ad ad

अन्तर्वार्ता


हाम्रोजस्तो देशमा नयाँ आविष्कार हुनु लगभग असम्भव हो: उत्तमबाबु श्रेष्ठ (अन्तर्वार्ता)

हाम्रोजस्तो देशमा नयाँ आविष्कार हुनु लगभग असम्भव हो: उत्तमबाबु श्रेष्ठ (अन्तर्वार्ता)

यज्ञराज जोशी
असोज १, २०७८ शुक्रबार १६:२७, काठमाडौँ

डा. उत्तम बाबु श्रेष्ठले अमेरिकाको युनिभर्सिटी अफ म्यासेचुसेट्सबाट वातावरण विज्ञानमा विद्यावारिधि गरेका छन्।

जर्मनी, अमेरिका, अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा डेढ दशक वैज्ञानिक अध्ययन-अनुसन्धान गरेका श्रेष्ठले नेपाल फर्केर अनुसन्धानात्मक संस्था ‘ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिज्’ सञ्चालन गरिरहेका छन्। अहिले मूलत यही संस्थाबाट वैज्ञानिक अनुसन्धान र लेखन अघि बढाइरहेका छन्।

उनै डा. श्रेष्ठसँग विज्ञान दिवसका सन्दर्भमा असोज १ गते नेपालमा विज्ञान क्षेत्रको अवस्था, हासिल उपलब्धि, यसका नीतिगत व्यवस्था, लगानीको अवस्थाबारे नेपालखबरले कुराकानी :  

नेपालमा पछिल्लो ७-८ वर्षयता असोज १ लाई विज्ञान दिवस भनेर मनाउने गरिएको छ। यसको महत्व र सान्दर्भिकता कस्तो देख्नुहुन्छ?
नेपालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पालाबाट विं.स २०६९ देखि विज्ञान दिवस मनाउन थालिएको हो। विज्ञान प्राकृतिक विषयमात्रै पढाइने हुने नेपालको पहिलो क्याम्पस अमृत साइन्स क्याम्पस स्थापना भएको मिति असोज १ गते पारेर राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो। हाम्रो जस्तो विज्ञानमा पछि परेको, वैज्ञानिक चेतनाको कमी भएको देशमा यस्ता दिवसले जनमानसमा र राजनीतिक नेतृत्वतहमा विज्ञान र प्रविधिबारे जनचेतना जगाउन सहयोग गर्छ।

यतिबेला विश्वजगत् नै कोभिडमहामारीले आक्रान्त छ। विश्वलाई फेरि सामान्य अवस्थामा फर्काउन सबैभन्दा धेरै भूमिका विज्ञान र प्रविधि, वैज्ञानिक खोज र अविष्कारकै छ। विज्ञान र प्रविधिको उपलब्धिहरूकै कारण छोटो समयमै कोरोनाविरुद्धखोप बनाउन सम्भव भएको हो। त्यसकारण यति बेला विज्ञानदिवस मनाउनु भनेको विज्ञानका यस्ता उपलब्धिबारे जानकारी गराउँदै जनमानसमा विज्ञान र प्रविधिको महत्वबारे जनचेतना जगाउनु र यसप्रतिको विश्वासलाई अझ बढाउनु हो।

दिवस भनेको‘सेल्फ रिफ्लेक्सन’ गर्ने दिन पनि हो। हामीले अहिलेसम्म विज्ञान र प्रविधिका क्षेत्रमा के गर्यौं, कस्ता उपलब्धि भए, हामीकहाँ छौं, यस क्षेत्रमा हाम्रा कमजोरी के  हुन्, ती कमजोरी नभएका भए हामी कहाँ पुग्न सक्थ्यौं भन्ने आत्मासमिक्षा र बोध गर्ने दिनका रूपमा पनि यो दिवस मनाइनुपर्छ।

