रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका लागि बिहीबार प्रस्थान गरेका छन्।
युक्रेनसँग युद्ध सुरु भएपछि यो उनको पहिलो भारत भ्रमण हो।
उनी आज साँझ ६:३० बजेतिर भारत आइपुग्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
उनको सम्मानमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ निजी रात्रिभोज आयोजना गर्नेछन्।
पुटिन लगभग ३० घण्टा भारतमा रहनेछन्। उनको भ्रमण भारत र रुसबीचको रणनीतिक सम्बन्धको २५ वर्ष पूरा भएको अवसरमा भएको हो।
रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीले अक्टोबर २००० मा दुई देशबीच रणनीतिक साझेदारीमा हस्ताक्षर गरेर यसको सुरुवात गरेका थिए।
भारत र रुसबीच शुक्रबार नौ महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
भारतले अब रुसबाट थप एस-४०० र यसको अद्यावधिक संस्करण एस-५०० खरिद गर्ने सम्झौतामा हस्ताक्षर गर्न सक्छ।
अपरेसन सिन्दूरका क्रममा एस-४०० ले धेरै पाकिस्तानी जेट खसालेको दाबी भारतले गरेको थियो।
पुटिन आफ्नो दुईदिने भारत भ्रमणका क्रममा २३ औं भारत-रूस शिखर सम्मेलनमा सहभागी हुनेछन्।
यो भारत र रुसबीचको वार्षिक बैठकको एक हिस्सा हो। हरेक वर्ष दुई देशले पालैपालो यो बैठक आयोजना गर्ने गरेका छन्। यसपटक भारतको पालो परेको हो।
शिखर सम्मेलनले २०३० सम्ममा दुई देशबीचको व्यापार १०० अर्ब डलर पुर्याउने लक्ष्य राखेको छ।
सम्मेलनमा ऊर्जा, लगानी, प्रविधि र उद्योगसहित विभिन्न क्षेत्रमा नयाँ साझेदारीबारे छलफल हुनेछ।
Shares

प्रतिक्रिया