आफ्नो देश अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएकोप्रति न्युयोर्क सहरका मेयर जोहरान मम्दानीले आक्रोश व्यक्त गरेका छन्।
उनले मदुरोको गिरफ्तारीलाई ‘युद्ध कार्य’को संज्ञा दिएका छन्।
उनले भनेका छन्, ‘यो कदमले अन्तर्राष्ट्रिय र अमेरिकी कानुन दुवैको उल्लंघन गरेको छ।’
यस्तै डेमोक्र्याटिक सांसद रो खन्नाले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य कारबाहीको आलोचना गरेका छन्।
उनले प्रश्न गरेका छन्, ‘यसैगरी पुटिनले पनि जेलेन्स्कीलाई यस्तै गिरफ्तार गरे भने के हुन्छ?’
अमेरिकाको कदमले विश्वका लागि खतरनाक नजिर स्थापित गर्न सक्ने आशंका पनि उनले गरेका छन्।
अमेरिकी सेनाले जनवरी २ राति भेनेजुएलामा आक्रमण गरेर त्यहाँका राष्ट्रपति मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अपहरण गरेर अमेरिका पुर्याएको छ।
अहिले उनीहरूलाई न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको छ।
मदुरोविरुद्ध हतियार र लागुपदार्थ सम्बन्धी आरोपमा मुद्दा चलाउने तयारी अमेरिकाले गरेको छ।
यसैबीच भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ।
भेनेजुएलाको सर्वोच्च अदालतले डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको हो।
Shares

प्रतिक्रिया