ad ad

अन्तर्वार्ता


‘डिजास्टर’ भयो, अब वाम गठबन्धन गरौँ : पृथ्वीसुब्बा गुरुङ

‘पोखरामा त हारको खोजी भयो, अरु महानगरपालिकामा के गर्ने?’
‘डिजास्टर’ भयो, अब वाम गठबन्धन गरौँ : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ।


वाशुदेव मिश्र
जेठ ९, २०७९ सोमबार १४:४२, पोखरा

नेकपा एमालेले सबैभन्दा बलियो गढ मानिएको क्षेत्र गण्डकी प्रदेश हो। गण्डकी प्रदेशको राजधानी पोखरालाई पनि एमालेको गढ नै मानिएको थियो। अहिले पोखरा महानगरपालिकाको मतगणना हुँदै गर्दा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेलाई पछि पारेसँगै एमालेभित्र तरंग उत्पन्न भएको छ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको अन्तर्द्वन्द्वले गर्दा पोखरामा एमालेले हार व्यहोर्नुपरेको भन्नेखालको चर्चा अहिले पोखरामा व्यापक छ।

यसै सन्दर्भमा हामीले नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग एमालेको पराजय र अबको राजनीतिक कोर्सबारे संक्षिप्त कुराकानी गरेका छौं।

कुराकानीका क्रममा उपमहासचिव गुरुङले स्थानीय चुनावको यो परिणामले अब वाम गठबन्धनका लागि अवसर प्रदन गरेको बताए। उनले वाम गठबन्धन अबको आवश्यकता रहेको बताए। खासगरी माओवादीसँग गठबन्धन बनाउने विषयमा पार्टीको केन्द्रीय बैठकमा छलफल चलाउनेसमेत एमाले उपमहासचिव  गुरुङले संकेत गरे।

प्रस्तुत छ एमाले उपमहासचिव गुरुङसँग नेपालखबरले गरेको टेलिफोन सम्वाद– 

पीएस कमरेड, अहिले कता हुनुहुन्छ?
म पसगाउँ (लमजुङ) मा छु।

केमा व्यस्त हुनुहुन्छ?
भोज खाँदै धन्यवाद दिने, बधाई लिँदै,बाँड्दै हिँड्ने।

एमालेका लागि चुनावको पछिल्लो परिणाम अपेक्षित पक्कै हैन, अनपेक्षित किन भयो?
पहिलो कुरा त २६–२७ गते गएपछि परिस्थिति पल्टियो। सत्ताको व्यापक दुरुपयोग भयो। पैसाको खोलो बग्यो। तर, सारमा भन्दा त्यत्रो ५ दलले घेराबन्दी गर्दा नेकपा एमालेले जति सिट प्राप्त ग¥यो, त्यो उत्साहजनक छ भन्ने लाग्छ।

वाम गठबन्धन २०७० मै लमजुङमा प्रयोग गर्नुभयो, ०७४ मा पनि त्यही गर्नुभयो। तपाईले मुख्यमन्त्रीका रुपमा अन्तिम समयसम्म पनि वाम गठबन्धनलाई जोड दिनुभयो। अहिलेको चुनावी परिणामले फेरि वाम गठबन्धनको आवश्यकता महशुस गराएन? 
सत्ता गठबन्धनचाहिँ मुलुकको अहितमा थियो। प्रतिगमनको पक्ष थियो। लोकतन्त्र र संघीयताको पक्षमा थिएन। ९/१० महिनाको कार्यकालले यो पुष्टि गरेको छ। यो गठबन्धन समृद्धि र सुशासनको पक्षमा थिएन। खालि प्रगिगमन भयो भनेर उनीहरुले राजनीतिक स्टन्टबाजीमात्रै गरेको हो। यो गठबन्धन हुनु नै गलत थियो।

वामपन्थीले कांग्रेससँग गठबन्धन गर्नु नै खराब कुरा थियो। यो प्रतिगामी कदम थियो। उनीहरुले पहिचान गुमाएको कदम थियो। अब वाम गठबन्धन गर्ने कुरामा चाहिँ मेरो हिजो पनि विचार थियो, आज पनि छ। मैले भनेका कुराहरु कति सान्दर्भिक रहेछन् भन्ने आज पुष्टि भयो। त्यसकारण अहिलेको परिणामले वाम गठबन्धनको अझ आवश्यकता र औचित्य पुष्टि गर्छ।

नेकपा एमालेको उपमहासचिव भएको नाताले अब वाम गठबन्धनको अभियान सुरु गर्नुहुन्छ पार्टीभित्र? के यो विचार केन्द्रीय कमिटीको बैठकमा लैजानुहुन्छ?
म त हिजो त्यही पक्षमा थिएँ, आज पनि त्यही पक्षमा छु। तर, पार्टीमा कहिले–कहिले एउटाको विचार नपुग्न सक्छ। सिंगो पार्टीलाई कन्भिन्स गर्न सक्ने स्थिति बनेन।

परमादेशबाट सरकार बनाएपछि हाम्रो अभियानविरुद्ध मान्छेहरु लागे। त्यसले गर्दा अब फेरि पनि पछिल्लो परिणामले सबैलाई अवसर सिर्जना भएकै हुनुपर्छ। सत्ता गठबन्धनमा लागेका वामपन्थीहरुलाई पनि अब एक्लो पर्दा अलिकति असजिलो हुँदो रहेछ भन्ने हामीहरुलाई पनि महशुस भएको हुनुपर्छ। फेरि पनि अभियान अगाडि जानुपर्छ।

वाम गठबन्धन हिजो पनि सही थियो तर पार्टीले निर्णय गर्नुप¥यो। पार्टीले निर्णय गरेमा अब त्यो अभियानमा हामी लाग्नुपर्‍यो नि! तर, उनीहरुको पनि चाहना हुनुप¥यो नि, खासगरी माओवादीका नेताहरुले। उहाँहरु कांग्रेस तर्किन्छ कि भन्नेमा बढी ध्यान केन्द्रित गर्नुभयो। सत्ता गठबन्धनको चाहना त बढी उहाँहरुले गरेको हो।

यहाँमाथि पनि आक्षेपहरु आए त.....
पोखरामा त हारको खोजी गरे, अरु महानगरपालिकामा के गर्ने नि? अरु महानगरपालिकामा कति मत ल्याएको छ? कति अपमानजनक मतले हारेको छ? त्यो सबै जनताको सेन्टिमेण्ट क्यास गर्न नसकेर हाम्रो विरुद्धमा गएको मान्नुपर्‍यो नि। बुटबल उपमहागरले त्यही देखाउँछ। विराटनगरले त्यही देखाउँछ। भरतपुर डिजास्टर भएको छ हाम्रो लागि। वीरगञ्जले त्यही देखाउँछ। काठमाडौं झन डिजास्टर भएको छ।

ललितपुरले बरु आफ्नो मत ल्याएकै छ। तुलनात्मक रुपमा मेयर र उपमेयरको मत बराबरजस्तै छ। तर, अन्यत्र त्यस्तो देखिएन। हामी लागेकै हो। हामीले ३० वटा जित्छौँ भनेर लागेको ठाउँ ( पोखरा) मा १० वटा पुर्‍याउन गाह्रो भो। हाम्रो वडाहरुमा सदस्यहरु जित्ने वडाध्यक्षहरु हार्ने भयो।

तर, यसमा तपाईंको पनि दोष छ भन्दै एमालेकै अर्को नेतासँगको अन्तर्द्वन्द्वसँग जोडेर आरोप लगाइरहेका छन् नि त?
मलाई नचिन्नेहरुले भन्ने कुरा हो यो। यही मौका छोपेर मलाई ताछ्न सकिन्छ, कर्नरमा पार्न सकिन्छ भनेर भन्ने कुरा हो। संकीर्ण सोचले गर्ने कुरा हो यो।

एकजना मान्छे देखाउनुहोस्, मैले गलत बोलेको छु भने। आफ्ना पार्टीका उम्मेदवारको विपक्षमा उभिएको छु भने। र, केन्द्रको निर्णयको विरुद्धमा उभिएको छु भने। आफ्नो असफलताको, रिसको दोष अर्कालाई दिन बहानावाजी खोज्नु आफैँमा अवसरवादीहरुको काम हो।

त्यसोभए, पार्टीभित्रैबाट तपाईंमाथि प्रहार किन त?
अहिलेको परिणाम हेर्ने हो भने सातवटा प्रदेशमध्ये गण्डकीले मात्रै आफ्नो विरासत कायम गर्न सकेको हो। गण्डकीमात्रै हो, हिजो हामीले ३५ सिट जितेका थियौँ, आज पनि ३५ सिट जितेका छौँ। वडाध्ययक्ष हिजोभन्दा बढी जितेका छौँ। हिजोभन्दा अहिले ठूलो प्रगति भएको छ। त्यसमा पनि पृथ्वीसुब्बाको भूमिका थियो भन्नुपर्ने होला।

अनि, एकीकृत समाजवादी बन्यो। त्यसको सबैभन्दा कम प्रभाव पर्न दिएको, हाम्रो प्रदेश पहिलो हो। त्यसमा पनि यहाँको इञ्चार्ज/मुख्यमन्त्री भएर बसेको मान्छेको भूमिका खोज्नुपर्ने होला।

अहिले पनि हामीले विरासत जोगाएका छौँ। पार्टी एकता कायम गरेर बसेका छौँ। त्यस्तो व्यक्तिलाई अन्तरघातीको बिल्ला भिराएर बुङ्गो–बाङ्गो बनाउन खोज्ने मान्छेहरुले बुझ्नुपर्ने कुरा के छ भने सत्य डग्दैन, झुटो टिक्दैन। मैले तुरुन्त प्रतिवाद नगरेको कारण यही हो।

एमालेमा टिकट वितरणमा कमजोरी भएजस्तो लाग्दैन?
उनीहरु (गठबन्धन) को ध्यान मेयर–उपमेयर, पालिका अध्यक्ष–उपाध्यक्षमा र वडाध्यक्षमा जसरी पनि जित्ने स्ट्राटेजी रहेछ नि त! गाउँपालिकाको अध्यक्ष र मेयरको विरुद्धमा उनीहरुको सबै शक्ति केन्द्रित भएको देखियो। हाम्रो त्यसमा ध्यान नपुगेको जस्तो देखियो। फर्स्टम्यान उठाउँदा धेरै पपुलर, कम विवादित मान्छे उठाउनुपर्ने रहेछ भन्ने देखियो।

तपाईं र खगराज अधिकारी ( संगठन विभाग प्रमुख) बीचमा कार्यगत शैलीमा कतै अन्तर्द्वन्द्व छ कि? अहिले यो विषय पनि चर्चामा छ....
मसँग त जुधेर कहिल्यै छलफल हुँदैन। कमिटीहरुमा कहिल्यै  डिबेट हुँदैन। जसले राजनीति बुझेको छैन, त्यसले गर्ने कुरा हो। यहाँ केही मान्छेहरुले खगराजजीको ओत लागेर आफ्नो राजनीति गर्ने, कोही खगराजविरुद्धमा देखिने प्रवृत्ति गलत हो। सारमा खगराजजी र मेरो विचारमा, सिद्धान्तमा कहिँ कतै फरक देखिँदैन, छैन।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .