ग्लोबल


हिमाचल प्रदेशमा एक युवतीले एकसाथ दाजुभाइसँग बिहे गरेपछि...

हिमाचल प्रदेशमा एक युवतीले एकसाथ दाजुभाइसँग बिहे गरेपछि...

दुलहा दाजुभाइ प्रदीप नेगी र कपिल नेगी बेहुली सुनीता चौहानका साथ


नेपालखबर
साउन १२, २०८२ सोमबार २०:४७, काठमाडौँ

भारतको हिमाचल प्रदेशमा पर्ने सिरमौर जिल्लाको शिलाई गाउँमा हालै भएको एउटा अनौठो विवाहबारे धेरै चर्चा र बहस भइरहेको छ।

कुन्हट गाउँकी सुनीता चौहानले दुई दाजुभाइ प्रदीप नेगी र कपिल नेगीसँग एकसाथ विवाह गरेकी छन्।

दाजुभाइ दुई बेहुलाका साथ सुनीता चौहान

यो विवाह अनुसूचित जनजातिका रूपमा दर्ज हाटी समुदायको पुरानो बहुपति परम्पराअन्तर्गत भएको हो, जसलाई स्थानीय भाषामा 'जोडीदारा' वा 'जाजडा' भनिन्छ।

सिरमौरको ट्रान्स गिरी क्षेत्रमा भएको यस विवाहमा सयौँ जना गाउँले र आफन्त उपस्थित थिए। परम्परागत खाना, लोकगीत र नृत्यले यो कार्यक्रमलाई अझ यादगार बनायो।

यो विवाह सांस्कृतिक परम्पराको उदाहरण भए पनि यसले वर्तमान समयमा धेरै प्रश्न पनि उठाएको छ।

जोडीदारा प्रथा: कति पुरानो परम्परा?

दुलहीको परिवार सिरमौर जिल्लाको कुन्हट गाउँको हो, जुन बेहुलाको गाउँ शिलाईबाट लगभग १५ किलोमिटर टाढा छ। यो क्षेत्र राज्यको राजधानी शिमलाबाट लगभग १३० किलोमिटर टाढा छ।

दुवै परिवार हाटी समुदायका हुन्। यो समुदाय मूल रूपमा सिरमौर जिल्लाको ट्रान्स गिरी क्षेत्रका साथै उत्तराखण्डको जौन्सर-बावर र रवई-जौनपुर क्षेत्रमा बसोबास गर्छ।

यस समुदायमा बहुपतित्वको प्रथा लामो समयदेखि प्रचलित छ। यस प्रथाबारे जानकार व्यक्तिहरू यसको उद्देश्य परिवारभित्र पारस्परिक एकता कायम राख्नु र पैतृक सम्पत्तिको विभाजन रोक्नु हो भन्ने विश्वास गर्छन्।

यस प्रथामा एक महिलाले दुई वा सोभन्दा बढी दाजुभाइसँग विवाह गर्छिन् र घरायसी जिम्मेवारीहरू आपसी सहमतिमा पूरा गरिन्छ। सिरमौरका साथै यो परम्परा शिमला, किन्नौर र लाहौल स्पितिका केही भागमा पनि देखिन्छ।

स्थानीय बासिन्दा कपिल चौहान भन्छन्, ‘जोडीदारा प्रथा हाम्रो पहिचान हो। यसले सम्पत्तिको विभाजन रोक्न, दाइजो प्रथाबाट बच्न, दाजुभाइबीच एकता कायम राख्न र बच्चा हुर्काउन मद्दत गर्छ।’

उनका अनुसार, शिलाई क्षेत्रका लगभग हरेक गाउँमा ४ देखि ६ वटासम्म परिवारले यो प्रथा पालना गर्छन्।

कपिल चौहानलाई हालै भएको विवाहका विषयमा भइरहेको बहसबारे सोध्दा भने, ‘मलाई यस विषयमा धेरै समयदेखि थाहा थियो। यो अचानक भएको होइन। यो एक परम्परा हो। यो हाम्रा लागि गर्वको कुरा हो, जबसम्म दुलहा, दुलही र उनीहरूका परिवार यसमा सहज हुन्छन्, अरूलाई यसमा कुनै सरोकार हुँदैन।’

उनले थपे, ‘यो स्वीकार गर्नुपर्छ, मानिसहरू लिभ इन रिलेसनसिपमा पनि त सहज छन्।’

विवाहको कथा: सहमति र सांस्कृतिक गौरव

जुलाई १२ मा सुरु भएको यस विवाह समारोहको एउटा पक्ष भनेको दुलही र उनका पति दुवै शिक्षित हुन्।

दुलही सुनीता चौहानले आईटीआईबाट अध्ययन गरेकी छन्। प्रदीप नेगी राज्य सरकारको जल शक्ति विभागमा काम गर्छन् र कपिल नेगी विदेशमा हस्पिटालिटी क्षेत्रमा काम गर्छन्।

सुनीताले विवाहबारे बीबीसी हिन्दीसँग भनेकी छन्, ‘यो मेरो आफ्नै निर्णय थियो। मलाई यो परम्पराबारे थाहा थियो। मैले यसलाई अपनाएँ।’

प्रदीप नेगी भन्छन्, ‘हाम्रो संस्कृतिमा यो विश्वास, हेरचाह र साझा जिम्मेवारीको सम्बन्ध हो।’

कपिल नेगीले भनेका छन्, ‘विदेशमा बसे पनि  म यो सम्बन्धप्रति प्रतिबद्ध छु र मेरी श्रीमतीलाई स्थिरता र माया दिन चाहन्छु।’

जोडीदारा प्रथामा जन्ती दुलहीका तर्फबाट चाहिँ बेहुलाको घरमा जान्छ। यही कारण यो परम्परालाई अन्य भारतीय विवाह परम्पराभन्दा फरक मानिन्छ।

वजिब-उल-अर्ज र कानुनी मान्यता
हिमाचल प्रदेशमा जोडीदारा प्रथा 'वजिब-उल-अर्ज' भनिने औपनिवेशिक युगको राजस्व दस्तावेजमा दर्ता छ। यो दस्तावेजले गाउँका सामाजिक र आर्थिक अभ्यास दर्ता गर्छ र जोडीदारलाई हाटी समुदायको परम्पराका रूपमा मान्यता दिन्छ।

यस प्रथाको उद्देश्य कृषि भूमिको विभाजन रोक्न र परिवारलाई एकताबद्ध राख्नु हो भनिएको छ।

हिन्दु विवाह ऐनले एक पत्नी विवाहलाई मात्र वैध मान्छ, त्यसैले त्यस किसिमको विवाहको कानुनी स्थितिबारे प्रश्न उठ्छ।

हिमाचल प्रदेश उच्च अदालतका वकिल सुशील गौतम भन्छन्, ‘दुवै विवाह एकैसाथ हुने भएकाले हिन्दु विवाह ऐन १९५५ को धारा ५ र भारतीय न्याय संहिताको धारा ३२ लागु हुँदैनन्।’

ऐतिहासिक र सांस्कृतिक जरा
जोडीदारा प्रथाले ट्रान्स गिरी क्षेत्रमा गहिरोसँग जरा गाडेको मानिन्छ। यो महाभारतको द्रौपदीको कथासँग जोडिएको छ, त्यसैले धेरै मानिसले यसलाई 'द्रौपदी प्रथा' पनि भन्छन्।

हिमाचल प्रदेशका प्रथम मुख्यमन्त्री डा. वाई.एस. परमारले आफ्नो पुस्तक 'पोलियान्ड्री इन द हिमालयाज़'मा यस प्रथाका सामाजिक र आर्थिक कारण विस्तृत रूपमा उल्लेख गरेका छन्।

उनका अनुसार, ‘यो प्रथा पहाड क्षेत्रको कठिन परिस्थितिमा विकास भएको थियो, जहाँ सीमित कृषि भूमिलाई एकसाथ राख्न आवश्यक थियो।’

हाटी समुदायसँग सम्बन्धित विद्वान् र सामाजिक कार्यकर्ता अमीचन्द हाटी भन्छन्, ‘यस प्रथालाई सामाजिक स्वीकृति छ र यसले समुदायको एकता र परम्परा प्रतिबिम्बित गर्छ। यसलाई सामुदायिक मूल्यको संरक्षणका रूपमा हेर्नुपर्छ।’

केन्द्रीय हाटी समितिका महासचिव कुन्दन सिंह शास्त्रीका भनाइमा, यो प्रथा धेरै पुरानो हो र यसको उद्देश्य परिवारको एकता कायम राख्नु हो।

सामाजिक बहस र आलोचना

यो विवाहपछि सामाजिक र नैतिक बहस पनि सुरु भएको छ। केही मानिस यसलाई सहमति र व्यक्तिगत छनोटको विषय मान्छन्, तर धेरै संस्थाले यसलाई महिला अधिकारविरोधी भनेका छन्।

अखिल भारतीय लोकतान्त्रिक महिला संघकी महासचिव मरियम धवलेले भनिन्, ‘यो प्रथाले महिला शोषणलाई बढावा दिन्छ र उनीहरूका मौलिक अधिकार उल्लंघन गर्छ।’

हिमाचल प्रदेशमा सीपीआईएमका पूर्वराज्य सचिव डा. ओमकार शादले पनि यसलाई संविधान र कानुनविरोधी भने।

हिमाचल प्रदेश सरकारका उद्योग मन्त्री तथा शिलाईका विधायक हर्षवर्धन चौहान भन्छन्, ‘यो शिलाईको पुरानो परम्परा हो। प्रदीप र कपिलले यो प्रथालाई जीवित राखेर आफ्नो सांस्कृतिक सम्पदाको सम्मान गरेका छन्।’

हाटी समुदायका अन्य विवाह प्रथा 

जोडीदाराका साथै हाटी समुदायमा अन्य चार परम्परागत विवाह प्रथा पनि छन्।

बालविवाह : गर्भावस्थामै बच्चाको विवाह तय गरिन्छ। यद्यपि बच्चा ठूलो भएपछि उसको सहमतिमा मात्र विवाह गरिन्छ।

जाजडा विवाह : बेहुला पक्षले विवाहको प्रस्ताव राख्छ र सहमति प्राप्त गरेपछि संस्कार पूरा गरिन्छ। यस प्रथामा पनि 'सिन्ज' लगाएर विवाह गरिन्छ।

खिताइयो विवाह : यो विवाहित महिलाले आफ्ना सासू-ससुरासँगको सम्बन्ध समाप्त गरेर अरू कसैसँग विवाह गर्छिन्।

हार विवाह : परिवारको इच्छाविरुद्ध महिलाले कुनै व्यक्तिसँग विवाह गर्छिन्। 

समयसँगै बदलिँदै छ परम्परा 
विज्ञहरू जोडीदारा प्रथा पहिलेभन्दा धेरै कम भएको बताउँछन्। 

समाजसेवी रमेश सिङ्टा भन्छन्, "यो प्रथा अब केही गाउँमा मात्र देखिन्छ र धेरैजसो विवाह बिनाधुमधाम नै हुन्छन्।"

हाटी समुदायको कुल जनसंख्याबारे आधिकारिक तथ्यांक छैन। तर केन्द्र सरकारसमक्ष यस समुदायलाई अनुसूचित जनजाति वर्गमा समावेश गर्न माग राख्दा अनुमानित जनसंख्या २.५ देखि ३ लाखको बीचमा रहेको बताइएको थियो। यसमा सिरमौरको ट्रान्स गिरी क्षेत्रका लगभग १.५ देखि २ लाख मानिस समावेश छन्।

हाटी समुदायको परिचय

सिरमौर जिल्लाका १५० भन्दा बढी ग्राम पञ्चायत गिरिपार क्षेत्रमा पर्छन्। समुदायका केही मानिसका अनुसार पहिले यस क्षेत्रमा स्थायी बजार थिएन। व्यापारका लागि मानिसहरू नजिकैका क्षेत्रबाट अस्थायी हाट स्थापना गर्न आउँथे। यस कारण समयसँगै यो समुदायलाई हाटी भनिन थालियो।

सामाजिक कार्यकर्ता रमेश सिंगटाका अनुसार, हाटी नाम स्थानीय हाट बजारमा घरेलु उत्पादन बेच्ने पुरानो परम्परासँग सम्बन्धित छ। उत्तराखण्डमा रहेको हाटी समुदायलाई जौनसारी समुदायको एक हिस्सा मानिन्छ र उनीहरूका परम्परामा धेरै समानता छ।

भारत सरकारले हिमाचल प्रदेशका हाटी समुदायलाई अनुसूचित जनजातिको दर्जा दिएको थियो। यद्यपि जनवरी २०२४ मा हिमाचल प्रदेश उच्च अदालतले 'गिरिपार अनुसूचित जाति संरक्षण समिति'को निवेदनमा यो निर्णयलाई रोक लगाएको थियो।

समितिले भन्यो, हाटी समुदायलाई अनुसूचित जातिको दर्जा दिँदा विद्यमान आरक्षण प्रणाली र अनुसूचित जातिका अधिकारमा असर पर्न सक्छ। समुदायलाई अनुसूचित जनजातिको दर्जा दिइए पनि यसले आफ्नो सुविधा पाइरहेको छैन।

उत्तराखण्ड (तत्कालीन उत्तर प्रदेश) को हाटी समुदायले १९६७ मै अनुसूचित जनजातिको दर्जा पाएको हो। बीबीसी हिन्दीबाट भावानुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad