पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले बिहीबार बिहानका लागि राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन्।
जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि बुधबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठक बसी पाकिस्तानविरुद्ध विभिन्न निर्णय गरेको छ।
जवाफमा पाकिस्तानका प्रधानमन्त्रीले पनि बैठक राख्न लागेका हुन्।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरेका छन्, ‘प्रधानमन्त्री शाहबाज शरिफले बुधबार साँझ भारत सरकारले जारी गरेको विज्ञप्तिको जवाफ दिन बिहीबार बिहानका लागि राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन्।’
— Ishaq Dar (@MIshaqDar50) April 23, 2025Prime Minister Mohammad Shehbaz Sharif @CMShehbaz has convened the meeting of the National Security Committee on Thursday morning 24th April 2025 to respond to the Indian Government’s statement of this evening.
मंगलबार जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसमेत २८ जना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यस आक्रमणलाई ध्यानमा राख्दै बुधबार साँझ बसेको भारतीय सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) बैठकले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन तथा अटारी सीमा बन्द गर्नेलगायत निर्णय गरेको छ।
बैठकले सार्क भिसा छुट कार्यक्रमअन्तर्गत अब पाकिस्तानी नागरिकलाई भारत प्रवेश गर्ने अनुमति रद्द गर्दै पाकिस्तानीहरूलाई २४ घण्टाभित्र भारत छाड्न निर्देशन दिइको छ।
यसैगरी दिल्लीस्थित पाकिस्तानी दूतावासमा रहेका सैन्य सहचारीहरूलाई पनि एक हप्ताभित्र भारत छाड्न भनिएको छ। साथै पाकिस्तानी दूतावासको जनशक्ति ६६ बाट ३० मा घटाउने निर्णय पनि भारतले गरेको छ।
मोदीको निवासमा भएको बैठकमा गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहितका अधिकारीहरू सहभागी थिए।
Shares

प्रतिक्रिया