चीन र रुसले संयुक्त रूपमा ‘एन्टी-मिसाइल’ (क्षेप्यास्त्रविरोधी) अभ्यास गरेको कुरा सार्वजनिक भएको छ।
चीनको रक्षा मन्त्रालयले शनिबार राति बताएअनुसार यही डिसेम्बरको सुरुमा चीन र रुसले रुसी क्षेत्रमा तेस्रो चरणको संयुक्त क्षेप्यास्त्रविरोधी अभ्यास गरेका हुन्।
तर त्यो अभ्यास कुनै तेस्रो देशलाई लक्ष्य गरेर वा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिको प्रतिक्रियामा गरिएको थिएन भनेर मन्त्रालयको वेबसाइटमा रहेको विज्ञप्तिमा उल्लेख छ।
रोयटर्सका अनुसार, दुई देशले गत महिना क्षेप्यास्त्र रक्षा र रणनीतिक स्थिरतामा वार्ता गरेका थिए। उनीहरूले अगस्टमा जापानको सागरमा तोपखाना र पनडुब्बी विरोधी अभ्यास पनि गरेका थिए।
रुस र चीनले युक्रेनमा रुसी आक्रमण हुनुभन्दा ठिकअघि २०२२ मा ‘नो लिमिट्स’ रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए।
सम्झौताअन्तर्गत दुई देश आफ्ना सेनाबीच समन्वय बढाउन नियमित सैन्य अभ्यास गर्न सहमत भएका थिए।
दुवै देशले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘गोल्डेन डोम’ क्षेप्यास्त्र ढाल निर्माण गर्ने र ३० वर्षपछि आणविक परीक्षण पुनः सुरु गर्ने योजनामा पनि चिन्ता व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया