भारतको हिमाचल प्रदेश प्रहरीले दिल्ली प्रहरीका २० जवानलाई हिरासतमा लिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पूर्वसूचनाबिनै अन्तरराज्यीय गिरफ्तारी गर्न आएको भन्दै हिमाचल प्रदेश प्रहरीले दिल्ली प्रहरीको टोलीलाई नियन्त्रणमा लिएको हो।
वास्तवमा दिल्ली प्रहरीले भारत एआई इम्प्याक्ट समिट २०२६ मा सर्ट फुकालेर विरोध गरेकामा सिमलाको रोहुरुबाट इन्डियन युथ कंग्रेसका तीन जना कार्यकर्तालाई पक्राउ गरेको थियो।
तर सोलन जिल्लामा हिमाचल प्रदेश प्रहरीले दिल्ली प्रहरी टोलीलाई रोकेर २० जवानलाई हिरासतमा लिएको हो।
राज्य प्रहरीले भनेको छ, ‘दिल्ली प्रहरीले स्थानीय प्रहरीलाई कुनै सूचना दिएन, जुन अन्तरराज्यीय गिरफ्तारीका लागि आवश्यक छ।’
यसअघि मंगलबार मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले भनेका छन्, ‘दिल्ली प्रहरीले हिमाचल सदनमा मध्यरातमा छापा मारेको थियो। यो घटना हुँदा म हिमाचल सदनमा उपस्थित थिएँ। मेरा साथी विधायक सुरेश कुमारले मलाई जानकारी दिए कि दिल्ली प्रहरीको टोलीले परिसरमा छापा मारेको छ। म स्तब्ध भएँ। हाम्रा आवासीय आयुक्तलाई पनि यसबारे जानकारी दिइएन। म यसको निन्दा गर्छु।’
उनले थप भनेका छन्, ‘यो छापा दुर्भाग्यपूर्ण थियो र वारेन्टबिना गरिएको थियो। यो गलत र संवैधानिक प्रक्रियाविरुद्ध हो।’
उल्लेखनीय छ- यही फेब्रुअरी २० मा दिल्लीको भारत मण्डपममा भएको एआई इम्प्याक्ट समिटका क्रममा केही इन्डियन युथ कंग्रेसका कार्यकर्ताहरूले आफ्नो सर्ट फुकालेर विरोध प्रदर्शन गरेका थिए।
उनीहरूले भारत-अमेरिका व्यापार सम्झौताका साथै प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध पनि नाराबाजी गरेका थिए।

यस घटनामा अहिलेसम्म आठ जनाभन्दा बढी युथ कंग्रेसका सदस्य पक्राउ परिसकेका छन्, जसमा राष्ट्रिय अध्यक्ष उदय भानु चिबसमेत छन्।
Shares

प्रतिक्रिया