो हुन्छ र सिद्धान्त नमिलेको गठबन्धन कति कठिन एवं धोकाधडीपूर्ण हुन्छ भनेर हामीले देखिसक्यौँ ।

तर, कतिपय कम्युनिष्ट नामधारी राजनीतिक दलहरुले अझै पनि संविधान पालना गर्न चाहँदैनन् । पार्टी, विचार भन्दा ठूलो हाम्रा लागि देश छ । त्यसैले वैचारिक, राजनीतिक र व्यक्तिगत स्वार्थलाई थाती राखेर भए पनि राष्ट्रको रक्षा र सम्वर्द्धन गर्न चाहन्छौँ । त्यस कारण तत्काल बाम गठबन्धन हुने सम्भावना एकदम कम देखिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .