न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इरान युद्धको विरोध गरेका छन्।
उनले युद्धले सबैभन्दा बढी सर्वसाधारण नागरिकले ठुलो मूल्य चुकाइरहनुपरेको उल्लेख गर्दै अब अन्त्य हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल एक्समा ममदानीले लेखेका छन्, ‘तीन महिनाअघि एउटा युद्ध सुरु भयो, जसलाई कसैले पनि मतदान गरेका थिएनन्। तर यसको मूल्य ती मानिसले चुकाए, जसको यसमा कुनै आवाज थिएन।’
युद्धमा हजारौँ जनाले ज्यान गुमाएको उल्लेख गर्दै १३ जना अमेरिकी सैनिक पनि मारिएको बताएका छन्।
ममदानीले भनेका छन्, ‘यो युद्धको प्रभाव युद्ध क्षेत्रमा मात्र सीमित छैन, सामान्य अमेरिकीहरूलाई पनि असर गरिरहेको छ।’
युद्धका कारण पेट्रोल र खाद्यान्नको मूल्य बढेको उल्लेख गर्दै उनले मध्यम र श्रमिक वर्ग मारमा परिरहेको बताए।
उनले यो द्वन्द्व अमेरिकी संसद् (कंग्रेस) को स्वीकृतिबिना नै सुरु गरिएको आरोप पनि लगाएका छन्।
ममदानीले भनेका छन्, ‘विदेशमा गुमाउने हरेक जीवन र अमेरिकाका सामान्य परिवारमा पर्ने प्रत्येक आर्थिक बोझ एउटै लापरवाह निर्णयको मूल्य हो।’
इजरायलसँग इरानविरुद्ध युद्ध गर्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको देशभित्रै विरोध भइरहेको छ।
Shares

प्रतिक्रिया