लेबनानी र इजरायली नागरिक प्रतिनिधिहरूले हिजबुल्लाहसँगको युद्धमा एक वर्षअघि लागु भएको युद्धविराम अनुगमन संयन्त्रअन्तर्गत दशकौँपछिको बुधबार पहिलो प्रत्यक्ष वार्ता गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जनाएको छ।
सन् २०२४ नोभेम्बरमा लागु भएको युद्धविरामको निरीक्षण गर्ने संयन्त्रको एक भागका रूपमा दुवै पक्ष इजरायलसँगको सीमानजिकै लेबनानको नकुरामा रहेको संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको मुख्यालयमा भेटेका हुन्।
अहिलेसम्म औपचारिक कूटनीतिक सम्बन्ध नभएका इजरायल र लेबनानले यस भूमिकामा सैन्य अधिकारीहरूलाई नै राख्ने कुरामा जोड दिइरहेका थिए।
‘लेबनानमा आजको बैठक इजरायल र लेबनानबीच सम्बन्ध र आर्थिक सहयोगको आधार स्थापना गर्ने एक प्रारम्भिक प्रयास हो। यो एक ऐतिहासिक विकास हो,’ नेतन्याहुकी प्रवक्ता सोस बेड्रोसियनले भनिन्।
‘यो लेबनानसँगको सम्बन्धमा नयाँ मार्ग प्रशस्त गर्ने पहिलो कदम हो र यो स्पष्ट छ। लेबनानीहरूले आफूले सामना गरिरहेका आर्थिक चुनौतीहरूलाई स्वीकार गरेका छन्,’ उनले पत्रकार सम्मेलनमा भनिन्।
बेरुतस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी भनेको छ, ‘लेबनानका लागि अमेरिकी विशेष दूत मोर्गन ओर्टागसले पनि बुधबारको बैठकमा भाग लिनुभएको छ।’
संयुक्त राज्य अमेरिकाले हिजबुल्लाहलाई द्रुत रूपमा निशस्त्र गराउन लेबनानमाथि दबाब बढाइरहेको छ। इजरायलस्थित वासिङटनको दूतावासले युद्धविराम अनुगमन संयन्त्रको एक भागका रूपमा वार्तामा अमेरिकाका लागि पूर्व लेबनानी राजदूत साइमन कराम र इजरायली राष्ट्रिय सुरक्षा परिषद्का अधिकारी उरी रेस्निकसहितका नागरिक प्रतिनिधिहरूलाई समावेश गरेमामा स्वागत गरेको छ।
‘उनीहरूको समावेशले द्वन्द्वबाट प्रभावित सबै समुदायहरूका लागि सुरक्षा, स्थिरता र दिगो शान्ति हासिल गर्ने उद्देश्यले राजनीतिक र सैन्य छलफलहरूलाई सहजीकरण गर्ने संयन्त्रको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
ओर्टागस मङ्गलबारदेखि जेरुसेलममा छन् र उनले नेतन्याहु र इजरायली विदेशमन्त्री गिडियन सारसँग भेट गरेका छन्। संयुक्त राज्य अमेरिकाले यस क्षेत्रलाई स्थिर बनाउने र इरान-समर्थित हिजबुल्लाहलाई थप कमजोर बनाउने प्रयासमा दुई छिमेकीहरूबीच प्रत्यक्ष वार्ताका लागि दबाब दिएको छ।
लेबनानी राष्ट्रपति जोसेफ औनको कार्यालयले बुधबार पहिले नै आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व करामले गर्ने र इजरायलले आफ्नो प्रतिनिधिमण्डलमा ‘एक गैरसैन्य सदस्य’ समावेश गर्ने जानकारी गराएको थियो। लेबनानले आफ्नो दक्षिणी छिमेकीसँग वार्ताका लागि आफू तयार रहेको घोषणा गरेको छ।
इजरायलका प्रधानमन्त्री नेतन्याहुले लेबनान अब्राहम सम्झौतामा सामेल हुनुपर्छ भनी बारम्बार भनेका छन्। केही अरब र मुस्लिम देशहरूले इजरायलसँग सम्बन्ध सामान्य गरेका छन्।
इजरायलद्वारा लेबनानमा आक्रमण गरेपछि दुई देशबीच सन् १९८३ मा प्रत्यक्ष वार्ता भएको थियो। जसको परिणामस्वरूप सम्बन्ध स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो। यसलाई कहिल्यै अनुमोदन गरिएको भने थिएन।
सम्बन्धको आधार
यो घोषणा इजरायल र हिजबुल्लाहबीच युद्धविराम सुरु भएको पहिलो वर्ष पूरा भएको केही दिनपछि आएको हो। हिजबुल्लाहसँगको युद्धविरामले उक्त लडाकु समूहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा आक्रमण गरेपछि सुरु भएको एक वर्षभन्दा बढीको शत्रुता अन्त्य गरेको थियो।
युद्धविरामका बाबजुद इजरायलले हिजबुल्लाहका सदस्य र पूर्वाधारलाई निसाना बनाएको भन्दै समूहलाई आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्नबाट रोक्न लेबनानमा बारम्बार बमबारी गरेको छ।
सरकार-अनुमोदित योजनाअनुसार लेबनानी सेनाले देशका बाँकी भागहरूमा काम गर्नुअघि वर्षको अन्त्यसम्ममा नदीको दक्षिणमा हिजबुल्लाहको सैन्य पूर्वाधार भत्काउने तयारी गरेको छ। लेबनानी प्रयास अपर्याप्त ठानेर इजरायलले हालैका हप्ताहरूमा आफ्ना आक्रमण बढाएको छ। (रासस/एएफपी)
Shares

प्रतिक्रिया