ग्लोबल


६ वर्षपछि उत्तर कोरिया–चीन रेल सेवा पुन: सञ्चालन

६ वर्षपछि उत्तर कोरिया–चीन रेल सेवा पुन: सञ्चालन

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १४:५९, काठमाडौँ

करिब ६ वर्षपछि उत्तर कोरिया र चीनबिच पुनः रेल सेवा सञ्चालन गरिएको छ। 

प्योङयाङबाट छुटेको रेल करिब २३ घण्टाको यात्रापछि शुक्रबार बिहान बेइजिङ पुगेको छ, जसले महामारीका कारण बन्द भएको दुई देशबिचको रेल आवागमन पुनः सुरु भएको सङ्केत दिएको छ।

प्योङयाङबाट प्रस्थान गरेको के२८ नम्बरको रेल शुक्रबार बिहान ८:३७ बजे (००३७ जिएमटी) बेइजिङ पुगेको बताइएको छ।

कोरोना महामारीका बेला कडा सीमा बन्द गरिएपछि सन् २०२० देखि पूर्वी एसियाका यी दुई छिमेकीबिच रेल सेवा स्थगन गरिएको थियो।

चीन उत्तर कोरियाको सबैभन्दा ठुलो व्यापारिक साझेदारका रूपमा चिनिन्छ।

त्यस्तै पृथक मानिने आणविक राष्ट्र उत्तर कोरियाका लागि चीन कूटनीतिक, आर्थिक तथा राजनीतिक समर्थनको महत्त्वपूर्ण स्रोतसमेत मानिन्छ।

रेल सेवा पुनः सुरु हुनुलाई उत्तर कोरियामा विदेशीहरूको सीमित पहुँच पुनः खुल्न थालेको सङ्केतका रूपमा पनि हेरिएको छ।

हालसम्म उत्तर कोरियाले सीमित व्यवस्थाअन्तर्गत केही रुसी नागरिकबाहेक अन्य विदेशी पर्यटकका लागि कडा प्रतिबन्ध लगाएको पर्यटन एजेन्सीहरूले उल्लेख गरेका छन्।

दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार बिहीबार उक्त रेल चीन र उत्तर कोरियालाई जोड्ने यालु नदीमाथिको चीन–कोरिया मैत्री पुल पार गरेको देखिएको थियो। यही नदीले उत्तर कोरियाको सिनुइजु सहर र चीनको उत्तरपूर्वी सहर डान्डोङलाई छुट्याउँछ।

बिहीबार बेइजिङबाट प्योङयाङतर्फ प्रस्थान गरेको के२७ नम्बरको रेलमा सवार एएफपीका पत्रकारहरूले उत्तर कोरिया जाने यात्रुका लागि मात्र केही डिब्बा आरक्षित गरिएको देखेको बताएका छन्।

ती डिब्बाहरू डान्डोङमा अर्को रेलसँग जोडेर सीमापार सिनुइजुतर्फ पठाइन्छ, जसबारे टुर एजेन्सीहरूले जानकारी दिएका छन्।

सिनुइजु पुगेपछि ती डिब्बाहरू उत्तर कोरियाली घरेलु रेलका अन्य डिब्बासँग जोडेर प्योङयाङतर्फ जाने तेस्रो रेलमार्फत अन्तिम यात्रामा पठाइने व्यवस्था गरिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad