युरोपेली नौसेना मिसनले यमनका हुथी विद्रोहीहरूले एउटा कार्गो जहाजमा आक्रमण गरेर लाल सागरमा डुबाइदिएको बताएको छ।
जहाज चालक दलका ६ सदस्य उद्धार गरिएकामा कम्तीमा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) एजेन्सीका अनुसार, 'इटर्निटी सी' नामक लाइबेरियाली झण्डा भएको जहाजमा जम्मा २५ जना चालक दलका सदस्य थिए।
सोमबार एउटा सानो डुंगाबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीजी) ले जहाजमा ठूलो क्षति पुगेको छ।
इरान-समर्थित हुथी विद्रोहीले इजरायलतर्फ जाँदै गरेको 'इटर्निटी सी'मा आक्रमण गरिएको बताएका छन्।
उनीहरूले चालक दलका सदस्यहरूलाई बन्धक पनि बनाएका छन्।
यमनमा रहेको अमेरिकी दूतावासले हुथी विद्रोहीहरूले 'धेरै जना चालक दलका सदस्यलाई अपहरण गरेको' र उनीहरूको तत्काल रिहाइको माग गरिएको बताएको छ।
एक हप्ताभित्र हुथी विद्रोहीहरूले डुबाएको यो दोस्रो जहाज हो। यसअघि उनीहरूले कार्गो जहाज 'म्याजिक सिप'मा मिसाइल र ड्रोनले आक्रमण गरी डुबाएका थिए।
बुधबार, लाल सागरमा तैनाथ युरोपेली संघको नौसेना मिसन 'अपरेसन एस्पाइड्स'ले पहिले बेपत्ता ६ जना चालक दलका सदस्यलाई उद्धार गरिएको बताएको थियो।
एस्पाइड्सका एक अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार उनीहरूमध्ये पाँच जना फिलिपिन्सका नागरिक हुन् भने एक जना भारतीय हुन्। अन्य १९ जना भने बेपत्ता छन्।
Shares

प्रतिक्रिया