रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमण गर्न लागिरहेका बेला अमेरिकाले भारतसँग रक्षा सहयोगसम्बन्धी महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। अमेरिकाले यसलाई दुई देशको रक्षा सम्बन्धका लागि ‘शुभ समाचार’ भनेको छ।
दक्षिण र मध्य एसियासँग सम्बन्धित अमेरिकी नीतिको निरीक्षण गर्ने दक्षिण र मध्य एसियाली मामिला ब्युरोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।
ब्युरोले भनेको छ, ‘भारतको रक्षा मन्त्रालयले लकहिड मार्टिनद्वारा विकसित आफ्नो २४ एमएच-६०आर सिहक हेलिकप्टरहरूका लागि एक दिगो प्याकेजमा हस्ताक्षर गरेको छ।’
विज्ञप्तिअनुसार यो ९४६ मिलियन डलरको प्याकेजले भारतीय नौसेनाको समुद्री क्षमता बलियो बनाउनेछ र अमेरिकासहित क्षेत्रीय साझेदारहरूसँग समन्वय बढाउनेछ।
अमेरिकाले यो कदमले दुवै देशलाई अझ सुरक्षित र समृद्ध बनाउन मद्दत गर्ने उल्लेख गरेको छ।
२४ एमएच-६०आर सिहक हेलिकप्टर निर्माताले यसलाई विश्वको उत्कृष्ट सामुद्रिक हेलिकप्टर भन्छ। विशेषगरी यसको विकास जहाजहरूबाट उडान र अवतरण गर्न गरिएको हो।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज (बिहीबार) देखि दुई दिनका लागि भारत भ्रमणमा आउँदै छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ।
Shares

प्रतिक्रिया