रुसको सुदूरपूर्वी तटनजिकै बुधबार बिहान ८.७ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरमा रुसको सीमाना जोडिएका धेरैवटा देशमा सुनामीको चेतावनी जारी गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुस, जापान र अमेरिकापछि क्यानडा, इक्वेडर, पेरु, मेक्सिको, न्युजिल्यान्ड, चीन, फिलिपिन्स, ताइवान र इन्डोनेसियामा पनि सुनामीको खतरा बढेको हो।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिक एजेन्सीले पूर्वी इन्डोनेसियाका केही भागमा सुनामीको चेतावनी जारी गरेको छ।
भूकम्पको केन्द्रबिन्दुनजिकै भएकाले पूर्वी चीनमा पनि सुनामीको सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।
रुसको सेभेरो-कुरिलस्क सहरमा सुनामीका छाल आएका छन्। जसका तस्बिर सार्वजनिक भएका छन्।

अमेरिकाको हवाईमा पनि सुनामीको चेतावनी जारी भएपछि मानिसहरू राज्य छाडेर धमाधम सुरक्षित स्थानमा गइरहेका छन्। मानिसहरूले घर छाड्ने क्रम सुरु भएसँगै सडकमा ठूलो संख्यामा सवारीसाधन देखिएका छन्।

यस्तै रुसमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीका कारण जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न भनिएको छ।
यीमध्ये १० हजार ५०० मानिस होक्काइडोमा छन्, जहाँ स्थानीय मिडिया फुटेजमा मानिसहरू छतमा देखिएका छन्।

अधिकारीहरूले मानिसहरूलाई जापानको उत्तरी तटीय क्षेत्र खाली गर्न र उच्च भूभागमा सर्न आग्रह गरेका छन्।
जापानको प्रशान्त तटमा दर्जनौँ सुनामी छाल आएका छन्।
ट्रम्पको आग्रह
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्का र प्रशान्त तटमा सुनामीको निगरानी भइरहेको बताएका छन्।
उनले एक्समा लेखेका छन्, ‘प्रशान्त महासागरमा आएको ठूलो भूकम्पका कारण हवाईमा सुनामी चेतावनी जारी गरिएको छ। अलास्का र अमेरिकी प्रशान्त तटमा सुनामी निगरानी जारी छ।’
उनले जापानले पनि यसको निगरानी गरिरहेको उल्लेख गरेका छन्।
ट्रम्पले मानिसहरूलाई सुनामीसम्बन्धी जानकारीका लागि tsunami.gov मा जान आग्रह गर्दै भनेका छन्, ‘सशक्त रहनुहोस्, सुरक्षित रहनुहोस्।’
अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार दिएको जानकारीअनुसार रुसको कामचट्का प्रायद्वीपनजिकै ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।
जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार बिहान ८:२५ बजे भूकम्प गएको बताएको छ।
अहिलेसम्म भूकम्पका कारण मानवीय क्षतिको खबर आइसकेको छैन।
Shares

प्रतिक्रिया