अमेरिका-इजरायलसँग लडाइँका बिच इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानलाई ध्वस्त पार्ने सपना देख्नेहरूलाई इतिहास थाहा नभएको टिप्पणी गरेका छनन्।
उनले सामाजिक सञ्जालमार्फत इरान कम्तीमा ६ हजार वर्ष पुरानो सभ्यताको उत्तराधिकारी भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘इतिहासका कैयौँ कठिनाइमा पनि कुनै शक्तिले यो नाम मेटाउन सकेको छैन।’
उनले अगाडि लेखेका छन्, ‘इरानलाई ध्वस्त पार्ने सपना देख्नेहरूलाई इतिहास नै थाहा छैन। आक्रमणकारीहरू आए र गए, तर इरान सधैँ दृढ रह्यो।’
यसअघि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारिजानीले पनि आफ्नो देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीबाट नडराएको बताएका छन्।
उनले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरान ट्रम्पको खोक्रो धम्कीबाट डराएको छैन। तपाईंभन्दा ठूलाले पनि इरान राष्ट्रलाई ध्वस्त पार्न सक्दैनन्।’
अली लारिजानीले चेतावनी दिएका छन्, ‘सावधान रहनुहोस्, नत्र तपाईं आफैँ नाश हुनुहुनेछ।’
यसअघि अमेरिकाका राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ होर्मुजमा तेलको ढुवानी रोकियो भने इरानमा बीस गुणा बढी शक्तिका साथ आक्रमण गरिने धम्की दिएका थिए।
Shares

प्रतिक्रिया