ग्लोबल


लेबनन लडाइँ अन्त्य गर्न आज अमेरिकामा वार्ता

लेबनन लडाइँ अन्त्य गर्न आज अमेरिकामा वार्ता

नेपालखबर
बैशाख १, २०८३ मंगलबार ८:२३, काठमाडौँ

द्वन्द्व अन्त्यका लागि लेबनन र इजरायलका राजदूतहरू आज (मंगलबार) अमेरिकामा भेटवार्ता गर्दै छन्। 

बीबीसीले जनाएअनुसार अमेरिकाको राजधानी वासिङ्टनमा हुने छलफलमा अमेरिकाका विदेशमन्त्री मार्को रुबियो सहभागी हुनेछन्।

अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेटर र लेबननी राजदूत नादा हमादेह मोआदले विदेश मन्त्रालयमा रुबियोसँग वार्ता गर्नेछन्।

वार्ताको उद्देश्य दक्षिणी लेबननमा जारी द्वन्द्व अन्त्य गर्नु हो।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणबाट अहिलेसम्म देशमा २ हजारभन्दा बढी मानिस मारिएका छन् भने ६ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अनि लाखौँ मानिस घर छाड्न बाध्य भएका छन्। 

यसैबिच सोमबार हेज्बुल्लाह नेता नैम कासेमले इजरायलसँग गर्ने भनिएको बैठक रद्द गर्न लेबननलाई आह्वान गरेका छन्।

हेज्बुल्लाहले इजरायलसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेतासहित शीर्त नेतृत्व सखाप पारेपछि इरान समर्थित समूह हेलबुल्लाहले बदला लिन भन्दै इजरायलमा हमला गरेपछि दुईपक्षबिच लडाइँ जारी छ।  

अमेरिका र इरानले गत मंगलबादेखि लागु हुने गरी २ साताका लागि युद्धविराम गरे पनि इजरायलले लेबननमा हमला जारी राखेको छ। 

यसबिच स्थायी युद्धविरामका लागि भनेर गत शनिबार पाकिस्तानमा अमेरिका र इरानबिच भएको २१ घण्टा लामो वार्ता पनि बिनासहमति अन्त्य भएको छ। 

यस्तै जारी युद्धविराम लेबननका लागि पनि हो कि होइन भन्ने विषयमा अमेरिका र इरानबिच विवाद छ। मध्यस्थताकर्ता पाकिस्तान र इरानले दुईहप्ते युद्धविराम सम्झौतामा लेबननमा पनि तत्काल आक्रमण रोक्ने कुरा रहेको भनिरहँदा अमेरिका र इजरायलले भने यो विषय नरहेको जिकिर गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad