पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको जिल्ला तथा सत्र अदालतबाहिर मंगलबार आत्मघाती विस्फोट गराइएको छ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले सञ्चारमाध्यमलाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
पाकिस्तानको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरी आक्रमणको दोष भारतलाई लगाएको छ। भारतले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
गृहमन्त्री मोहसिन नक्वीले सुरक्षा एजेन्सीहरूले आक्रमणकारीको पहिचान गर्ने प्रयास गरिरहेको बताएका छन्।
मोहसिन नक्वीले भने, ‘दिउँसो १२:३९ बजे अदालतमा आत्मघाती हमला भएको हो। आक्रमणमा ठूलो क्षति भएको छ। १२ जनाको मृत्यु भएको छ भने लगभग २७ जना घाइते भएका छन्। घाइतेहरूको हाल उपचार भइरहेको छ। प्रधानमन्त्री आफैँले घाइतेहरूको उचित उपचार गर्न अनुरोध गर्नुभएको छ।’
प्रहरीले विस्फोटको स्रोत अहिलेसम्म पत्ता लगाएको छैन, तर वकिल, न्यायाधीश र सर्वसाधारणलाई हटाएर अदालत खाली गराइएको छ।
प्रहरी र उद्धार टोलीले घटनास्थलमा प्रमाण संकलन गरिरहेका छन्।
समाचार एजेन्सी रोयटर्सले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताएको छ।
प्रहरीले भनेको छ, ‘विस्फोटको अनुसन्धान भइरहेको छ। यद्यपि, कारण अझै थाहा भएको छैन। फोरेन्सिक टोलीबाट जानकारी प्राप्त गरेपछि हामी थप जानकारी प्रदान गर्न सक्षम हुनेछौँ।’
विस्फोट इस्लामाबाद जिल्ला अदालतको प्रवेशद्वारनजिकै भएको थियो, जहाँ सेवाग्राहीको भिड हुन्छ।
भारतविरुद्ध पाकिस्तानी प्रधानमन्त्रीको आरोप
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले इस्लामाबादको जी-११ अदालतमा भएको आत्मघाती हमलाको निन्दा गरेका छन् र आक्रमणमा "भारत समर्थित" अतिवादी समूह संलग्न रहेको आरोप लगाएका छन्।
बीबीसी उर्दुका अनुसार, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले विज्ञप्तिमा भनेका छन्, ‘भारतीय आतंकवादी प्रोक्सीहरूद्वारा पाकिस्तानमा निहत्था नागरिकहरूमाथि गरिएको आतंकवादी आक्रमण निन्दनीय छ।’
प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘भारत यस क्षेत्रमा प्रोक्सीहरूमार्फत आतंकवाद फैलाउने घृणित कार्यबाट टाढा रहनुपर्छ।’
पाकिस्तानले लगाएको आरोपमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
Shares

प्रतिक्रिया