हामीले ‘सेल्फ रिफ्लेक्सन’ गर्न त केही उपलब्धि हासिल गरेको हुनुपर्यो, विज्ञान क्षेत्रमा नेपालमा त्यस्ता ठूला उपलब्धि भएका छन् र?
यसो हेर्दा आधुनिक विज्ञानले गरेका अकल्पनीय प्रगति र विश्व ज्ञान उत्पादनमा हामी नेपालीले गर्व गर्नसक्ने किसिमका उपलब्धि हासिल गरेको र योगदान दिएको कुरा मेरो जानकारीमा छैन। मेरो विचारमा पछिल्लो समय विज्ञान र प्रविधिमा नेपालले हासिल गरेको ठूलो उपलब्धि गरेको भनेको सीमित वैज्ञानिक जनशक्ति उत्पादन हो। नेपाली विज्ञान शिक्षा पढेर, नेपाली करदाताको लगानीले खोलिएका शिक्षण संस्थाबाट उत्पादित वैज्ञानिक जनशक्ति यतिखेर नेपालभित्र मात्रै होइन संसारका उत्कृष्ट विश्वविद्यालय, प्रयोगशालामा पुगेर खोज÷अनुसन्धान गरिरहेका छन्। तीमध्ये केहीले नवप्रर्वतन गरेर, नवीन ज्ञान उत्पादन गरेर विश्व विज्ञान जगतलाई सहयोग पुर्याइरहेका छन्। विज्ञानलाई समृद्व बनाएका छन्। उनीहरूको खोजबाट प्राप्त गर्ने उपलब्धिले मानव जातिकै कल्याण गरेका छन्। किनभने विज्ञानको कुनै सीमाना हुँदैन। 

त्यस्ता जनशक्तिको स्थायी बसोबास नेपालमा नहोला, तर त्यहाँ पुग्ने रुट (जरा) त यही देश हो। त्यस्ता मान्छेलाई स्वदेशमा राख्ने, अन्यत्रबाट पनि भित्र्याउने  वातावरण बनाउन सकिएको भए, त्यसले नयाँ पुस्ता जन्माउँथ्यो होला; हाम्रो विज्ञान र प्रविधिलाई अझ समृद्ध बनाउँथ्यो होला र तपाईंले भन्नुभएजस्तो उपलब्धि देखिन्थ्यो होला। अर्को कुरा, हामी आधुनिक ज्ञान–विज्ञानको क्षेत्रमा निकै पछि मात्र प्रवेश गरेका हौं।

नेपालमा के–कस्ता नयाँ आविष्कार भएका छन्?
नवप्रवर्तन (इनोभेसन) र आविष्कार (इन्भेन्सन) सुन्दा उस्तै लागे पनि फरक कुरा हुन्। आविष्कार भनेको नयाँ कुरा बनाउनु हो भने नवप्रवर्तन भनेको बनेका नयाँ कुरालाई सस्तो, भरपर्दो र आम मानिसले प्रयोग गर्न सक्ने बनाउनु हो। पहिलोपटक जहाज उडाउनु आविष्कार हो भने हवाईजहाजको टिकटको बुकिङ (अनलाइन वा ट्राभल एजेन्सीमार्फत) सुरुवात गर्नु नवप्रर्वतन हो। उड्ने कामलाइ सर्वसाधरणसम्म पुर्याउने काम हवाईजहाज बनाउनेले गरेको होइन, हवाईजहाजको टिकेटिङको प्रणालीले गराएको हो। त्यसकारण हाम्रोजस्तो सीमित साधान–स्रोत भएको देशमा वर्तमानमा ज्ञान र विज्ञानको यति उचाइ हासिल गरेको समयमा नयाँ आविष्कार हुनु भनेको लगभग असम्भव हो। हामीले गर्नसक्ने भनेको आविष्कार होइन, नवप्रवर्तन हो। 

