अमेरिकामा जन्मेका केही बालबालिकालाई नागरिकताको संवैधानिक अधिकार हुन्छ कि हुँदैन भन्ने मुद्दा त्यहाँको सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष जनवरीमा आफ्नो कार्यकालको पहिलो दिन देशमा अवैध रूपमा बसोबास गर्ने आमाबाबुबाट जन्मेका बालबालिकालाई जन्मसिद्ध नागरिकता दिने प्रणाली अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका थिए।
तर त्यसलाई अमेरिकाका तल्ला अदालतहरूले रोक लगाएका थिए।
अब उक्त मुद्दा सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको हो। तर सुनुवाइको मिति तय भइनसकेको बीबीसीले जनाएको छ।
लगभग १६० वर्षदेखि अमेरिकी संविधानको १४औँ संशोधनले देशमा जन्मेका प्रत्येक बालबालिका अमेरिकी नागरिक हुन् भन्ने सिद्धान्त स्वीकार गरेको छ।
तर यो नियम कूटनीतिज्ञ र विदेशी सैन्य कर्मचारीका बालबालिकामा लागु हुँदैन।
Shares

प्रतिक्रिया