पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमणमा कम्तीमा १० सैनिकको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।
बीबीसी उर्दुका अनुसार, बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको एक भवनमा विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट भएको हो। भवन पहिले मदरसा थियो तर पछि यसलाई सुरक्षा चौकीमा परिणत गरिएको थियो।
सुरक्षा चौकीमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १० कर्मचारीको मृत्यु भएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन्।
मृतकहरूमा एक प्रहरी र नौ फ्रन्टियर कोर्प्सका सैनिक छन्। भग्नावशेषबाट थप शव निकाल्ने क्रम जारी छ।
एक अधिकारीले बीबीसी उर्दुलाई बताएअनुसार अज्ञात व्यक्तिहरूले फ्रन्टियर कोर्प्स चौकीमा विस्फोटक पदार्थले भरिएको गाडी ठोकाएका हुन्।
सेनाले अहिलेसम्म कुनै विज्ञप्ति जारी गरेको छैन, तर खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले आत्मघाती आक्रमणको निन्दा गरेका छन्।
Shares

प्रतिक्रिया