ग्लोबल


पाकिस्तानमा भारतको हवाई हमलापछि जम्मु-कश्मीरमा गोलाबारी

पाकिस्तानमा भारतको हवाई हमलापछि जम्मु-कश्मीरमा गोलाबारी

जम्मु-कश्मीरमा तैनाथ सुरक्षाकर्मी


नेपालखबर
बैशाख २४, २०८२ बुधबार १०:१०, काठमाडौँ

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा हवाई आक्रमण गरेपछि जम्मु-कश्मीरको सीमावर्ती क्षेत्र पुंछ, राजौरी, मेन्धर र उरी सेक्टरमा गोलाबारी भएको रिपोर्ट आएको छ।

गोलाबारीका कारण यी क्षेत्रमा आतंकको अवस्था बनेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

पुंछका स्थानीय जमरोद मुगलले बीबीसी हिन्दीलाई फोनमा बताएअनुसार जम्मुको पुंछ सेक्टरमा विस्फोटको आवाज सुनिएको छ।

उनले थप भनेका छन्- मानिसहरू अस्पताल र अन्य सुरक्षित स्थानमा गइरहेका छन्।

मुगलले  पुंछको मुख्य बजारमा रहेको वन विभागको कार्यालयनजिकै एउटा खोल खसेको बताएका छन्। 

त्यहाँको अवस्था अझै पनि तनावपूर्ण छ।

बुधबार बिहान उरी सेक्टरमा गोलाबारी भएको एक प्रहरी अधिकारीले फोनमा पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। 

यद्यपि, यस विषयमा उनले थप बताउन चाहेनन्।

यही अप्रिल २२ का दिन जम्मु-कश्मीरको पहलगाममा आतंककारीले गोली हानेर एक नेपालीसमेत २६ जना मारेको १५ दिनपछि भारतले मंगलबार मध्यराति पाकिस्तानमा हवाई हमला गरेको हो।  

आक्रमणमा कति जना मारिए भन्ने विषयमा अहिलेसम्म कुनै पनि भारतीय सञ्चारमाध्यमले एकिन जानकारी दिन सकेका छैनन्।

भारतीय पत्रिका दैनिक भास्करले भने सयभन्दा बढी आतंककारी मारिएको सूचना प्राप्त भएको दाबी गरेको छ। 

आक्रमणमा ७ सहरका आतंकवादी लुकेका ९ ठाउँलाई निशाना बनाइएको दाबी भारतले गरेको छ। 

तर पाकिस्तानले आतंककारीविरुद्धका नाममा भारतले सर्वसाधारण नागरिकमाथि आक्रमण गरेको दाबी गरेको छ। 

यसलाई भारतले 'अपरेसन सिन्दूर' नाम दिएको छ। 

पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।

समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै उक्त अपरेसन प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर निगरानी गरेको उल्लेख गरेको छ। 

यो तनावपूर्ण अवस्थालाई ध्यान दिँदै भारत र पाकिस्तान दुवैले प्रभावित क्षेत्रका स्कुल तथा कलेज बन्द गराएका छन् भने भारतीय एयरलाइन्सहरूले उडान रद्द गरेका छन्। 

यसैबीच अमेरिकाले भारत र पाकिस्तानको तनावपूर्ण अवस्थामा आफूले नजर राखिरहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad