अमेरिकी राष्ट्रपति कार्यालयको इन्स्टाग्राम अकाउन्टमा पोपका रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पको एआई तस्बिर सार्वजनिक गरिएपछि क्याथोलिक समुदायले कडा आपत्ति जनाएका छन्।
यही अप्रिल २१ मा क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिस बितेपछि यतिबेला क्याथोलिकहरू शोकमा छन्। त्यस्तो बेला ट्रम्प पोपको भेषमा देखा परेपछि उनीहरू रिसाएका हुन्।
इन्स्टाग्राममा पोस्ट तस्बिरमा ट्रम्पले पोपजस्तै सेतो पोसाक र टोपी लगाएका छन्, घाँटीमा ठूलो क्रस छ र गम्भीर तरिकाले एउटा औँला उठाएर उभिरहेका छन्।
न्युयोर्क स्टेट क्याथोलिक कन्फ्रेन्सले ट्रम्पले आफूहरूको आस्थाको मजाक उडाएको आरोप लगाएको छ।
केही दिनअघि मात्र ट्रम्पले पत्रकारहरूसँग ठट्टा गर्दै भनेका थिए, ‘म पोप बन्न चाहन्छु।’
ट्रम्प यस्तो आरोपको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति भने होइनन्।
एक वर्षअघि तत्कालीन राष्ट्रपति जो बाइडेनले गर्भपतनका पक्षमा भएको र्यालीमा 'क्रसको चिह्न' बनाएर क्याथोलिक समुदायलाई रिस उठाएका थिए।
भ्याटिकनका प्रवक्ताले ट्रम्पको तस्बिरमा कुनै टिप्पणी गरेका छैनन्। पोपको उत्तराधिकारीको निर्वाचनको प्रक्रिया बुधबार भ्याटिकनमा सुरु हुँदै छ।
न्युयोर्क स्टेट क्याथोलिक कन्फ्रेन्सले एक्समा लेखेको छ, ‘यो तस्बिरमा कुनै रमाइलो छैन श्रीमान् राष्ट्रपति।’
‘हामीले भर्खरै हाम्रा प्रिय पोपलाई गाड्यौँ र अब एउटा गम्भीर चुनावी प्रक्रिया सुरु हुन लागेको छ। कृपया हाम्रो मजाक नगर्नुहोस्।’
Shares

प्रतिक्रिया