ग्लोबल


रुसी वायु रक्षा प्रणालीले काम नगर्दा अमेरिकाको अपहरणमा परे मदुरो

रुसी वायु रक्षा प्रणालीले काम नगर्दा अमेरिकाको अपहरणमा परे मदुरो

भेनेजुएलाको रेड स्क्वायरमा विजय दिवस सैन्य परेडको अभ्यासका क्रममा रुसी वायु रक्षा प्रणाली।


नेपालखबर
पुस २९, २०८२ मंगलबार १५:१४, काठमाडौँ

अमेरिकाले यही जनवरी ३ मा भेनेजुएलाविरुद्ध ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ सञ्चालन गर्‍यो। यस क्रममा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई राजधानी काराकासबाट नियन्त्रणमा लियो।

मदुरो दम्पतीलाई न्युयोर्कस्थित अदालत लगिँदै गर्दाको तस्बिर।

जतिबेला भेनेजुएलाको सबैभन्दा उन्नत रुसी वायु रक्षा प्रणाली भने काममा थिएन।

रुसबाट खरिद गरिएका एस-३०० र बुक-एम२ जस्ता सिस्टम र अन्य धेरैवटा मिसाइल भण्डारमै थन्किएका थिए। जुन सेनाले चलाउनै पाएन। 

जसले गर्दा अमेरिकालाई भेनेजुएलाको हवाई क्षेत्रमा घुस्न सजिलो भयो।

उल्लिखित वायु रक्षा प्रणालीलाई भेनेजुएला र रुसबिच निकट सम्बन्धको प्रतीक मानिन्थ्यो।

अमेरिकासँग तनावका बिच भेनेजुएलाले २००९ मा रुसबाट ती प्रणाली खरिद गरेको थियो।

तत्कालीन भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले भनेका थिए, 'यी हतियार कुनै पनि अमेरिकी आक्रमण रोक्न सक्षम हुनेछन्।'

तर त्यो साकार हुन पाएन।

हमलाका बेला तैनाथ थिएन रक्षा प्रणाली

न्युयोर्क टाइम्सको अध्ययनले अमेरिकी आक्रमणका बेला वायु रक्षा प्रणालीका धेरै हिस्सा भण्डारमै रहेको पत्ता लगाएको छ। साथै महिनौँदेखि चेतावनी आइरहे पनि भेनेजुएला अमेरिकी आक्रमणविरुद्ध तयार नभएको खुलासा गरेको छ।

अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का पूर्वअधिकारी रिचर्ड डे ला टोरेका अनुसार, वर्षौंको भ्रष्टाचार, कमजोर शासन र अन्तर्राष्ट्रिय प्रतिबन्धले भेनेजुएलाको वायु रक्षा प्रणालीलाई गम्भीर रूपमा कमजोर बनाएको थियो।

उनले भने, ‘रुस पनि ती प्रणाली सञ्चालनमा राख्न जिम्मेवार थियो, किनकि यसमा रुसका प्रशिक्षक र प्राविधिकले मद्दत गर्थे।’

विज्ञहरू के ठान्छन् भने युक्रेनसँगको युद्धमा संलग्न भएका कारण रुसले भेनेजुएलामा यी प्रणालीमा ध्यान दिन सकेन। 

अमेरिकाका केही पूर्वअधिकारीले यसो पनि भने, ‘रुसले जानाजान ती प्रणालीलाई ठिक समयमा काम गर्नबाट रोकेको थियो ताकि अमेरिकी विमान खसालेमा अमेरिकाको क्रोधको सामना गर्न नपरोस्।’

रक्षा प्रणाली सञ्चालन गर्न सक्ने तालिम-प्राप्त व्यक्ति छैनन्

चाभेजको युगमा भेनेजुएलाले रुसबाट ठुलो मात्रामा हतियार खरिद गरेको थियो। जसमा लडाकु विमान, ट्यांक र काँधमा राखेर चलाइने हजारौँ मिसाइल (पोर्टेबल मिसाइल) थिए। 

त्यसअघि भेनेजुएला अमेरिकी हतियारमा निर्भर थियो। तर अमेरिकाले २००६ मा हतियार बिक्री रोकेपछि भेनेजुएला रुसतिर मोडिएको थियो। 

तर समयसँगै भेनेजुएलालाई रुसी हतियारका लागि स्पेयर पार्ट्स र प्राविधिक सहयोग प्राप्त गर्न गाह्रो भयो।

अमेरिकी अधिकारीहरूका अनुसार न भेनेजुएलासँग ती हतियार मर्मत गर्ने क्षमता थियो न चलाउने अनुभव नै थियो। 

भेनेजुएलामा हमलापछि अमेरिकाका रक्षा सचिव पिट हेगसेथले व्यंग्यात्मक रूपमा भनेका थिए, ‘रुसी हवाई रक्षा प्रणाली राम्रोसँग काम गर्न असफल भए।’

अमेरिकाको निसानामा रक्षा प्रणाली

बितेका १५ वर्षमा रुसले भेनेजुएला हुँदै यस क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ।

अमेरिकीका पूर्वअधिकारी फियोना हिलका अनुसार रुसले २०१९ मा संकेत गरेको थियो- अमेरिकाले युक्रेन युद्धमा हस्तक्षेप नगरे भेनेजुएलामा अमेरिकालाई पूर्ण रूपमा छुट दिन सक्छ।

न्युयोर्क टाइम्सको विश्लेषणले यो पनि पत्ता लगाएको छ- अमेरिकी सेनाले बुक वायु रक्षा प्रणाली (राडार-निर्देशित जमिनहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र) भण्डारण गरिएका स्थानलाई निसाना बनाएको थियो। धेरै ठाउँमा यी प्रणाली गोदाममै नष्ट भएका थिए, जसको अर्थ ती प्रयोग गर्न योग्य थिएनन्। 

ला गुएरा र काटिया ला मारजस्ता क्षेत्रमा विस्फोटपछि स्थानीय अधिकारीले ती स्थानमा औषधि गोदाम भएको दाबी गरेका थिए। तर सार्वजनिक भिडिओमा जलेका मिसाइल देखिए। ला कार्लोटा एयर बेस र हिगुएरोटनजिक पनि यस्तै सिस्टम नष्ट गरिएका थिए।

अमेरिकी आक्रमणमा चिनियाँ राडार प्रणाली पनि 

भेनेजुएलाका सैन्य विज्ञ यासेर ट्रुजिलोले अमेरिकी आक्रमणबाट सेना पूर्ण रूपमा अचम्मित भएको बताए। राडार सञ्चालनमा थिएन, सेना पनि राम्ररी तैनाथ थिएनन् र अमेरिकी विमानले कुनै खतरा महसुस गरेन। 

रिपोर्टका अनुसार भेनेजुएलामा पनि चीनबाट प्राप्त राडार थिए, तर ती पनि अमेरिकी आक्रमणमा नष्ट भए, जसले गर्दा रुसी वायु रक्षा प्रणाली अझ बेकार बने।

भेनेजुएलाका राष्ट्रपति मदुरोले यसअघि हजारौँ रुसी म्यानप्याड देशमा तैनाथ रहेको दाबी गरेका थिए तर आक्रमणका बेला यसको प्रयोगका प्रमाण निकै कम भेटिए। 

रुस कागजी बाघ हो, परेका बेला मद्दत गर्न सकेन : अमेरिकी कूटनीतिज्ञ

अमेरिकी आक्रमणले रुस-भेनेजुएला मित्रतामा धक्का दिएको छ। यद्यपि रुसका विदेशमन्त्री सर्गेई लाभरोभ भेनेजुएला रुसका लागि बेलारुस जत्तिकै महत्त्वपूर्ण नभएको बताउँछन्। 

अमेरिकाका पूर्वकूटनीतिज्ञ ब्रायन नारान्जोले भने, ‘रुसले परेका बेला भेनेजुएलालाई मद्दत गर्न सकेन। ऊ कागजी बाघ साबित भयो।’

भेनेजुएलाबाट रुस-चीनका सल्लाहकार हटाउन अमेरिकाको माग

अमेरिकाले भेनेजुएलामा आफ्नो दबाब बढाइरहेको छ। अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले रुस, क्युबा, इरान र चीनका सल्लाहकारलाई भेनेजुएलाबाट निष्कासन गर्न माग गरिरहेका छन्।

अमेरिकाले भेनेजुएलालाई आफ्ना माग पूरा भएन भने क्यारिबियनमा तैनाथ आफ्नो नौसेना प्रयोग गर्न सक्ने चेतावनी दिएको छ।

मदुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकाको विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्पको तस्बिर राख्दै लेखेको छ, 'यो हाम्रो क्षेत्र हो।'

अमेरिकाका पूर्वकूटनीतिज्ञ ब्रायन नारान्जोका अनुसार 'भेनेजुएलामा रुस अमेरिकालाई चिढ्याउन मात्र उपस्थित थियो, तर प्रत्यक्ष रूपमा यसको सामना गर्ने आँट गरेन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad