ग्लोबल


शेख हसिनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा निवेदन

शेख हसिनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा निवेदन

फाइल तस्बिर: शेख हसिना


नेपालखबर
बैशाख ७, २०८२ आइतबार १९:५७, काठमाडौँ

बंगलादेश प्रहरीको राष्ट्रिय अपराध ब्युरो (एनसीबी) ले अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित १२ जनाविरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई पत्र पठाएको छ। 

बंगलादेशको पत्रिका द डेली स्टारका अनुसार  प्रहरी मुख्यालय  (पीएचक्यू) का सहायक महानिरीक्षक (मिडिया) इनामुल हक सागरले यसको पुष्टि गर्दै एनसीबीले अदालत, सरकारी वकिल वा अनुसन्धान एजेन्सीबाट प्राप्त पुनरावेदनका आधारमा इन्टरपोललाई यस्तो अनुरोध गर्ने बताए। 

सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनले उग्र रूप लिएपछि १६ वर्षदेखि सत्ता छाड्दै बंगलादेशबाट भागेकी ७७ वर्षीया हसिना गत वर्ष अगस्ट ५ देखि भारतको शरणमा छिन्। 

उनलाई कारबाही गर्न बंगलादेशको अन्तरिम सरकारले स्वदेश फर्काउन पहल गरिरहेको छ। 

रेड नोटिसले इन्टरपोललाई फरार व्यक्तिहरू पत्ता लगाउन र सुपुर्दगी वा अन्य कानुनी कारबाहीको लागि अस्थायी रूपमा पक्राउ गर्न मद्दत गर्छ। इन्टरपोलले विदेशमा रहेका फरार व्यक्तिहरू पत्ता लगाउन मद्दत गर्छ र उनीहरूको जानकारी सम्बन्धित अधिकारीहरूलाई दिन्छ। 

मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको केही हप्तापछि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले मानवताविरुद्धको अपराध र नरसंहारको आरोपमा हसिना र धेरै जना पूर्व क्याबिनेट मन्त्री, सल्लाहकार, सैन्य र नागरिक अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

गत वर्ष नोभेम्बरमा आईसीटी प्रमुख अभियोजकको कार्यालयले शेख हसिना र अन्य फरार व्यक्तिहरूलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिन प्रहरी मुख्यालयलाई आग्रह गरेको थियो।

हालै भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री हसिनासहित उनकी बहिनी शेख रेहाना र भतिजी तथा बेलायती सांसद ट्युलिप रिजवाना सिद्दीकीलगायत ५० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad