अमेरिकाका लागि पूर्वबेलायती राजदूत पिटर म्यान्डेलसनलाई बेलायतको प्रहरीले पक्राउ गरेको छ।
विश्व चर्चित एपस्टिन मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा पिटर म्यान्डेलसनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।
लन्डन महानगरीय प्रहरीले ७२ वर्षीय म्यान्डेलसनलाई सोमबार उत्तरी लन्डनको क्याम्डेनबाट पक्राउ गरेको हो।
सोधपुछका लागि उनलाई प्रहरी कार्यालयमा लगिएको बीबीसीले जनाएको छ।
एपस्टिन यौन प्रकरणमा मुछिएपछि बेलायतको लेबर पार्टीका नेतासमेत रहेका पिटर म्यान्डेलसनले हालै पार्टीबाट पनि राजीनामा दिएका थिए।
एउटा यौन अपराधमा जेल सजाय भोगेर अर्को यस्तै अभियोगमा पक्राउ गरिएका अमेरिकी नागरिक जेफ्री एपस्टिनले सन् २०१९ मा हिरासतमै आत्महत्या गरेका थिए।
उनले गरेको यौन अपराधमा उच्च ओहोदाका व्यक्ति पनि जोडिएको पाइएको छ।
यसै क्रममा अमेरिकाको न्याय विभागले एकपछि अर्को तस्बिर/भिडिओसहितका फाइल जारी गरिरहेको छ।
त्यसमा बेलायतको पूर्वक्याबिनेट मन्त्री म्यान्डेलसन पनि देखिएपछि उनलाई गत वर्ष अमेरिकाका लागि बेलायती राजदूत पदबाट हटाइएको थियो।
सार्वजनिक फाइलअनुसार, एपस्टिनले २००३ र २००४ मा २५ हजार डलरको तीन अलग-अलग कारोबारमा पिटर म्यान्डेलसनलाई ७५ हजार डलर तिरेका थिए।
एपस्टिन यौन प्रकरणको अनुसन्धानमा बेलायतकै राजा चार्ल्सका भाइ एन्ड्र्यु माउन्टबेटन-विन्डसर पनि तानिएका छन्।
त्यही कारण गत अक्टोबरमा ‘राजकुमार’सहित सबै उपाधि खोसिएका उनलाई अब कहिले राजा बन्न नसक्ने गरी कानुन ल्याउने विचार बेलायत सरकारले गरिरहेको छ। हाल एन्ड्र्यु माउन्टबेटन-विन्डसर राजकुमार नरहे पनि उत्तराधिकारीको लाइनमा भने आठौँ नम्बरमा अझै छन्।
एन्ड्र्यु माउन्टबेटनले यौन अपराध मुद्दा लागेका अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग मिलेर किशोरीको यौन शोषण गरेको आरोप लागेको छ।
सोही प्रकरणमा प्रहरीले गत बिहीबार साँझ एन्ड्र्युलाई पक्राउ पनि गरेको थियो। तर अनुसन्धान जारी नै राख्ने गरी उनलाई ११ घण्टापछि प्रहरीले रिहा गरेको थियो।
एन्ड्र्यु माउन्टबेटनले भने आफूले कुनै गलत काम नगरेको दाबी गरेका छन्।
तर अमेरिकी सरकारले जारी गरेको एपस्टिनसँग सम्बन्धित फाइलमा उनी किशोरीसँग शंकास्पद अवस्थामा देखिएका छन्।


अमेरिकी सरकारले हालै जारी गरेको कागजातमा एपस्टिन र एन्ड्र्युबिचको कुराकानी छ।
एपस्टिन मुद्दाकी पीडित भर्जिनिया गिफ्रेले आफू १७ वर्षको छँदा सन् २००१ एन्ड्र्युले यौन शोषण गरेको आरोप लगाएकी छन्।
दोषी ठहरिएमा ६६ वर्षीय एन्ड्र्युलाई आजीवन कारावास हुन सक्छ।
आरोप लगाउने गिफ्रेको भने २०२५ अप्रिलमा मृत्यु भइसकेको छ। जसलाई आत्महत्या भनिएको छ।
एपस्टिन यौन प्रकरणले विश्वमै हलचल ल्याएको छ।
यही कारण १० देशमा विभिन्न पदका व्यक्तिले राजीनामा दिनुपरेको छ भने ८० शक्तिशाली व्यक्तिविरुद्ध अनुसन्धान भइरहेको छ।
Shares

प्रतिक्रिया