ad ad

अन्तर्वार्ता


मेरो पहिलो प्रेम कविता नै हो: विमल निभा (अन्तर्वार्ता)

मेरो पहिलो प्रेम कविता नै हो: विमल निभा (अन्तर्वार्ता)

कृष्ण आचार्य
मंसिर १४, २०७६ शनिबार ८:२२,

कवि तथा व्यंग्यकार। विमल निभाले बनाएको परिचय हो, यो।

नेपालगञ्जमा जन्मिएका निभाको घर वीरगञ्ज हो। उनी विराटनगरमा पनि बसे। उनले सिकेको पहिलो भाषा अवधि हो। दोस्रो भोजपुरी, तेस्रो मारवाडी, चौथो हिन्दी, पाँचौँ नेवारी र छैठौँ नेपाली हो। उनलाई सबैभन्दा प्यारो लागेको भाषा भने भोजपुरी। यी भाषाप्रतिको प्रेम उनको लेखनमा पनि देख्न सकिन्छ।

निभाका कवितामा व्यंग्य हुन्छन्। अहिले उनी ‘जोकरको बन्दुक’ कवितासंग्रह लिएर आएका छन्। कविता र व्यंग्य लेखनको सन्दर्भमा उनले एक कप कफीका साथ हामीसँग कुराकानी गरेः

तपाईं कवि बढी कि व्यंग्यकार?
खासमा म कविता लेख्ने मान्छे नै हुँ। व्यंग्यमा कसरी आएँ भन्ने मेरो एउटा लामो त होइन, छोटो इतिहास छ। कविता भनेको कहिलेकाहीँ प्रकाशित हुने कुरा हो। पहिला रुपरेखा, मधुपर्कजस्ता केही सीमित साहित्यिक पत्रपत्रिका मात्र थिए। लेख्ने हुटहुटी धेरै थियो। व्यंग्य त अन्य अखबारमा पनि छापिन्थ्यो। त्यसपछि मैले व्यंग्य लेख्न थालेँ। साथीभाइले राम्रो छ भनेपछि त्यसमै नियमितता हुन थाल्यो।

तर, व्यंग्यभन्दा कवितासँग मेरो बढी आत्मीयता छ। खासमा मेरो पहिलो प्रेम कविता नै हो।

प्रेमको कुरा गर्नुभयो। तपाईंको प्रेमप्रतिको बुझाइ के हो?
सबैभन्दा महान कुरा नै प्रेम हो भन्छु म। तर, यो मानिसको व्यक्तिगत कुरा हो। प्रेमिल व्यक्तित्व हुनु खराब कुरा होइन। प्रेम मानिसको एउटा सुन्दरतम् चेतना पनि हो।

तपाईं कत्तिको प्रेमिल व्यक्तित्व हो त?
म प्रशस्त प्रेमिल छु। हरेक चीजको आधार प्रेम हो। तर, यसको बहुआयाम छन्। कसैले प्रेमलाई वासनामात्र ठान्ने गर्छन्। वासना पनि बहुत स्वभाविक र प्राकृतिक कुरा हो। यसलाई हामीले नकार्न मिल्दैन। यसलाई हामीले अन्यथा लिनुको कुनै अर्थ छैन। तर, प्रेमलाई वासनासँग मात्र गाँसेर हेरिनु हुन्न।

तपाईंले जीवनमा कविताभन्दा अरु कुनै कुरालाई बढी प्रेम गर्नुभएको छ?
कविता जीवनबाट निस्किएको हो नि। त्यसैले कविताभन्दा बढी त जीवनलाई प्रेम गरिन्छ। म कवितालाई प्रेम गरेर बसिरहन्छु भन्ने जुन पुरानो भनाइ छ त्यो केवल भनाइ मात्र हो। कवि समाजबाट अलग हुन्छ भन्ने पनि गलत सोचाइ हो। किसानले खेतमा काम गर्छन् भने कविले कविता लेख्छ। सबैको कामको आफ्नो जीवनमा उत्तिकै महत्व छ। त्यसैले म कविको देवत्वकरणमा विश्वास गर्दिनँ।

तपाईंको पहिलो कविता कुन थियो?
२०२६ सालमा रुपरेखामा छापिएको थियो। लेख्न चाहिँ २०२४ देखि नै लेख्थेँ। पहिलो कविता ०२६ सालमा कविता छापिँदा म १७ वर्षको थिएँ। स्थानीय पत्रपत्रिकामा छापिएका होलान् तर, मसँग त्यसको कुनै दसीप्रमाण छैन। रुपरेखामा छापिएको ‘एउटा मजदुर इतिहासको तीन अध्ययाय लेख्छ’ शीर्षकको कविताको प्रमाण अहिले पनि मसँग छ। जसलाई मैले आफ्नो दोस्रो संग्रहमा राखेको छु। अहिलेसम्म सबैभन्दा धेरै चर्चा भएको मेरो कविता पनि यही हो।

bimal niva 2

यो कविता पढेपछि पारिजातले तपाईंलाई चिठ्ठी पठाएको सत्य हो?
हो। पठाउनुभएको थियो। मेरो प्रशंसा गर्नुभएको थियो। ठ्याक्कै यिनै शब्दहरु थिए भन्ने त याद छैन। तर, कविताको तारिफ गर्नुभएको थियो। त्यो चिठ्ठी मसँग अहिले नरहेकाले यो कुरा भनिरहनुको कुनै अर्थ पनि छैन।

पारिजातप्रतिको तपाईंको बुझाइ के हो?
काठमाडौं आएपछि मेरो पारिजातसँग भेटघाट पनि हुन थाल्यो। मैले सुरुमा चिनेको पारिजात भनेको अराजकतावादी लेखक नै हो। तर, पछि उनमा एउटा चेतनाको विकास हुँदै गयो। त्यसैले उनको साहित्यिक जीवनलाई दुई खण्डमा विभाजन गरेर हेर्नुपर्ने हुन्छ। सुरुकै खण्डमा चर्चित भए पनि पछिल्लो खण्डमा वैचारिक रुपमा उहाँ घनिभूत रुपमा अगाडि आउनुभयो। त्यसैले पछिल्लो कालखण्डबाट म बढी प्रभावित छु। उहाँले आफ्ना थुप्रै अन्तर्वार्तामा मेरो नाम पनि लिनुभएको छ। उहाँलाई म दिदी सम्बोधन गर्थेँ।

तपाईंको लेखनीमा बारम्बार वीरगञ्जको चर्चा हुन्छ। किन?
जीवनको उर्वर काल मैले वीरगञ्जमा बिताएँ। अहिले पनि मैले लेख्दा वीरगञ्जको वातावरणलाई जसरी उतार्न सक्छु, त्यति काठमाडौंलाई उतार्न सकेको छैन। किनकि मेरो बिम्ब, कल्पना, सपना सबै त्यतैतिर गएर जोडिएको छ।

तपाईंका कविता राजनीतिक–सामाजिक रुपमा सचेत हुन्छन्। तपाईंमा यसकिसिमको काव्यचेत कसरी पलायो?
साथीभाइसँगको संगतका कारण नै हो। किशोरवयदेखि नै साहित्यप्रति रुची थियो। घरमा बुबा पनि साहित्यप्रेमी हुनुहुन्थ्यो। उहाँले ल्याएका साहित्यिक पत्रपत्रिका पढ्थेँ।
मैले आलोकाँचो उमेरमा लेखेका कवितामा गहनता हुन्थेन।

म वीरगञ्जमा कक्षा ९ पढ्दा हरेक शुक्रबार कार्यक्रम हुने गथ्र्यो। शिक्षक–विद्यार्थी आआफ्ना रचना सुनाउँथे। एक पटक मैले सुनाएको दुई हरफ यस्तो थियो :
म हुँ एक देवकोटा, म हुँ एक देवकोटा
पानी खान्छु म एक लोटा...।

यस्तो रचनाको कुनै साहित्यिक मूल्य छ्रैन। तर, मेरो साहित्यचेत बढाउन यस्तो कविताको ठूलो हात छ। कवितामा मेरो जग भनेकै यस्तै कविता त हुन्। त्यहीँबाट म माथि उक्लिएको हो। त्यसैले मेरो साहित्यिक जीवनमा त्यस्ता कविताको निकै महत्व छ।

तपाईं कम्युनिस्ट विचारधारासँग कसरी आकर्षित हुनुभयो?
म स्कुल पढ्दा कमरेड पुष्पलाल रक्सौल नाकासम्म आउनुहुन्थ्यो। उहाँलाई नेपाल आउने अनुमति थिएन। सायद उहाँको वीरगञ्जसँग कुनै कनेक्सन थियो होला। मेरा केही साथीहरुले उहाँलाई भेटेपछि मसँग उहाँबारे कुराकानी गर्थे। साथीहरुको कुरा सुनेपछि म पनि उनीहरुसँग मिसिन गएँ। १४–१५ वर्षमा उहाँको विचारले मलाई प्रभावित पा¥यो। र, अहिलेसम्म म निरन्तर त्यही विचारमा छु। काठमाडौंमा आएपछि पनि मेरो संगत नारायण ढकाल र राजवसँग भयो। उनीहरुको चेतनाको धरातल पनि त्यही थियो।

यसखालको संगत र वैचारिक झुकाबले तपाईंलाई कुनै पार्टी वा संगठनप्रति कत्तिको प्रतिबद्ध बनायो?
म पार्टीको कार्यकर्ता कहिल्यै बनिनँ। मेरो सोचसँग मेल खाने भएकाले कम्युनिस्ट पार्टीसँग नजिक र टाढाको सम्बन्ध रह्यो। नेकपा माले भूमिगत अवस्थामा रहँदा म त्यसको समर्थक थिएँ। तर, मैले कहिल्यै टिकट लिइनँ र नेताको पछि पनि लागिनँ। यो क्रम पछिसम्म जारी रह्यो। वैचारिक रुपमा निकट भए पनि म आफ्ना लेखमा कम्युनिस्ट नेताको आलोचना गर्छु।

bimal niva 3

हो, तपाईं नेताहरुको खरो आलोचना गर्नुहुन्छ। आलोचना गरेका कारण नेताको गाली खानुपर्ने अवस्था कति आए?
नेता र पार्टीहरुले संघर्षको दौरानमा लेखकहरुसँग सम्बन्ध राख्थँ। घनिभूत सम्बन्ध पनि हुन्थ्यो। तर, जब संघर्षको अवधि सकियो र उनीहरु सत्तामा पुगे, तब त्यो अवस्था रहेन। म त व्यंग्य लेख्ने मान्छे यथार्थ लेख्नै पर्‍यो। विसंगतिका कुरा लेख्नै पर्‍यो। त्यसपछि नेताहरु मसँग रिसाउँछन्। धेरै नेता रिसाएका छन् मसँग। खुट्टा भाँचिदिन्छु भन्नेहरु त कति छन् कति। गणतन्त्र कविता आन्दोलनबाट फर्कंदा त मैले कुटाइ नै खाएँ। तपाईंले पनि समाचार पढ्नुभयो होला नि!

वैचारिक धरातलमा उभिएर तपाईंले लामो समय सामाजिक चेतना जगाउने कविता लेख्नुभयो। तर, एकाएक व्यंग्यमा हात हाल्दा धार परिवर्तन गरेको आरोप पनि लाग्यो नि?
मेरो भर्खरै प्रकाशित भएको ‘जोकरको बन्दुक’ कविता संग्रह पढेपछि यो विचार परिवर्तन होला। व्यंग्य गम्भीर वा वैचारिक हुँदैन भन्ने कुरालाई म मान्दिनँ। यो झन् गम्भीर हुन्छ। किन भने समाजको विसंगतिलाई बाहिर ल्याउने हतियार व्यंग्य पनि हो। समाजमा स्थापित भइसकेका नेतालाई प्रहार गर्नु चानचुने कुरा त होइन नि। तपाईंले अहिले सीधै प्रधानमन्त्रीलाई गाली गर्नुस् त, तपाईं लेखेटिनुहुन्छ। अरु नेताको सवालमा पनि यही हुन्छ। म व्यंग्यमार्फत यसो गरिरहेको छु भने त यो एउटा साहस हो नि।

पछिल्लो समय हास्य–व्यंग्य भनिएका सामग्रीमा व्यंग्य हुँदैनन्। हास्य–व्यंग्य र व्यंग्य एकै हुन् या फरक?
फरक हुन् नि। हास्य भनेको त एक किसिमको सामाजिक चेत नभएको लेखन हो। पहिला–पहिला हुन्थ्यो नि श्रीमतीहरुलाई उडाउने, नोकरहरुलाई उडाउने। त्यस खालको लेखनमा हास्य बढी हुन्छ। तर, व्यंग्यले महिलाहरुलाई पनि समाजको उत्तिकै महत्वपूर्ण भूमिकामा हेर्छ। हास्य र व्यंग्यलाई जोडेर हेर्नु भनेको त जुम्ला र हुम्ला एकै हुन् भनेजस्तै हो। हास्य र व्यंग्य साहित्यको कुनै विधा होइन। यो एउटा धार हो। प्रकार, शैली र आवेग हो। तपाईंको व्यक्तिगत चाख, रोजाइ र कौशलमा भर पर्छन् यी कुरा।