नेपालमा डा. सन्दुक रुइतले आँखाको अपरेसन गर्ने प्रणालीको विकास उल्लेखनीय नवप्रवर्तन हो। टुटल–पठाओहरू नयाँ आविष्कार होइनन्, तर नेपालको सन्र्दभमा स्थानीय नवप्रवर्तन हुन्। यस्ता सफलताले पनि हामीले पनि नवप्रवर्तन गर्न सक्छौं भन्ने विश्वास दिन्छ।  

ठूला उपलब्धि नभए पनि विज्ञान र प्रविधिमा हामी विश्वमा कहाँ छौं?
हाम्रो अर्थतन्त्र जीडीपीको मापनमा विश्वमा जहाँ छ, हाम्रो विज्ञान र प्रविधि पनि लगभग त्यही अवस्थामा छ। हाम्रो जीडीपी विश्वका १९० देशमध्ये अहिले १०३औं नम्बरमा छ। विज्ञान र प्रविधिमा प्रगति मापनका विभिन्न सूचकांकले हाम्रो अवस्था अर्थतन्त्रको अवस्थाजस्तै देखाउँछन्। हामी विश्व नवप्रवर्तनको सूचीमा ८९औं नम्बरमा छौं। 

हाम्रो देशको एउटा मात्रै विश्वविद्यालय (त्रिवि) विश्वका १५ सय विश्वविद्यालयमध्ये ८००औंदेखि १०००औंको बीच क्रममा पर्छ। विश्वका प्रतिदसलाख वैज्ञानिकमा हाम्रो देशमा १०८० वैज्ञानिक जनशक्ति छ। नयाँ पेटेन्ट दर्ताको संख्या हेर्दा पनि हाम्रो अवस्था कमजोर नै देखिन्छ। वैज्ञानिक लेख प्रकाशनमा हामी विश्वमा ९१औं नम्बरमा छौं। 

नेपालबाट प्रकाशन हुने जर्नलमध्ये जम्मा चारवटा मात्रै अन्तर्राष्ट्रिय इन्डेक्समा समावेश गरिएका छन्। अनुसन्धान र विकासमा लगानीका हिसाबले पनि हामीले निकै कम (लगभग ०.३ प्रतिशत) लगानी गरेको अवस्थामा छ। 

विज्ञान–प्रविधिका क्षेत्रमा हामी यति पछाडि हुनाका कारण के के हुन् त?
आधुनिक विज्ञान प्रविधिको अवधारणा नेपालबाट विकास  भएको होइन। हामी आधुनिक विज्ञान प्रविधिको दौडमा धेरै पछि प्रवेश गरेका खेलाडी हौं। पछि दौडने खेलाडी पछि पर्नु स्वाभाविक हो। तथापि हामीजस्तै ढिला प्रवेश गर्नेहरूले धेरै प्रगति हासिल गरिसक्दा पनि हामी भने लगभग जहाँको तहीँ भइराख्यौं। यसका कारणमा पहिलो– वैज्ञानिक चेतना र संस्कारको कमी हो कि? हाम्रो समाजमा उत्सुक हुने, नयाँ कुरा सिक्न खोज्ने, जान्न खोज्ने, प्रश्न गर्ने संस्कार अन्यत्रको तुलनामा कमै देख्छु। विज्ञानको विकासको सुरुवात प्रश्नबाट, उत्सुकताबाट हुन्छ। 

दोस्रो– विज्ञान र प्रविधि क्षेत्र भनेको महँगो र ठूलो लगानी गर्नपर्ने क्षेत्र हो, जुन हामीले गर्न सकेका छैनौं। 

तेस्रो– अनुसन्धान पूर्वाधारहरूको निर्माण हो, जसमा विश्वविद्यालय, अनुसन्धान संस्था, जर्नल, वैज्ञानिक नेटवर्क, प्याटेन्ट अधिकार सुनिश्चित गरिने कानुनी संरचना पर्छन्। त्यसको कमी हुनु पनि हो। 

यी सबै गर्न चाहिने भनेको असल राजनिति हो र प्रमाणमा आधारित निति बन्नु र कार्यान्वयन नहुनु हो। त्यो नहुनु पनि यस क्षेत्रको विकास नहुनको प्रमुख कारण हो। हाम्रो देश हाँक्ने नेताहरू देशलाई समृद्व बनाउने अमूर्त नारा लगाउनुहुन्छ। समृद्वि भनेको त नतिजा हो। त्यहाँसम्म पुग्ने साधान भनेको त विज्ञान र प्रविधि हो। दुनियाँको विज्ञान र प्रविधिको विकासबिना दूनियाँमा कुनै पनि देश समृद्व भएको छैन। हामी हाम्रा पूर्खाहरूभन्दा धेरै बाँच्छौं, पौष्टिक र विविधतायुक्त खानेकुरा खान्छौं, सहज जीवन बाँच्छौं, पढ्छौं, देश–विदेश घुम्छौं, कम झैझगडा गर्छौं। यी सबै उपलब्धि केले सम्भव तुल्यायो भने विज्ञान र प्रविधिले। महिलाहरुलाई चुलो चौंकाबाट बाहिर निकाल्न सहयोग गरेको कुनै राजनैतिकवाद होइन, इलेक्ट्रिसिटी, फ्रिज, ओभन, भ्याकुमक्लिनर, वासिंगमेसिन, जन्म निरोधक चक्की, लगायतका प्रविधीले हो। सन् १९०० मा विहेवारी गरेका जम्मा ५ प्रतिशत महिला प्रत्यक्ष रोजगारीमा थिए र सन् २००० मा त्यो संख्या ६१ प्रतिशत पुग्यो। यसको पछाडि विज्ञान र प्रविधीको उपलब्धि थियो।

तर हाम्रोमा समृद्धिको नारा लाग्छ, खाद्यान्न आयात नगर्ने मुलुक बनाउने भनेर भाषण गरिन्छ, तर हाम्रो कृषि अनुसन्धान गर्ने संस्थामा वैज्ञानिक घटेको घट्यै छ। कृषि उत्पादन बढाउन त कृषिमा अनुसन्धान गर्ने दक्ष जनशक्ति तयार गर्ने, त्यस क्षेत्रमा बजेट बढाउने, किसानबीच अनुसन्धानका नतिजा लग्ने गर्ने हो भने कृषि उत्पादन बढ्छ। त्यो भाषणले मात्रै बढ्दैन। त्यसकारण नेताहरूको बुझाइ, गराइ र बोलाइमा फरक पनि यस क्षेत्रको अविकासको कारण हो। 

मार्क टेलरको ‘पोलिटिक्स अफ इन्नोभेसन’ पुस्तकमा– कुनै देश विज्ञान र प्रविधिमा अघि बढ्नुको कारण ‘क्रियटिभ इन्सेक्युरिटी’ हो भनिएको छ। बाह्य सामरिक र आर्थिक असुरक्षा महसुस गर्ने देशले विज्ञान तथा प्रविधिमा फड्को मार्छ भन्ने कुराको तथ्य र ब्याख्या छ। जस्तो: शीतयुद्धताका सोभियत संघले स्पुतनिक (रकेट) बनाएपछि आफूलाई असुरक्षित महसुस गरेको अमेरिकामा त्यसपछि विज्ञान र प्रविधिको अकल्पनीय प्रगति भयो। इजरायल र ताइवानजस्ता साना देशले विज्ञान र प्रविधिमा द्रुत गतिमा फड्को मार्नुको कारण क्रियटिभ इन्सेक्युरिटी हो भन्ने तर्क छ, त्यो पुस्तकमा।

यसो हेर्छु नेपालमा सधैं भूराजनीतिक संवेदनशीलताको कुरा गरिन्छ। दुई ठूला शक्तिका बीचमा हामी छौं भन्दै सिक्किम र तिब्बत हुने डर देखाइन्छ। ठूला देशबाट साँच्चै असुरक्षा महसुस हुन्थ्यो भने त हाम्रो देशले पनि विज्ञान र प्रविधिमा विकास गर्नुपर्ने हो जस्तो लाग्छ। त्यस थ्यौरीलाई नेपालको कसीमा घोट्ने हो भने एउटा राम्रो खोज हुनसक्छ। 

विज्ञान तथा प्रविधि क्षेत्रलाई अगाडि बढाउन सरकारी नीति र लगानीमा के समस्या देख्नुहुन्छ?
सरकारी नीति र लगानीका कुरा गर्दा पहिलो विज्ञान नीति  २०४६ सालमा आएको हो। जसलाई  २०६१ सालमा परिमार्जन गरेर अर्को नीति बनाइयो। र, भर्खरै २०७६ सालमा राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति भनेर आएको छ। अघिल्ला नीतिभन्दा यो नीति अलि ठोस र परिष्कृत देखिन्छ र बनाउँदा पनि सरोकारवालाहरूसँग राम्रै छलफल गरेर बनाइएको हो। 

तर अघिल्लो नीतिको कमजोरी यसमा पनि दोहोरिएको छ। जस्तो: अघिल्लो नीतिमा एउटा विज्ञान परिषदको कल्पना गरिएको थियो। त्यसमा सबै मन्त्रालयका सचिव, विश्वविद्यालयका उपकुलपति राख्ने व्यवस्था थियो। अहिले पनि त्यही व्यवस्था छ। पहिले त्यो एकदमै ठूलो संरचना भएकाले परिषदको एउटै बैठक नबसी सकियो। किनभने सचिवहरूलाई फुर्सदै नहुने। फेरि विज्ञान कसैको प्राथमिकतामा नपर्ने र उनीहरूले समय ननिकाल्ने। मलाई डर छ– हालको परिषदको हविगत पनि त्यस्तो नहोस्। 

यसपालिको नीतिले विज्ञान क्षेत्रको विकासका लागि राष्ट्रिय अनुसन्धान कोष बनाउने भनेको छ। सुनिन्छ– त्यो कोष बनाउन अर्थ मन्त्रालय सकरात्मक छैन। सरकारी कुनै पनि नीति भनेको तत् मन्त्रालयको मात्रै हो र? यो विज्ञान नीति शिक्षा तथा विज्ञान मन्त्रालयको मात्रै नीति होइन नि! यो त समग्र देशको नीति हो। देशको नीति बनाउने र अनि अर्थ मन्त्रालयले त्यसलाई कार्यान्वयन गर्न बजेट नदिने भन्ने पनि हुन्छ! बजेट नहुने भए, नमिल्ने भए नीतिमा किन लेख्या? नीतिको कुरा अन्तरमन्त्रालय कलहमा अड्केको छ। 

लगानीको कुरा गर्दा, नेपालमा ठ्याक्कै आँकडा छैन। तर त्यस्तै कूल बजेटको ०.३ प्रतिशत लगानी अनुसन्धान र विकासमा गरिन्छ भन्छन्। सामान्यतया यसमा कूल जीडीपीको ३ प्रतिशत अनुसन्धान र विकासमा लगानी गर्नपर्छ भनिन्छ। नेपालमा गरिएको ०.३ प्रतिशत लगानीको ठूलो हिस्सा पनि ‘अनुसन्धान’ नाम झुन्ड्याइएका संस्थाका कर्मचारीको तलब–भत्ताको खर्च हो। साँच्चैको अनुसन्धानमा त्यति पैसा खर्च हुने हो भने त्यसले राम्रै नतिजा ल्याउँथ्यो। सरकारी तथा निजी क्षेत्रबाट पनि अनुसन्धानमा लगानी गर्ने भन्ने कुरा खासै छैन। समग्रमा भन्दा अनुसन्धानमा लगानीको अवस्था दयनीय छ। 

नेपालको वैज्ञानिक खोज–अनुसन्धानका लागि बनाइएको सर्वोच्च निकाय नास्टको भूमिका र प्रभावकारिता कस्तो देखिन्छ?
म नास्टको प्रभावकारिता मूल्यांकन गर्न असमर्थ छु, तर विदेशतिरको अनुभव हेर्दा हाम्रो नास्टको भूमिका मलाई अस्पष्ट लाग्छ। नस्ट नामअनुसारको एकेडेमी हो कि एउटा राष्ट्रिय प्रयोगशाला? अनुसन्धानलाई सहयोग गर्ने अनुसन्धान सहायता कोष हो वा विज्ञानका कुार प्रचारप्रसार गर्ने निकाय? 

यी सबै काम गरिरहेको छ! तर ती सबै काम आफैंले गर्न परेको नास्टले सबै भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको हो कि जस्तो मलाई लाग्छ। त्यसकारण नास्टलाई अनुसन्धानमा प्राज्ञिक क्षेत्रमा उत्कृष्टता हासिल गरेपछि जाने उच्च तहको प्राज्ञिक ठाँउ ‘एकेडेमी’ बनाऊँ, जहाँबाट छनोट हुने सदस्यले आफूलाई गर्व गर्न सकून्। समाजले पनि उनीहरूप्रति विश्वास र सम्मान गर्न सकोस्। त्यस्तो एकेडेमीले आफैँले खास काम गर्नेभन्दा ज्ञानको संश्लेषण गर्ने काम गरोस्। जस्तै ः नेपालमा जलवायु् परिवर्तनको असरको विहंगम प्रतिवेदन त्यसले बनाएर सरकारलाई देओस्

सरकारलाई नीतिहरू बनाउँदा सल्लाह देओस्। त्यहाँका प्रयोगशालालाई सरकारी केन्द्रीय प्रयोगशालामा रूपान्तरण गरेर राष्ट्रिय महत्त्व र सुरक्षाका हिसाबले संवेदनशील अनुसन्धान गर्नपर्छ र विषयगत अनुसन्धानका लागि विश्वविद्यालय छँदै छ। 

अहिलेको विज्ञान नीतिले परिकल्पना गरेको अनुसन्धान कोष बनाएर नास्टलगायत अन्य संस्थाले छिटपुट रूपमा बाँड्ने अनुसन्धान सहायतालाई केन्द्रीकृत गरेर देशको प्राथमिकताअनुसारका अनुसन्धानलाई सहयोग गर्ने केन्द्रीय अनुसन्धान कोष बनाउनुपर्छ। विज्ञान प्रचारप्रसारको काम मन्त्रालयअन्तर्गतको कुनै शाखाले गर्दा राम्रो हुन्छ। यदि त्यसरी पुनःसंरचना गर्ने हो भने नास्टको गरिमा, प्रभावकारिता दुवै बढ्छ।   

तपाईंले वैज्ञानिक संस्कारको कुरा गर्नुभयो, हाम्रा शिक्षण संस्थाले विद्यार्थीलाई वैज्ञानिक बनाउन भूमिका खेलेका छन् कि छैनन्?
नेपालमा प्राथमिक, माध्यमिक, उच्च शिक्षामा विज्ञान शिक्षा दिइन्छ। विद्यार्थीलाई वैज्ञानिक बनाउन वा विज्ञान चेतना भएको मान्छे बनाउन सबैभन्दा पहिले उसमा उत्सुकता जगाउन सक्नुपर्छ। उत्सुकता मानिसले जन्मजात लिएर आएका गुण हो। 

उत्सुक भएर मान्छेले प्रश्न गर्छ। भनिन्छ– ६ वर्षसम्मको बच्चाले १० हजारभन्दा बढी प्रश्न गर्छ। वैज्ञानिक अनुसन्धानमा विज्ञान भनेको प्रश्न पत्ता लगाउने हो, सही प्रश्न पत्ता लगाउने र त्यसको उत्तर खोज्ने विषय हो। तर हाम्रा विद्यालयमा प्रश्न गर्ने विद्यार्थी अप्रिय विद्यार्थी हुन्छ। हस् भन्ने प्रिय। प्रश्न गर्नेलाई निरुत्साहन गर्ने, हपार्ने, चुप लगाउन खोज्ने संस्कारले वैज्ञानिक जनशक्ति उत्पादन हुँदैन। 

दोस्रो कुरा– पढाउने तरिकामा समस्या हो कि? हाम्रो पढाइ पाठ्यपुस्तक निर्देशित छ। पाठ्यपुस्तकमा जे लेखेको छ, त्यही मात्रै पढाउने! गाउँघरमा पुतली पाइन्छ, तर हामीविद्यार्थीलाई पुतलीको जीवनचक्र पढाउन पुस्तकसमयमै आएनभन्दै बस्छौं र पुस्तक पुगेपछि चित्र कोरेर पढाइरहेका छौं! विद्यार्थीलाई पुतलीको जीवनचक्र चित्र कोरेर पढाइरहेका छौं! विज्ञान शिक्षकले पुतलीको फुल संकलन गरेर त्यसबाट लार्भा, प्युपा र पुतली बनेर कक्षामा देखाइदिने हो भने विद्यार्थीले जीवनभर पुतलीको जीवनचक्र बिर्सिंदैनन्, तर हामी विद्यार्थीलाई हाम्रैवरिपरिका ज्ञान दिँदैनौं, पुस्तकका पानामै सीमित गर्न खोज्छौं। जुन प्रवृत्ति माथिल्लो तहसम्मै छ। 

उच्च शिक्षाको तहमा भने विज्ञान पढाएर वैज्ञानिक बनाउन लागेको हो वा अर्थोक, त्यसमा पनि स्पष्टता छैन जस्तो लाग्छ। त्यसकारण हामीले स्नातकोत्तर, पीएचडीबाट भनेजस्तो दक्ष अनुसन्धानकर्ता उत्पादन गर्न नसकिरहेको हो कि जस्तो लाग्छ। 

अन्त्यमा, अन्तर्राष्ट्रिय अनुसन्धानकर्तालाई नेपाल आएर काम गर्न कति सहज छ?
हालसम्मको अनुभवमा सहज–असहज दुवै छ। नेपाल सानो छ। अध्ययन–अनुसन्धानमा लाग्ने जनशक्ति पनि कम छन्। सानो काम गर्दा पनि राम्रो एक्सोजर पाउने ठाउँ पनि हो। अनुसन्धानको नतिजाले प्रभाव पार्न सकिने ठाँउ पनि हो। 

नीति–निर्मातासँग सजिलै पहुँच पुर्याएर कुरा राख्न, लबिङ गर्न सकिन्छ। विज्ञान दिवस मनाउने कुरा पनि राजनीतिक नेतालाई यस क्षेत्रका केही मान्छेले भनेपछि सुरु भएको हो। तर गाह्रो धेरै कुरामा छ। अनुसन्धानका लागि सहजीकरण गर्ने सरकारी वातावरण कम छ। सरकार र विश्वविद्यालयभन्दा बाहिर बसेर अनुसन्धान गर्ने हामीजस्ताका लागि बजेट छँदै छैन। असुन्धानका लागि चाहिने नेटवर्क पनि राम्रो छैन। अनुसन्धानकर्ताबीच स्वस्थ प्रतिस्पर्धा पनि देखिँदैन। 

कताकता बौद्घिक विनयशीलता पनि नभएको हो कि जस्तो लाग्छ। संस्था चलाउँदा राम्रो क्षमतावान् मान्छे पाउन र टिकाउन गाह्रो छ। तर पनि यहाँ धेरै अनुसन्धान भएका कुरा भएका हुनाले एकहिसाबले अवसरै अवसर भएको ठाँउ पनि हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .