ग्लोबल


विनाशकारी युद्धको सँघारबाट पछि हटे भारत–पाकिस्तान

तुरुन्त युद्धविराम, तटस्थ स्थानमा वार्तामा बस्ने सहमति
विनाशकारी युद्धको सँघारबाट पछि हटे भारत–पाकिस्तान

नेपालखबर
बैशाख २७, २०८२ शनिबार १८:१९,

दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन्। शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्।

त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। 

ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन्। 

एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सरकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन्।’

‘शान्तिको मार्ग चुन्ने प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता, विवेक र शासनकलाको हामी सराहना गर्छौं,’ उनले थपेका छन्।

सहमतिको पुष्टि पाकिस्तानी विदेशमन्त्री इसाक दारले पनि गरेका छन्। उनले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको बताएका छन्।

‘पाकिस्तान र भारतले तत्काल लागू हुनेगरी युद्धविराम गर्ने सहमति गरेका छन्। पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग सम्झौता नगरी सधैँ शान्ति र सुरक्षाको प्रयास गर्दै आएको छ,’ उनले लेखेका छन्।

भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि यसको पुष्टि गरेका छन्। उनले भारत र पाकिस्तानले शनिबार साँझ पाँच बजेबाट जल, थल र आकाशमा सैन्य कारबाही र गोलीबारी बन्द गर्ने सहमति भएको पनि बताएका छन्।

‘पाकिस्तानका मिलिट्री अपरेसनका डाइरेक्टर जनरलले भारतका समकक्षीलाई ३:३५ बजे फोन गर्नुभएको थियो। उहाँहरूबीच दुवै पक्षले गोलीबारी र सम्पूर्ण सैन्य कारबाही भारतीय समयअनुसार ५ बजे बन्द गर्ने सहमति भएको छ। आज दुवै पक्षलाई सो समझदारी अनुरुपको निर्देशन दिइएको छ। उहाँहरूबीच मे १२ को मध्यान्न १२ बजे कुराकानी गर्ने सहमति भएको छ,’ मिश्रीले भने।

रुबियोका अनुसार उपराष्ट्रपति जेडी भान्स र उनले प्रधानमन्त्रीहरू नरेन्द्र मोदी र शहबाज सरिफका अलावा विदेशमन्त्री एस जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनिर र दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र असिम मलिकसँग कुरा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad