ग्लोबल


चुनाव जितेपछि कार्नीले भने: क्यानडा अमेरिकाको राज्य बन्दैन

चुनाव जितेपछि कार्नीले भने: क्यानडा अमेरिकाको राज्य बन्दैन

मार्क कार्नी


नेपालखबर
बैशाख १७, २०८२ बुधबार ५:२३, काठमाडौँ

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देश अमेरिकाबाट सम्मानको योग्य रहेको र दुई मुलुकबीच कुनै व्यापार वा सुरक्षा सम्झौता भएमा त्यो सर्तमा मात्र हुने बताएका छन्।

चुनावमा पार्टीको जितपछि बीबीसीलाई दिएको अन्तर्वार्तामा कार्नीले क्यानडा कहिल्यै अमेरिकाको ५१औँ राज्य नबन्ने पनि बताए।

जनवरीमा बैंक अफ इङ्गल्यान्डका पूर्वगभर्नर कार्नीले क्यानडाको अन्तरिम प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि उनी र अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पबीच करका विषयमा विवाद भइरहेको छ।

कार्नीले क्यानडाको स्वतन्त्रता र सार्वभौमिकताबारे गम्भीर वार्ता नभएसम्म आफू अमेरिका नजाने बताए।

उनले भने, ‘युरोपेली संघ र बेलायतसँग राम्रो व्यापार सम्बन्ध स्थापित गर्न सक्षम भएँ र अमेरिकासँग पनि सम्झौता भयो भने क्यानडाले यसबाट ठूलो फाइदा लिन सक्छ।’

कार्नीले थप भने, ‘हामीजस्तै सोच्ने देशहरूसँग हामी राम्रो साझेदारी गर्न सक्छौँ। रक्षा साझेदारीबारे सोच्नुहोस्। यी विषयमा वार्ता भर्खरै सुरु भएको छ र यस दिशामा धेरै गर्न सकिन्छ।’

ट्रम्पले लगातार क्यानडालाई व्यापार युद्धको धम्की मात्र दिइरहेका छैनन्, क्यानडालाई अमेरिकाकै ५१औँ राज्य बन्न दबाब दिइरहेका छन्।

चुनाव भइरहँदा पनि सोमबार ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म सोसल ट्रुथमा लेखेका थिए, ‘एउटा यस्तो नेता छान्नुहोस् जसले तपाईंको कर आधा घटाउन सकोस्, तपाईंको सेनालाई संसारको सबैभन्दा शक्तिशाली बनाउन सकोस् र तपाईंका कार, स्टिल, आल्मुनियम, काठ, ऊर्जा र अन्य सबै व्यवसायलाई कुनै कर वा शुल्कबिना नै चार गुणा बढाउन सकोस्।’ 

उनले अगाडि लेखेका थिए, ‘यदि क्यानडा अमेरिकी राज्य बनेन भने अमेरिकाले हरेक वर्ष क्यानडालाई सयौँ अर्ब डलरको सहायता दिन क्रम जारी राख्ने छैन।’

गत जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिएपछि कार्नी दलको नेता चुनिँदै प्रधानमन्त्रीको शपथ लिएका थिए। 

तर ट्रुडोले राजीनामा दिएदेखि नै क्यानडाका धेरै नेताले चुनावको मा गरिरहेका थिए। सोहीबमोजिम क्यानडामा सोमबार चुनाव भएको हो। 

जसमा कार्नीकै दलको जित भएको हो। 

क्यानडामा मतदाताहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष मतदान गर्दैनन्। उनीहरूले संसद् सदस्यहरूलाई मतदान गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad