ad ad

ग्लोबल


किम जोङ उनपछि उत्तर कोरियाको नेतृत्वमा छोरी कि बहिनी?

किम जोङ उनपछि उत्तर कोरियाको नेतृत्वमा छोरी कि बहिनी?

फाइल तस्बिर : किम जोङ उनका छोरी किम जु ए र बहिनी किम यो जोङ।


नेपालखबर
माघ ६, २०८० शनिबार ९:३३, काठमाडौँ

केही समययता उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जोङ उनकी छोरी किम जु एको चर्चा भइरहेको छ। किनभने उनलाई बाबु किम जोङ उनको उत्तराधिकारीका रूपमा हेरिएको छ। आउनुहोस्, उनीबारे जानकारी लिऔँ। 

छोरीका साथमा किम जोङ उन।

किम जु ए उनको उत्तराधिकारी हुने सम्भावना छ भने दक्षिण कोरियाको गुप्तचर एजेन्सी नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले खुलासा गरेको हो। 

किम जोङ उन आफ्नो परिवारिक कुरा धेरै गोप्य राख्छन्। जसका कारण उनको परिवारको बारेमा धेरै कम जानकारी मात्र उपलब्ध छन्। उनले आफ्नी श्रीमती रि सोल जुलाई पनि विवाह भएको केही समयसम्म गोप्य राखेका थिए। उनी सन् २०१२ मा पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएकी थिइन्।

दुवैले सन् २००९ मा विवाह गरेको दक्षिण कोरियाली मिडियाले जनाएको छ। सन् २०१० मा उनीहरूको बच्चा पनि जन्मिएको थियो। रि सोल जु किम जु एकी पनि आमा भएको विश्वास गरिन्छ। 

को हुन् किम जु ए? 


किम जु एको नाम पहिलोपटक सन् २०१३ मा सार्वजनिक भएको थियो, जतिबेला सेवानिवृत्त अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानले उत्तर कोरियाको भ्रमण गरेका थिए।

त्यस क्रममा आफूले किमको परिवारसँग समय बिताएको, समुद्र तटमा भ्रमण गरेको, अनि किमको बच्चालाई लिएको र उनीहरूले आफ्नो बच्चाको नाम किम जु ए बताएको डेनिस रोडम्यानले बताएका थिए। 

सियोलको कुकमिन विश्वविद्यालयमा उत्तर कोरियाली राजनीतिको अनुसन्धान गरिरहेकी फेडर ट्रेटिस्की भन्छिन्, ‘उत्तर कोरियाली मिडियाले पनि उनलाई किम जोङ उनकी छोरी मात्र भनेर सम्बोधन गर्छन्, उनको उमेर वा नाम उल्लेख गर्दैनन्। सार्वजनिक रूपमा पनि योभन्दा बढी केही थाहा छैन।’

उनको अनुमानमा किमकी ती छोरीको उमेर १० वर्ष भयो होला। 

एनआईएसले गत वर्ष दक्षिण कोरियाली नेताहरूलाई निजी रूपमा किम जु एको नाम कुनै पनि शैक्षिक संस्थामा दर्ता नभएको बताएको थियो। उनी राजधानी प्योङयाङमा घरमै पढ्छिन्। उनी घोडा चढ्ने, पौडी खेल्ने र स्किइङ गर्न मन पराउँछिन्। 

एनआईएसका अनुसार किम जु एका दाइ र भाइ वा बहिनी पनि छन्, जसको लिंग एजेन्सीले पुष्टि गरेको छैन। उनीहरू सार्वजनिक रूपमा कहिल्यै देखिएका छैनन्।

किम जु एको पहिलो सार्वजनिक उपस्थिति


किम जु ए सन् २०२२ मा पहिलोपटक सार्वजनिक रूपमा आफ्ना बुवासँग क्षेप्यास्त्र परीक्षणका क्रममा देखिएकी थिइन्। यसपछि उनी आफ्ना बुवासँग केही सैन्य तथा नागरिक कार्यक्रममा पनि देखापरिन्।

हालै उनी प्योङयाङको मे १ स्टेडियममा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा बुबासँग देखिएकी थिइन्। उक्त कार्यक्रममा दुवैले एकअर्काको गालामा चुम्बन गरेका थिए।

गत डिसेम्बरमा उत्तर कोरियाको ठोस इन्धनमा आधारित अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ह्वासाङ–१८ को परीक्षणमा पनि बाबु–छोरी सँगै देखिएका थिए। यो उत्तर कोरियाको सबैभन्दा लामो दूरीको मिसाइल हो।

गत नोभेम्बरमा मलियाङ–१ को जासुसी भूउपग्रह प्रक्षेपणमा पनि जु ए  बुवासँगै उपस्थित भएकी थिइन्। यो स्याटेलाइटले किम जोङ उनलाई ह्वाइट हाउसको दृश्य देखाउने उत्तर कोरियाको दाबी छ।

२०२३ फेब्रुअरीमा रेडियो फ्रि एसियाले उत्तर कोरियाली सरकारले किम जु एलाई आफ्नो नाम परिवर्तन गर्न आदेश दिएको खबर दिएको थियो। समाचारमा यो पनि भनिएको थियो– किमको परिवारका लागि यो कुरा सामान्य हो।

उत्तर कोरियाका पर्यवेक्षकहरूले पनि किम जु एलाई ‘प्रिय’भन्दा पनि ‘सम्मानित छोरी’ भनेर सम्बोधन गर्न थालेको टिप्पणी गरेका छन्। ‘सम्मानित’ विशेषण उत्तर कोरियाका सबैभन्दा सम्मानित व्यक्तिहरूका लागि आरक्षित छ।

जब किम जोङ उत्तर कोरियाको आगामी नेता हुने निर्णय भयो, उनलाई ‘सम्मानित कमरेड’ भनेर सम्बोधन गर्न थालियो।

सम्भावित उत्तराधिकारी को?
उत्तर कोरिया एक पृथक देश हो, त्यसैले किम जु एई आफ्नो बुबासँग किन बारम्बार देखिन्छन् भन्ने कुरा बाँकी संसारलाई स्पष्ट छैन।

उत्तर कोरियाका मानिसहरूलाई किम धेरै पवित्र वंशबाट आएको हो, त्यसैले उनले मात्र देशको नेतृत्व गर्न सक्छन् भनेर बताइन्छ।

केही विश्लेषकका अनुसार यति कम उमेरमै छोरीलाई सार्वजनिक रूपमा प्रस्तुत गर्नु पनि उत्तर कोरियाली नेताले आफ्नी छोरीले सत्तामा आउनुअघि आफूलाई राम्रोसँग स्थापित गर्न सकून् भन्ने एक चाल हुन सक्छ।

कतिपय के पनि भन्छन् भने किम जोङ उनले पितृसत्तात्मक समाजमा आफूलाई फरक व्यक्तिका रूपमा देखाउन खोजेका हुन्। 

सन् १९४८ मा उत्तर कोरिया स्थापना भएदेखि नै त्यहाँ किम परिवारका पुरुष सदस्यहरूले शासन गरिरहेका छन्। किम जु ए एकदिन आफ्नो पिताको उत्तराधिकारी बनिन् भने उनी देशको नेतृत्व गर्ने पहिलो महिला हुनेछिन्।

कोरियाली प्रायद्वीपका विशेषज्ञ तथा अक्सफोर्ड विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक एडवर्ड होवेल भन्छन्, ‘उत्तर कोरियाको नेतृत्वमा पुग्न किम परिवारको सदस्य हुनु यति महत्त्वपूर्ण छ कि अन्य परिवारको पुरुष सदस्य हुनुभन्दा किम परिवारमा महिला भएर जन्मिनु राम्रो हो।’

किमका सम्भावित उत्तराधिकारी अरू पनि छन्?


 एडवर्ड होवेलका अनुसार किम जोङ उनको अर्को सम्भावित उत्तराधिकारी पनि छिन्, उनी हुन्– उनकी बहिनी किम यो जोङ। उनी कोरियाको सत्तारुढ वर्कर्स पार्टीका वरिष्ठ अधिकारी हुन्।

होवेल भन्छन्, ‘उनी किम जु एभन्दा धेरै जेठी छिन् र उनलाई उत्तर कोरियाली राजनीतिमा धेरै अनुभव छ।’ यस्तो अवस्थामा छोरी वा बहिनी, दुईमध्ये एक महिलै उत्तराधिकारी हुन सक्छन् तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उनी किम हुन्।’

दक्षिण कोरियाको गुप्तचर एजेन्सी एनआईएसले पनि उनी अहिले पनि धेरै सम्भावनाबारे विचार गरिरहेका छन्, किनभने त्यहाँ धेरै कारक छन्। 

फेडर ट्रेटिस्कीको विश्लेषणमा आफ्नी छोरी किम जु एलाई सार्वजनिक रूपमा प्रस्तुत गरेर किम जोङ उनले आफ्नो सम्भावित उत्तराधिकारीबारे जनता र अभिजात वर्गको राय बुझ्ने प्रयास गरिरहेका छन्। तर सामान्यतया उत्तराधिकारी नतोक्दासम्म यसबारे अहिले केही भन्न सकिँदैन।

उनी  भन्छिन्, ‘मानौँ किमको मृत्यु उनको बुबाजस्तै ७० वर्षको उमेरमा भयो भने सन् २०५४ मा यस्तो हुनेछ। त्यसो त उत्तर कोरियाको वर्तमान स्वरूप कहिलेसम्म रहन्छ भन्ने कुरामा पनि यो विषय निर्भर रहन्छ, भोलिका दिनमा समाज अहिलेको जस्तै नरहन पनि सक्छ।’

उनी थप्छिन्, ‘सामान्य रूपमा लैङ्गिक समानता स्वीकार्नु र महिलालाई शासकका रूपमा स्वीकार्नुमा भिन्नता छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .