ग्लोबल


एनआरएनएको एकता महाधिवेशनमा आउन शेष घलेको आह्वान

एनआरएनएको एकता महाधिवेशनमा आउन शेष घलेको आह्वान

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार २०:५४, काठमाडौँ

गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक शेष घलेले एकता महाधिवेशनमा सबै पक्षलाई सामेल हुन आह्वान गरेका छन्।

संयोजक घलेले ‘एनआरएनएका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, र उच्चस्तरीय समितिका सबै १३ जना एक ठाउँमा बसेर छलफल गरी निकास’ निकाल्न आग्रह गरेका हुन्।

एनआरएनएमा भएको विवादपछि पूर्वअध्यक्ष घलेको नेतृत्वमा एकता महाधिवेशनका लागि उच्चस्तरीय समिति बनेको थियो। सो समितिले आगामी मे महिनामा महाधिवेशन गर्ने तयारी गरेको छ।

तर, घले नेतृत्वको समितिले आयोजना गरेको महाधिवेशन प्रक्रियामा हालका अध्यक्ष डा. बद्री केसीको समूहलगायत कतिपय पूर्वअध्यक्षहरूसमेत सहभागी छैनन्।

‘एकताको महाधिवेशनको लागि डेलिगेट्स बन्न संसारभरिका ३,२०० साथीहरुले आवेदन दिइ सक्नु भएको छ। छुट्टी मिलाएर, महँगो टिकट काटेर कतिपय साथीहरु नेपाल आइसक्नु भएको छ वा आउने क्रममा हुनुहुन्छ’ घलेले शुक्रबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘निर्वाचन कार्यतालिका पनि प्रकाशित भइसकेको छ। यस्तो अवस्थामा महाधिवेशन रोक्न खोज्नु वा कुनै पनि किसिमको भ्रम छर्न खोज्नु उपयुक्त होइन।’

उनले आफ्नो नेतृत्वको समिति नै वैधानिक भएको दाबी गर्दै फुटेर हैन जुटेर अगाडी बढ्न आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको परमादेश, एनआरएनएको विधानको मर्म र उच्चस्तरीय समितिद्वारा पारित कार्यविधिको आधारमा हामीले एकताको महाधिवेशन आयोजना गर्न गइरहेका छौँ। हाम्रा बैठकहरुमा नेपाल सरकारका प्रतिनिधिहरु पनि सहभागी भै रहनु भएको छ। त्यसैले वैधानिकताको बारेमा कुनै शंका छैन। गैर आवासीय नेपाली नागरिकता, लगानी प्रवर्द्धनजस्ता मुद्दाहरुमा नेपाल सरकारसंग दह्रो वार्ता गर्न पनि हामी फुटेर हैन जुटेर अगाडी बढ्नु पर्ने अवस्था छ।’

उनले आफू एक पक्षको मात्रै जितको कामना गर्ने व्यक्ति होइन भन्दै हिजो पनि संघको अध्यक्ष हुँदा सबैलाई समेटेर, सहकार्य गरेर हिँडेको स्मरण गरेका छन्। 

‘त्यसैले एकै थलोमा भेला भएर, खुल्ला छलफल गरेर अहिलेको समस्यालाई निकास दिन र संस्थालाई एकजुट र बलियो बनाउन आआफ्नो क्षेत्रबाट सक्दो पहल गर्न’ उनले आह्वान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad