ग्लोबल


अन्य मुलुकलाई चीनको चेतावनी : अमेरिकासँग सौदा गर्दा हाम्रो हित अतिक्रमण नहोस्

अन्य मुलुकलाई चीनको चेतावनी : अमेरिकासँग सौदा गर्दा हाम्रो हित अतिक्रमण नहोस्

नेपालखबर
बैशाख ८, २०८२ सोमबार २१:५१,

चीनले अन्य मुलुकहरूलाई अमेरिकासँग व्यापार सम्झौता गर्दा बेइजिङको हितप्रतिकूल कदम नचाल्न चेतावनी दिएको छ। त्यसो भएमा आफूले बदला लिने चीनको भनाइ छ।

डोनाल्ड ट्रम्पको प्रशासनले चीनलाई एक्ल्याउन अन्य मुलुकहरूसँगको व्यापारसम्बन्धी सौदाबाजीको उपयोग गर्ने योजना बनाएको विषयमा सोधिएको प्रश्नमा चिनियाँ वाणिज्य मन्त्रालयले यस्तो जनाएको हो।

‘जुनसुकै पक्षबीच चीनको हितविपरीत हुने सम्झौताको चीनले कडा विरोध गर्दछ,’ मन्त्रालयले सोमबार भनेको छ, ‘यदि त्यसो भयो भने चीनले त्यसलाई कहिल्यै स्वीकार्ने छैन र दृढतापूर्वक त्यसको प्रतिवाद गर्नेछ।’

‘अमेरिकासँग आर्थिक र व्यापारिक समस्या समाधान गर्ने सबै पक्षको अधिकारको सम्मान गर्छ चीन। तर, यदि ती देशहरूले चीनको हितमा अतिक्रमण गरे भने चीन आफ्नो अधिकार रक्षा गर्न दृढ र सक्षम छ,’ मन्त्रालयले भनेको छ, ‘अन्तर्राष्ट्रिय व्यापारमा एकपटक जंगलको नियम लागू भयो भने सबै मुलुक सिकार हुने छन्।’

अहिले अमेरिकाको व्यापार युद्धको निसाना चीन बनेको छ। अमेरिकाले चीनविरुद्ध १४५ प्रतिशत भन्सार लगाएको छ। उसले अन्य मुलुकमाथि लगाएको भन्सार भने अस्थायी रुपमा रोक्का गरेको छ।

ट्रम्पले चीनलाई वार्ताका लागि खुला हुन आह्वान गरिरहेका छन्। चीनले पनि वार्ताका लागि आफू खुला रहेको बताउँदै आएको छ। तर, व्यापारका विषयमा दुवै देशबीच कुनै कुरा भएको छैन।

गतसाता वाल स्ट्रिट जर्नलले अमेरिकाले ७० भन्दा बढी देशसँग चीनलाई एक्ल्याउन सहयोग माग्दै भन्सार करका विषयमा वार्ता सुरु गर्ने योजना बनाएको खबर प्रकाशित गरेको थियो।

चीनलाई धम्क्याएर आफ्नो सर्त मनाउने अमेरिकी रणनीति देखिएको कतिपय विश्लेषकहरूले बताएका छन्। तर, चीनले झुक्ने संकेत देखाएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad