अस्ट्रेलिया र इन्डोनेसियाले दक्षिणपूर्वी एसियाको अर्थतन्त्रमा सहयोग र नयाँ सैन्य प्रशिक्षण सुविधाका लागि मार्ग प्रशस्त गर्दै शुक्रबार सुरक्षा सन्धिमा हस्ताक्षर गरेका छन्।
सम्झौताले अस्ट्रेलियाको रक्षा बलभित्र एकजना वरिष्ठ इन्डोनेसियाली अधिकारीलाई समावेश गराउने रक्षा पहललाई सहज बनाउने अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले विज्ञप्तिमार्फत बताएका छन्।
इन्डोनेसियाको संयुक्त अभ्यास गर्ने क्षमता बढाउन सैन्य प्रशिक्षण सुविधा विकासमा पनि अस्ट्रेलियाले सहयोग गर्ने उनले उल्लेख गरेका छन्।
क्यानबेराले चीनको बढ्दो प्रभावको सामना गर्न एसिया-प्रशान्त क्षेत्रमा आफ्नो सैन्य शक्ति बढाउन खोजिरहेको जनाइएको छ।
अल्बनिजले सन्धिलाई राष्ट्रहरूका सम्बन्धमा एउटा ऐतिहासिक क्षणका रूपमा स्वागत गरेका छन्।
इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले नयाँ सन्धिले ‘असल छिमेकी सिद्धान्तप्रति दृढ प्रतिबद्धता र इन्डोनेसियाको स्वतन्त्र र सक्रिय विदेश नीतिलाई प्रतिबिम्बित गरेको’ बताएका छन्।
हाल अस्ट्रेलियाका प्रधानमन्त्री अल्बनिज इन्डोनेसियाको भ्रमणमा छन्। भ्रमण शनिबार सकिँदै छ।
उनले यो सन्धिलाई सुरक्षा र रक्षा सहयोगका रूपमा वर्णन गर्दै अस्ट्रेलियामा इन्डोनेसियाको बढ्दो लगानीको प्रशंसा गरेका छन्।
सन्धि सन् २०२४ को रक्षा सम्झौतामा आधारित छ, जसले विवादित एसिया-प्रशान्त क्षेत्रमा घनिष्ठ सहयोगको प्रतिज्ञा गरेको छ।
सन् २०२४ को सम्झौता हस्ताक्षर भएको केही महिनापछि हजारौँ इन्डोनेसियाली र अस्ट्रेलियाली सेनाले पूर्वी जाभामा संयुक्त अभ्यास गरेका थिए।
Shares

प्रतिक्रिया