कविता र व्यंग्यको समकालीन अवस्था कस्तो छ?
नेपालको व्यंग्य लेखन त्यति विकसित भइसकेको छैन। भैरव अर्यालहरुको पालामा व्यंग्यमा हास्य बढी हुन्थ्यो। त्यसपछि त्यति विकास भएको छैन। कविता त धेरै अगाडि छ।

तपाईंले कवितामा व्यंग्यको प्रयोग गरिरहनुभएको छ। यो कत्तिको सान्दर्भिक र प्रभावकारी छजस्तो लाग्छ?

तपाईंले व्यंग्यलाई मिलाएर प्रयोग गर्न सक्नुभयो भने त्यो बलियो हुन्छ। यो व्यक्तिको क्षमतामा भर पर्छ। तर, कसैको घरमा गएर, उसकै समोसा खाएर उसलाई नै कवितामार्फत व्यंग्य गर्नुलाई म व्यंग्य नै मान्दिनँ। लेखनको आफ्नो गरिमा हुन्छ। लेखकको आफ्नै सत्ता छ। सत्ता भनेको शक्ति हो। त्यसैले साहित्यकारको आफ्नो सत्तालाई कसैको पाउमा गएर अर्पण गर्नु उचित छैन। यो पाखण्ड हो।

साहित्यकार र रक्सीबीचको सम्बन्ध पारस्पारिक छ भन्नेहरु पनि प्रशस्त छन्। तपाईंले लेख्ने कविता र रक्सीको कुनै सम्बन्ध छ?
रक्सी र कविता अलग चीज हुन्। साहित्यकारहरु रक्सीका कारण धेरै चर्चामा आएकाले त्यसो भनिएको हो। कविहरु अलिकति सार्वजनिक प्राणी भएकाले धेरै चर्चामा आएका हुन्। नत्र कविभन्दा धेरै रक्सी खानेहरु त अरु पनि छन् होला नि। मेरो व्यक्तित्व रक्सीमै समेटिने खालको होइन। न म रक्सीकै लती हुँ न रक्सीबाट पर भाग्ने व्यक्ति। रक्सीसँगको मेरो वा मेरा कविताको सम्बन्ध भनेको सामान्य मानिसको जस्तै हो।

मेरो जे पनि अलिअलि छ, बढी लती केहीमा पनि छैन म। अलिअलि रक्सी पिउँछु, अलिअलि चुरोट। पूरै बेहोस केहीमा पनि छैन क्या म। पिएर ढलेको छैन। पिएपछि आफ्नै खुट्टामा उभिएर घर पुग्नुपर्ने नियम छ मेरो, त्यसलाई क्रस गरेको छैन।

bimal niva 4

तपाईंको कविता संग्रह पनि भट्टी पसलमा विमोचन हुनसक्छ भनेर अनुमान गर्नेहरु छन् ... 
लेखकहरुको ग्लामर हो भट्टी। त्यसैले केही पुस्तक भट्टीमा पनि विमोचन भए। तर, रक्सी खाने थलोलाई विमोचनको केन्द्र बनाएको मलाई मन पर्दैन। रक्सी खाएपछि चेतनाको ह्रास हुन्छ। मान्छेहरु पूर्ण चेतनामा हुँदैनन्। कुराकानी बहकिन्छ।

अर्को कुरा, भट्टीमा विमोचन गर्नु र मन्त्री बोलाएर गर्नु दुवै मलाई उत्तिकै खराब लाग्छ। त्यसैले म आफ्नो कवितासंग्रह विमोचन नै गर्ने छैन।

आफूलाई वाहियात लेखक भन्नेहरुलाई के जवाफ दिनुहुन्छ?
मैले जे लेखेँ त्यो, मेरो आफ्नो दृष्टिकोण हो। तिमीहरुको दृष्टिकोण मेल खाएन। तिमीहरुले मलाई जे भन्यौ, त्यसको आधारमा म मेरो दृष्टिकोण बदल्नेवाला छैन। यति भन्छु। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .