रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राजदूत स्टिभ विटकफले युक्रेन युद्धबारे मंगलबार लामो समय वार्ता गरेका छन्।
बैठकमा उपस्थित पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभले वार्ता ‘रचनात्मक’ भएको बताएका छन्।
तर सँगसँगै उनले भनेका छन्, ‘अझै धेरै काम गर्न बाँकी छ।’

उसाकोभले युक्रेनले फिर्ता मागिरहेको भूभागमा ‘कुनै सम्झौता’ नभएको जानकारी पनि दिए।
पुटिन, स्टिभ विटकफ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जारेड कुसनरबीच रुसमा झन्डै ५ घण्टा वार्ता भएको बीबीसीले उल्लेख गरेको छ।
यसअघि पुटिनले युरोपले शान्तिका लागि राखेको माग रुसलाई ‘अस्वीकार्य’ भएको बताएका थिए।
उनले यतिसम्म भनेका थिए, ‘रुस युरोपसँग युद्ध चाहँदैन, तर युरोप लड्न चाहन्छ भने हामी पनि तयार छौँ।’
बीबीसी रुसका सम्पादक स्टिभ रोजेनबर्ग लेख्छन्, ‘पुटिन अझै पनि सम्झौता गर्ने मुडमा देखिँदैनन्, किनकि उनी रुसले युद्धभूमिमा अग्रता कायम राखेको विश्वास गर्छन्।’
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘शान्ति सम्झौताको मस्यौदामा रहेका केही मुद्दामा अझै काम गर्न बाँकी छ, तर युद्ध अन्त्य गर्ने मौका अहिले पहिलेभन्दा बढी छ।’
Shares

प्रतिक्रिया